सडक अतिक्रमण गरी बनेका करिव सात सय घर भत्काउन निर्देशन, नभत्काए डोजर चलाइने
कृष्ण पोखरेल
पाल्पा

साँघुरो रहेको सिद्धार्थ राजमार्ग विस्तार गर्न थालिएको छ । बुटवलको चिडियाखोलदेखि पाल्पाको राम्दीसम्म सडक विस्तार गर्न लागिएको हो । अब यो चार लेनमा विस्तार हुनेछ । यो सडक दुई र एक लेनमा रहेको छ ।
सडक डिभिजनले सडक विस्तारअघि अतिक्रमण गरी बनेका घर टहरा भत्काउन सूचना जारी गरेको छ । सडक छेउमा बनेका अधिकांश घरहरू भत्किने छन् । राजमार्ग विस्तारका क्रममा पाल्पा खण्डमा निर्माण भएका करीव सात सय घर भत्किने भएका छन् ।
बुटवलको चिडियाखोलादेखि पाल्पाको सिमाना राम्दी क्षेत्रसम्म सडक सिमाना २५ मिटर भित्र दायाँ बायाँ बनेका पक्कि तथा कच्ची गरी सात सय घर भत्किने छन् । फालिने सात सय घरमध्ये करिव चार सय पक्की घर रहेका छन् भने तीन सय कच्ची घर हुन् । सडक निर्माणको समयमा विस. २०२५ सालमा सडक सीमा भित्र कुनै घरहरू रहेका थिएनन् । तर पञ्चायतकाल, प्रजातान्त्रिक व्यवस्थामा आम मानिसहरूले सडक मिचेर घर निर्माण गर्दा समेत सडक विभागले कुनै अवरोध नगर्दा यती धेरै संख्यामा घर निर्माण भएका हुन् ।
सिद्धार्थ राजमार्ग भारतीय सिमाना सुनौलीदेखि गण्डकी प्रदेशको राजधानी पोखरा जोडिएको छ । राजमार्गको सुनौलीदेखि बुटवलसम्मको २५ किलोमिटर क्षेत्रमा ६ लेनको सडक निर्माण भई सञ्चालनमा आएको छ भने पाल्पादेखि पोखरासम्मको १५६ किलोमिटर क्षेत्रमा कतै एक लेन त मुस्किले दुई लेनको सडक सञ्चालनमा रहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको अधिकांश सडक अतिक्रमण भएको छ । दिनहुँ सडक अतिक्रमण हँुदै जानु, २०२५ सालमा बनेको सडकले हालका सवारी साधनको चाप र भारक्षमतालाई समेत धान्न नसक्दा सिद्धार्थ राजमार्ग जिर्ण हँुदै गएको छ ।
१० टन क्षमताको लागि निर्माण गरेको सडकमा अहिले २० देखि ३० टनसम्मका सवारी साधन सञ्चालन हँुदै आएका छन् । तानसेन–बुटवल सडकखण्डमा दैनिक दुई हजारभन्दा बढी टिप्परहरूले करिव २० टनका हिसाबले चुनढुङ्गा ढुवानी गर्दै आएका छन् । जसका कारण सडक साँघुरो हुँदा एक घण्टामा यात्रा गर्न सकिने तानसेन–बुटवल सडक अहिले कम्तीमा पनि तीन घण्टा लाग्ने गरेको छ ।
डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँ बायाँको २५ मिटर क्षेत्र निर्माणका भौतिक संरचनाहरू तत्काल आफै हटाउन निर्देशन गरेको छ । डिभिजन सडक कार्यालय पाल्पाले बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँ बायाँ २५ मिटर भित्र पर्ने घरहरूको तथ्याङ्क संकलन गरी हटाउने घरहरूमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माईकिङ गरिएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले बताए । ढिलोमा चैत्र महिनादेखि सडक सीमा भित्रका संरचना हटाउन सुरक्षा निकायसंग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताए ।
‘हामीले सडक सीमा क्षेत्र उपभोग गर्दै आएका उपभोक्ताहरूको जानकारीको लागि सार्वजनिक सूचना निकालेर जानकारी गराएका छांै, सार्वजनिक सूचनालाई अटेर वा बेवास्ता गरी भौतिक संरचना नहटाएको स्थानमा डिभिजन सडक कार्यालयले जुनसुकै समयमा पनि डोजर सञ्चालन गरी सडक सीमा क्षेत्र भित्रका संरचना हटाउँछ ।’– कार्यालयका सूचना अधिकारी ईञ्जिनियर शिवु खत्रीले बताए । चालु आर्थिक वर्षभित्र सिद्धार्थ राजमार्गको पाल्पा क्षेत्रभरी सडक सिमा क्षेत्रभित्रका भौतिक संरचना हटाउने कार्यालयका सूचना अधिकारी खत्रीले बताए ।
सबै भौतिक संरचना सडक निर्माणपछि निर्माण भएकोले सडकको सीमा क्षेत्र पूर्णरूपमा कार्यान्वयन हुने सूचना अधिकारी खत्रीले बताए । सरकार तथा विभिन्न दातृ निकायबाट सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोलादेखि पोखरासम्म ४ लेन सडक निर्माणको लागि ईच्छा
देखाइरहकोले सडक सीमालाई चुस्तदुस्त बनाउन डिभिजन सडक कार्यालय पाल्पाले अतिक्रमित भू–भाग हटाउन सुरु गरेको हो । गतवर्ष कार्यालयले तानसेनका केही भागमा नगरपालिकासंग सहकार्य गरी सडक चौडा बनाउने काम गरिसकेको छ ।
सिद्धार्थ राजमार्गको राम्दी बजार, अगाँहाखोला बजार, आर्यभञ्ज्याङ बजार, चिरतुङधारा क्षेत्र, बरतुङ क्षेत्र, प्रभास, बाँसटारी, डुम्रे, चर्चरे, जोरधारा, केराबारी, झुम्सा, दोभान क्षेत्रमा सडक अतिक्रम गरी घर तथा भौतिक संरचना निर्माण भएका छन् ।