भारतमा केही दिन यता कोरोना संक्रमण तीब्र रूपमा बढेका समाचार आइरहेका छन् । भारतका केही शहरमा विद्यालय तथा कलेज बन्द गरिएका र राति कफ्र्यू लगाएका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । अन्य ठाउँमा लकडाउनको बहसले महत्व पाइरहेको छ । विज्ञहरूले भारतमा पनि नयाँ प्रकारको तीब्र्र रूपमा फैलिने भाइरस विकास भएको हुन सक्ने आँकलन गरेका छन् । यदि भारतमा नयाँ प्रकारको भाइरस पाइएको खण्डमा नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुने प्रवल सम्भावना छ ।
किनकि नेपाल–भारत सीमाको खुला आवतजावत गर्नेहरूको स्वास्थ्य परीक्षण गर्न छोडिएको छ । जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा बेवास्ता भइरहेको छ । नेपालमै पनि कोरोना संक्रमितको संख्या कम हुँदै गएको देखिए पनि अधिकांश आफूलाई स्वस्थ ठानी कुनै उद्देश्यका लागि पीसीआर रिपोर्ट चाहिने हुँदा टेष्ट गरेकाहरूको संख्या हो । कन्ट्याक्ट टे«सिङ शून्य प्रायः छ । हाल नेपाल–भारत सीमामा क्वारेन्टिनहरू हटाइएका छन् । नेपालले तीब्र फैलिने नयाँ प्रकारको कोरोना भाइरसहरू रोक्न खास कुनै योजना वा सक्रियता देखाएको देखिंदैन ।
भारतमा जस्तो यदि कोरोना संक्रमितको संख्या फेरि उकालो लागे गतवर्ष सामना गरेको जस्तो चुनौती फेरि सामना गर्नुपर्ने छ । किनकि नेपालमा यसअघि निर्माण गरेका क्वारेन्टाइन करिब हटिसकेका छन् । भौतिक पूर्वाधार र जनशक्तिहरू थपिएका छैनन् । सरूवा रोग अस्पताल सबै प्रदेशमा स्थापना गर्ने भनिए पनि अझै पूर्णता पाएका छैनन् । यस्तो अवस्थामा नेपालमा दोस्रो लहर सुरु भयो भने पुनः पहिले जस्तै चुनौती सामना गर्नुपर्नेछ ।
हुन त भारतमा तीब्र संक्रमण फैलिए पनि नेपालमा नपैmलिन सक्दछ । तर भारतमा वा त्यहाँका कुनै प्रान्तमा लकडाउन गरियो भने रोजीरोटीका लागि भारत गएका नेपालीहरू घर फर्केने अवस्था आउन सक्दछ । उनीहरूबाट संक्रमण नफैलियोस् भन्ने कुरामा बेलैमा सावधानी अपनाउन सकिएन भने नेपालमा कोरोनाको अर्काे तरङ्ग नआउला भन्न सकिंदैन ।
त्यसैले नेपालले कोरोनाको पहिलो लहरमा जेजे समस्या भोग्यो र जुन तयारीले महामारी रोक्न समस्या भयो, त्यसबाट पाठ सिकेर सम्भावित आगामी चुनौतीको सामना गर्न भौतिक तथा मानसिक रूपमा तयार हुन जरूरी छ । अर्काेतर्फ कोरोना भाइरस केही होइन भन्ने अफवाह रोक्नु पर्दछ । आनीबानीमा व्यापक परिवर्तन आएको छ, त्यसमा पनि सबै नागरिक सच्चिनु पर्दछ । प्राकृतिक विपत्ति वा महामारी आउँदा आत्तिने तर समयक्रमअनुसार बिर्सदै जाने विगतबाट पाठ सिक्नै पर्दछ ।