टिका खरेल
सैनामैना
सैनामैनालाई पर्यटकीय एवं धार्मिक क्षेत्रका रूपमा विकास गर्नका लागि सैनामैना–३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपिठ मन्दिरको निर्माण गरिने भएको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी २३ करोड पचास लाखको लागतमा सो परियोजनाको डीपीआर प्रस्तुत गरेको छ । सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नव दुर्गा मन्दिरलाई बृहत् रूपमा धार्मिक पार्कको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
देशको दोस्रो पशुपतिनाथको नामले चिनिले सैनामैनालाई थप धार्मिक एवं पर्यटकीय गतव्यको स्थलको रूपमा विकास गर्नका यस शैलपुत्री शक्तिपिठले महत्वपूर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । उनले यस योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग समवन्य गरि अगाडि बढ्ने बताए । सैनामैना नगर क्षेत्र भित्रका सार्वजनिक क्षेत्रहरूको समुचित उपयोगबाट समृद्धिका बाटाहरू खोल्दै जाने उल्लेख गर्दै केन्द्रीय सरकारसँग सहकार्य गरी आउँदो बजेटमा यस योजनालाई पनि समेटिने नगरप्रमुख कार्कीले बताए ।यस शक्तिपिठलाई बोलबम धाम, लामिरह, लुम्बिनीलगायतका क्षेत्रहरूसँग जोडेर बृहत्रूपमा विकास गर्न सके यस क्षेत्रको कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । निर्माणाधिन शक्तिपिठको व्यवस्थित डीपीआर तयार गरिएको र धार्मिक पर्यटनको लागि आवश्यक सबै पूर्वाधारहरू समेटिएको सैनामैना नगरपालिकाका योजना प्रमुख ई. सुरज न्यौपानेले बताए ।
दुर्गा माताको ९ वटा रूपमध्येको पहिलो स्वरूप शैलपुत्री नाम रहेको र उनको नामबाट नेपालमा यस प्रकारका शक्तिपिठ नभएको हँुदा सैनामैनामा बन्ने यस शक्तिपिठ नेपालकै पहिलो हुने आचार्य पण्डित विष्णुप्रसाद ज्ञवालीको दाबी छ ।
यहाँ रहेको भौतिक संरचनाहरूलाई व्यवस्थित तवरले समेट्दै नमूना शक्तिपिठ बनाइने दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाँले बताए ।
सो योजना सम्पन्न गर्न साँढे २३ करोड लाग्ने आर्किटेक्ट कोमलबहादुर पुनले बताए । वास्तु सिद्धान्तलाई अंगिकार गरी डीपीआर निर्माण गरिएको पुनको भनाइ छ । बजेटको पूर्णप्रवन्ध भए करिब तीन वर्ष भित्र आयोजना सम्पन्न हुने बताइएको छ ।
जम्मा दुई बिगाह क्षेत्रफलमा यस शक्तिपिठ फैलने छ भने मुख्य मन्दिर ८ सय ६५ स्क्वायर मिटरमा रहने छ । डीपीआर तयार भएसंगै यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, मन्दिर व्यवस्थापन समिति र सरोकार सबैको उपस्थितिमा नगरपालिकाले अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।
को हुन् शैलपुत्री ?
शैलपुत्री नवदुर्गा मध्ये प्रथम देवी हुन् । देवी दुर्गाको ९ वटा रूप मध्येको पहिलो स्वरूप शैलपुत्रीको नामले चिनिन्छिन् । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम शैलपुत्री राखियो । नवरात्रि पूजनमा प्रथम दिन यिनकै पूजा र उपसना गरी नवरात्रिको शुभारम्भ गरिन्छ । यस प्रथम दिनको उपसनामा जोगी आफ्नो मनलाई मूलाधार चक्रमा स्थित गर्छन् । यहीँदेखि यीनको योग साधनाको सुरुवात हुन्छ ।