बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तीब्रता दिएको छ ।
बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री बैंकिङ्ग सेवा बिस्तार गर्ने उद्देश्यले बैंकहरूले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडि बढाएका हुन् ।
यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले मंगलबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरूलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड वितरण गरेको छ ।
बैंकले मंगलबार ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्युआर कोड वितरण गरेको हो । क्युआर कोड वितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरूङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुक्तानी प्रणाली सेवा बिस्तार गरेको बताउँदै यो सेवा अन्य सेवाभन्दा सुरक्षीत रहेको बताए ।
एटिएम सेवा हुँदै विश्वमा मोबाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उनले ढिलो चाँडो सबै यो सेवामा जोडिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रबन्धक पवित्रा खनाल, हाटबजार व्यवसायी अर्जुन पाण्डे, रिक्सा व्यवसायी संघ शंकरनगरका अध्यक्ष रोमनाथ भण्डारीलगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वबारे आ–आफ्नो भनाइ राखेका थिए ।
केही दिनअघि रूपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणालीअन्तर्गत मंगलबार मात्रै ६० बढी व्यवसायीलाई क्युआर कोड वितरण गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिए ।
नगद नबोकेपछि चोरी हुने तथा हराउने समस्या हुन्न भने डिजिटल भुक्तानी गर्दा नगद भुक्तानीबाट हुने जोखिम पनि नरहेको सरोकारवालाको भनाइ छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गाँउ–गाउँसम्म पु¥याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताए । उनले यो प्रविधि सुरक्षित, सजिलो र सर्वसाधारणको पहुँचसम्म पु¥याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भूक्तानी गर्न सर्वसाधारणलाई अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्दै यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको सहकार्यमा भैरहवाका रिक्सा व्यवसायी र अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरूमा पनि क्युआर कोडबाट भुक्तानी प्रणालीको सुरु भएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रदान गरिएको क्युआर कोडको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले मंगलबारदेखि सुरु गरेका हुन् ।
यस्तै पाल्पा जिल्लामा पनि डिजिटल प्रविधिमार्फत बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई सुरुवात गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानूनीसेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेण्टलगायत विविध क्षेत्रका व्यवसायीहरू गरी एक सय १८ जनालाई क्युआर वितरण गरेका थिए ।
पाल्पामा नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले विज्ञान प्रविधिको विकास भएका संगै बैंकिङ्ग प्रविधिलाई सबैले अवलम्बन गर्दै जानु पर्ने बताए ।