पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यद्यपि कोेरोना संक्रमणको जोखिम भने यथावत छ । बरु कोरोना संक्रमण नहोस् भनेर अपनाउनु पर्ने सावधानीमा भने हेलचेक्र्याई छ । नागरिकले स्वास्थ्य सावधानीलाई पूर्णतः बेवास्ता गर्न थालेका छन् । अहिले जुन प्रकारको लापरबाही देखिएको छ, त्यसले कोरोना संक्रमणको दोश्र्रो लहर ल्याउन सक्ने चिन्ता स्वास्थ्य विज्ञहरूले गरिरहेका छन् ।
हुन त कोरोना संक्रमणबाट मानवीय क्षति नहोस् भन्नका लागि नेपालमा पहिलो र दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मी र फ्रन्टलाइनमा खटिने सबैजसोले खोप लगाइसकेका छन् । यसले उनीहरूमा आत्मबल मात्र बढाएको छैन, काम गर्नमा हौसला समेत प्रदान गरेको छ । यस कार्यले आम नगारिकलाई समेत खुसी तुल्याएको छ ।
यतिबेला सरकारले जुन पहल कदमीका साथ खोप अभियान सुरु गरेको छ, यसको चौतर्फी प्रशंसा छ । सरकारले तेश्र्रो चरणमा ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारीबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि पनि खोप अभियान सुरु गर्न लागेको छ । कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका लागि भने घरमै पुगेर लगाइनेछ । ५५ वर्षभन्दा माथिका अनुमानित संख्या ५१ लाख ६४ हजार दुई सय ६९ का लागि यही फागुन २३ गतेदेखि प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप सुरु हुनेछ ।
खोप लगाउने जुन प्रकारको तयारी छ, यसले कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गर्ने निश्चित छ । अहिले पनि विश्वका सयभन्दा बढी मुलुकमा कोरोनाविरुद्धको खोप पुग्न सकेको छैन । तर नेपालले खोप लगाउने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । कोरोनाविरुद्धको खोप प्राप्तिका लागि नेपाल सरकारले जुन प्रकारको पहलकदमी लिन सफ भयो, त्यसको प्रशंसा गर्नै पर्दछ ।
बरु नेपालमा खोपका सन्दर्भमा केही अस्पष्टताम रहेको देखिन्छ । खोप लगाएपछि देखिने सामान्य असरबाट सर्वसाधारण उदाएको देखिन्छ । जाने बुझेका व्यक्ति नै खोप लगाउन डराइरहेका छन् । यसमा स्वास्थ्य विज्ञहरूले बेलैमा परामर्श दिन जरूरी छ । वैज्ञानिकहरूले लामो अनुसन्धानबाट खोप निर्माण गर्न सफल भएका हुन् । यसको उपयोग गर्नबाट डराउनु हुँदैन । खोप लगाएपछि कोरोना संक्रमण भइहाले पनि पराजित गर्न सकिन्छ भन्ने कुरा कसैले भुल्नु हुँदैन ।