बौद्ध विश्वविद्यालयलाई देवदहमा सय विगाहा जग्गा दिने सरकारको निर्णय
लुम्बिनी संवाददाता
बुटवल
रूपन्देहीको पूर्वाधार विकासमा नेतृत्व लिएका अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक र स्वास्थ्य पूर्वाधारमा ध्यान मोडेका छन् । सडक, खानेपानीलगायतका पूर्वाधारमा अर्बाैं बजेट ल्याउन सफल रूपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा काम थालेका छन् ।
संसद विकास कोषअन्तर्गतको रकम उनले सबै स्वास्थ्यमा खर्च गरे । गत वर्ष विद्यालय पूर्वाधार बनाउन रकम बिनियोजन गरेका पौडेलले यो वर्ष स्वास्थ्य पूर्वाधारमा रकम बिनियोजन गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल मेडिकल कलेजमा पौडेलको बढ्दा चासो छ । यी दुई संरचना गुरुयोजना मुताविक तयार हुँदा रूपन्देही स्वास्थ्य क्षेत्रमा अग्रणी हुनेछ । पौडेलले रूपन्देही विकासमा रोलमोडल र सिक्ने तथा सिकाउने जिल्ला बन्ने उद्घोष गरेका छन् ।
शिक्षा क्षेत्रको विकासका लागि पौडेलले बौद्ध विश्वविद्यालयमार्फत काम थालेका छन् । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि आवश्यक जग्गा प्राप्तीका लागि पौडेलको भूमिका निर्णायक रह्यो ।
मन्त्रिपरिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको करिव सय बिगाहा जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो ।
लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अभाव झेलिरहेको थियो । विश्वविद्यालयले पाँच वर्षको पहलपछि जग्गा प्राप्ती गरेको छ । वनको जग्गा प्राप्तीका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ । अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २० करोड रकम वन मन्त्रालयलाई दिने प्रतिबद्धतापछि मन्त्रिपरिषद्ले जग्गा दिने निर्णय गरेको हो ।
रूपन्देहीका जनप्रतिनिधि एवं अर्थमन्त्री पौडेलले विशेष पहलकदमी गर्दै वन मन्त्रालयलाई रकम नै सोधभर्ना गर्ने निर्णय लिएपछि विश्वविद्यालयले जग्गा प्राप्ती गरेको हो । पौडेलले निर्वाचनमा आफ्नो घोषणा पत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए । सोहीअनुरूप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ । रूपन्देहीको पूर्वाधार विकासमा ठूलो काम गरिरहेका अर्थमन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिँदै आएका छन् ।
बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा डीन कार्यालयसहितको आंगिक क्याम्पस सुरु गर्दैछ , जसका लागि समेत स्थानीयस्तरबाट जग्गा प्राप्ती भएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले लामो मेहनतपछि देवदहमा जग्गा प्राप्ती भएको बताए । ‘यही जग्गाका लागि म आफै पाँच वर्षदेखि हिंडिरहे, अर्थमन्त्री विष्णु पौडेलको विशेष पहलपछि क्याविनेटले जग्गा दिने निर्णय गरेको छ,’ उनले भने–‘यो विश्वविद्यालयको मात्रै नभई लुम्बिनी प्रदेशकै लागि ठूलो उपलब्धि हो ।’
विश्वविद्यालयले अहिले तीन वटा विषयमा देवदहमै पठनपाठन सुरु गरिसकेको छ । पूर्वाधार निर्माणको काम तत्काल नै सुरु हुने रजिष्ट्रार आचार्यले बताए । ‘देवदह, तिलौराकोट, बुटवल र लुम्बिनीमा विश्वविद्यालयका आंगिक संरचना हुनेछन्,’ उनी भन्छन्–‘अब पूर्वाधारको अभाव नहुने गरी निर्माणको काम थाल्छौं ।’
०६१ सालमा स्थापना भएको विश्वविद्यालय ०७१ मा मात्रै लुम्बिनीमा आएको हो । त्यसअघि विश्वविद्यालय सम्पर्क कार्यालयका रूपमा काठमाडौंमा मात्रै सीमित रहेको थियो । अहिले लुम्बिनीमा सुविधा सम्पन्न पूर्वाधार निर्माण भएका छन् । केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवास गृह, बौद्ध स्तुपासहितका संरचना लुम्बिनीमा तयार भएका छन् ।
विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ । अहिले विश्वविद्यालयमा करिव तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
देवदहमा प्राप्त भएको जग्गामा तपोवनसहितको पूर्वाधार निर्माण गर्ने योजना रहेको छ । त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ । क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार हुन् । रूपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले विश्वविद्यालयलाई जग्गा दिने निर्णयको स्वागत गरेका छन् । ‘यो निर्णयले समग्र देवदहकै विकासमा आमुल परिवर्तन गर्नेछ, बुद्धमावलीको अनुसन्धान हुनेछ,’ उनले भनेका छन्–‘जग्गा प्राप्तीका लागि सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय सबैलाई धन्यवाद छ ।’ देवदहमा विश्वविद्यालयले जग्गा पाएपछि स्थानीय उत्साहित छन् ।