• मंगलबार, चैत्र ६ २०८०

खुल्ला लनटेनिसको उपाधि रितिक र प्रेरणाको पोल्टामा

471
Shares
  • 471
    Shares

दिपक न्यौपाने
बुटवल
बुटवलमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले कब्जा गरेका छन् । मंगलबार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यसैगरी महिला सिगलको उपाधि काठमाडौंकी प्रेरणा कोइरालाले जितिन । उनले फाइनलमा काठमाडांैकै अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन ।
यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा कमल भण्डारीले बुटवलका सञ्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलो पटक फाइनलमा पुगेका हुन् । यसैगरी ४५ प्लसमा चन्द्र शाही (यु एण्ड मी) ले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरी ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले । एक समारोहका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उप–महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरूङले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।
यसैबीच नेपालको टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लन टेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको थियो । सघंका सचिव गोपाल ज्ञवालीको सञ्चालन र अध्यक्ष सञ्जय श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
टेनिसमा युवापुस्तालाई उत्प्रेरित गर्दै लामिझाने र भट्टराई
बुटवलमा मंगलबार सम्पन्न चौथौ खुल्ला लनटेनिस प्रतियोगिताको ४५ वर्ष उमेर समूहको मेन्स डबल्समा उपाधि हात पार्दा पोखराका लनटेनिस खेलाडी धरमसिंह लामिझाने र गोपी भट्टराईमा जति खुसी झझल्किन्थ्यो त्योभन्दा धेरै खुसी उनीहरूमा लनटेनिसमा युवापुस्ताको आर्कषण र सहभागिताले देखाइरहेको थियो ।
विगत चार वर्षदेखि नै बुटवलमा लनटेनिस संघ र क्लबले आयोजना गरेको विभिन्न प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै उपाधि हात पार्न सफल भएको यो जोडी पोखरामा मात्र होइन बाहिरी जिल्लामा पनि उत्तिकै चर्चित र सफल छ । कारण उनीहरू नेपालका विभिन्न ठाउँमा हुने प्रतियोगिताहरूमा आफै भिड्छन् भने नयाँ पुस्तालाई लनटेनिसप्रती आकर्षित पनि गरिरहेका हुन्छन् ।
विगत १५ वर्षदेखि कास्की जिल्लाका टेनिसका संस्थापक अध्यक्ष विनोद कायस्थको प्रस्याङ टेनिस कोर्टबाट खेल्न सुरु गरेका गोपी भट्टराइ र गुरूङ भिलेज लेकसाइडबाट १२ वर्षदेखि निरन्तर खेल्न थालेका धरमसिंह लामिझाने जिल्लामा स्थानीयस्तरबाट कसरी खेलाडी उत्पादन गर्न सकिन्छ भनेर पनि लागिरहेका छन् ।
‘हामीभन्दा अग्रजहरू धेरै हुनुहुन्छ जसले टेनिसको विकासका लागि काम गरिरहनुभएको छ,’ डबल्सको उपाधि उचालेपछि गोपी भट्टराईले भने – ‘स्पोर्टस्मा लागेपछि सकारात्मक सोचको विकाससंगै खेलकुदप्रतीको भावना अझै उजागर भएको छ ।’
त्यसो त उनी लामो समय फूटबलबाट खारिएर टेनिसतर्फ लागेका हुन् । जिल्ला फूटबल संघ कास्कीका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल पोखरा पर्यटन परिषद्को अध्यक्ष समेत हुन् ।
विगत चार वर्षदेखि टेनिसमा पार्टनरको रूपमा खेलीरहेका पोखराकै धरमसिंह लामिझाने पनि फुटबल ब्याकराउन्डकै हुन् । हाल फूटबलमा गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका लामिझाने चार वर्ष बक्सिङको राष्ट्रिय खेलाडीको अनुभवसमेत बटुल्न भ्याए ।
११ वर्ष जापान बसेका ५३ वर्षीय धरमसिंह लामिझाने एउटा यस्ता खेलाडी हुन जसले पोखरामा सबैभन्दा धेरै कप उचाल्ने खेलाडीका रूपमा नाम लेखाउन सफल भएका छन् । सधै हसाउने र हासीरहने नरम स्वभावका उनी र भद्र स्वभाबका भट्टराईको जोडीले बुटवलमा दुई पटक विधागत उपाधिसंगै सिटिजन बैंकको ओपन टुनामेन्ट, पोखराको आइटिएफ टुनामेन्ट जस्ता थुप्रै प्रतियोगितामा आफूहरूलाई अब्बल साबित गर्दै सफल खेलाडी जोडीका रूपमा उभ्याएका छन् । मेरो परिवार पनि स्पोर्टस्मै रिलेटेट छ,’ उपाधि जितेको कप चुम्दै सदाबहार लामिझानेले भने – ‘अबको बाँकी जीवन पनि खेलकुदमै बिताउने योजना छ । आठांै राष्ट्रियमा दुई वटा ब्रन्च मेडल जितेसंगै अझै पनि टेनिसमा केही गर्न सक्छु भन्ने हिम्मत आएको छ ।’
त्यसो त लामिझानेले अस्टेलियामा नेपाली समाजले आयोजना गरेको प्रतियोगितामा समेत उपाधि जितेका छन् भने उनका जोडी भट्टराईले पुरै परिवारलाई नै टेनिसमा भिडाएका छन् । उनका छोरा छोरी दुबैले नै जुनियर लेभलमा राष्ट्रियस्तरका प्रतियोगितामा उपाधि जितीसकेका छन् । भट्टराई र लामिझानेले एकै स्वरमा भने – ‘रूपन्देहीमा जस्तै अन्य जिल्लामा पनि टेनिसको विकास हुने हो भने यसले लुकेर रहेका प्रतिभाहरूलाई अझै बाहिर ल्याउन सक्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार