बुटवल । बुटवल उप–महानगरपालिकाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिडविरुद्धको खोप सञ्चालन गर्दैछ । त्यसअघि उप–महानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण सुरु हुँदैछ ।
कोभिड–१९ को महामारी नियन्त्रणमा नमूना काम गरेको बुटवल उप–महानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको छ ।
जोखिमयुक्त खोपअघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिँदै उप–महानगरका प्रमुख शिवराज सुवेदीले सहज एवम् विश्वसनीय सेवा प्रदान गर्न आग्रह गरे ।
सुवेदीले जनस्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सोही अनुरूप प्रस्तुत हुन खोपअघि तथा पछिको अवस्थाको आँकलन गरेर तयारी पूरा गर्न निर्देशन दिए ।
उप–महानगरका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरूमा खोप कार्यक्रम सञ्चालन हुने छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पतालहरूसमेत गरी १० स्थानमा उप–महानगरको खोप केन्द्र रहने छ ।
वडा र टोलमा नागरिकको अवस्था र पायकलाई मिलाउँदै सबैको पहुँच सुनिश्चित गर्न निर्देशन दिइएको छ । खोप कार्यक्रमका लागि उप–महानगरका करिब ७० जना तालिमप्राप्त स्वास्थ्यकर्मीहरू खटिने छन् भने उनीहरूलाई सघाउन वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडा खोप समन्वय समिति समेत गठन गरिएको उप–महानगरका अनुमगन समितिका संयोजक समेत रहेका उप–प्रमुख गुमादेवी आचार्यले बताइन् ।
खोप कार्यक्रम र जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षणका लागि खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराउन उप–महानगरमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सामाजिक विकास समिति प्रमुख र विभिन्न वडाका अध्यक्षहरूले स्वास्थ्यकर्मीलाई मनोबल उचो बनाएर सेवामा खटिन आग्रह गरे ।
यस्तै उप–महानगरका जनस्वास्थ्य अधिकृत उमा थापा, मेडिकल अफिसर डाक्टर राजिव केसी, खोप कार्यक्रम प्रमुख कल्पना भट्टराई, जनस्वास्थ्य परीक्षक गीता पाण्डे तथा स्टोर प्रमुख खेमबहादुर पौडेललगायतले खोप लगाउने तरिका, असर र त्यसको निराकरण गर्ने उपायलगायतका बारेमा विषयगत जानकारी गराएका थिए ।
उप–महानगरले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने निर्णय गर्दै आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको हो । संघीय सरकारको स्वास्थ्य मन्त्रालयअनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ । बुटवल उप–महानगरमा यो उमेर समूहका करिब २० हजार नागरिक रहेको अनुमान छ ।
२१ गतेसम्म जोखिम समूहमा परीक्षण
कोभिडविरुद्धको खोप कार्यक्रमलाई समुदायमा लैजानुअघि बुटवल उप–महानगरमा आजदेखि जोखिमयुक्त समूहमा कोभिड एन्टिजन परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । खोपलाई प्रभावकारी बनाउन समुदायमा कोभिडको अवस्थाका बारेमा जानकारी लिनका लागि यो कार्यक्रम उपयोगी मानिन्छ । उप–महानगरका १९ वटै वडामा जोखिममा रहेका समूहको पहिचान गर्दै उनीहरूको अवस्थाका बारेमा अभिलेख र परीक्षण गरिने उप–महानगरका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत उमा थापाले जानकारी दिइन् ।