प्रेम सुनार
गुल्मी
गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर ५, इस्मारजस्थलका विष्णु विकका श्रीमान श्रीमतीको रात–दिनको झै झगडाले छिमेकीहरू वाक्क–दिक्क भइसकेका थिए । श्रीमान श्रीमतीबीचको कुटपिटबाट कहिले श्रीमती कहिले श्रीमान घाईते भएर इस्मा प्रहरी चौकीमा उजुरी गर्ने गर्दथे । प्रहरीमा मेलमिलाप हुने तर घर फर्केपछि केही दिनमै फेरि उस्तै ।
अन्ततः श्रीमती तुल्सी बिक एक छोरी लिएर सम्बन्ध विच्छेद गरी पाउँ भनी इस्मा गाउँपालिकाको न्यायिक समितिमा पुगिन् । ‘यहाँ हामीले सम्बन्ध विच्छेद गराउन मिल्दैन, बरू भन्नुस् सम्बन्ध विच्छेद गर्नुपर्ने कारण के हो ? छलफलपछि विवाद टुंगिन पनि सक्छ ।’– न्यायिक समितिकी संयोजक तथा इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले सोधपुछ गरिन् ।
सोधपुछका क्रममा दम्पत्तीबीच झै झगडाको मुख्य कारक श्रीमानद्वारा मदिरा सेवन भएको न्यायिक समितिले ठहर ग¥यो । न्यायिक समितिले तीन दिनसम्म ती दम्पत्तीलाई सम्झाई बुझाई ग¥यो र श्रीमानले मदिरा सेवन छाड्नु पर्ने सर्त अगाडि सा¥यो । त्यो सर्त श्रीमानले स्वीकार गरेपछि श्रीमतीले सम्बन्ध विच्छेद गर्ने उजुरी फिर्ता लिइन । त्यस गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्री भन्छिन्– ‘त्यस पछि केही महिना ती सर्तहरू श्रीमानले पालना गरे कि गरेनन् भनेर हामीले निगरानी बढाउँदै गयौं । त्यस घरमा झै–झगडा सुनिन छाड्यो । अहिले त ति जोडीहरूले छोरा समेत जन्माएर खुशी साथ बसेका छन्, यसबाट हामीलाई खुशी लागेको छ ।’
त्यसरी नै सम्बन्ध विच्छेदको संघारमा पुगेका इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर र वडा नम्बर ४ दोहलीका अरू दम्पत्तीहरूलाई पनि सम्बन्ध विच्छेद हुनबाट जोगाइएको न्यायिक समिति संयोजक विमला खत्री बताउँछिन ।इस्मा गाउँपालिकाले घरेलु मदिरा बेचबिखनलाई कडाई गरेपछि घरेलु झै–झगडामा निकै कमी आएको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टको ठम्याई छ । उनले पनि न्यायिक समितिले सम्बन्ध विच्छेद हुन लागेका केही दम्पत्तीहरूलाई मेलमिलाप गराएकोमा सन्तोष व्यक्त गरे ।
न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष खत्रीका अनुसार सम्बन्ध विच्छेद, मानाचामल (खाना खर्च) भरि पाउँ, छिमेकीबीच हुने झै–झगडा र साँध सिमना मिचिएका उजुरीहरू न्यायिक समितिमा आउने गरेका छन् ।
स्थानीय तहको निर्वाचनको केही महिनाअघि मात्र हालको मुसिकोट नगरपालिका वडा नम्बर ४, तत्कालिन बडागाउँ गाविसकी अस्मिता बिक (नाम परिवर्तन) ले श्रीमानविरुद्ध दिएको मानाचामल मुद्दामा १० वर्षपछि न्याय पाएकी थिइन ।
‘हो उनले १० औं वर्षसम्म मानाचामल मुद्दामा सास्ती भोगेकी थिइन , दलित अधिकारकर्मी तथा जिल्ला अदालत गुल्मीका मेलमिलापकर्ता गणेश विश्वकर्माले भने ‘उनीहरू बीच अन्तरजातीय विवाह भएको थियो । छोरीको उमेर नै १६÷१७ वर्ष भई सक्यो ।’ श्रीमानसहित उनको परिवार उनलाई थाहै नदिई तराई तिर गएर बसे पछि मुद्दा दशौं वर्ष लम्विएको थियो । मेरो श्रीमती होइन र ती छोरी मेरो सन्तान होइन भन्दै आएका उनका श्रीमानले अन्ततः १० वर्षपछि दुबै कुरा स्वीकार्दै २० लाख रुपैयाँ बराबरको मानो चामल भरेको मेलमिलापकर्ता विश्वकर्मा बताउँछन् ।
श्रीमतीहरूबाट मानाचामल भरी पाउँ वा सम्बन्ध विच्छेद गरी पाउँ भनि थुप्रै उजुरी पर्ने गरेको गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मीना भण्डारी बताउँछिन । त्यस्ता उजुरी यसै आर्थिक वर्षमा मात्रै पाँच वटा परेको र त्यसमध्ये दुई वटालाई मेलमिलाप गराइ पठाइएको उनले जानकारी दिइन ।
‘हामीले न्यायिक समितिमा सम्बन्ध विच्छेद गराउन मिल्दैन । जिल्लामा पठाउने हो,’ हामीले सकेसम्म मेलमिलाप गराउने प्रयास गर्छौं संयोजक भण्डारीले भनिन्– ‘सम्बन्ध विच्छेद हुनबाट जोगाइएका दुई दम्पत्तीबीचको अहिलेको सुमधुर सम्बन्ध देखेर सन्तोष लागेको छ ।’
उता मदानेगाउँपालिका उपाध्यक्ष सरिता खड्काले पनि मानाचामल भरिपाउँ, सम्बन्ध विच्छेद गरी पाउँ भनि आएका उजुरीहरू मध्ये ३ दम्पत्तीलाई मेलमिलाप गराइ पठाइएको र अहिले उनीहरूको सम्बन्ध राम्रो रहेको बताइन ।कालिगण्डकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तरा थापाले आफ्नो गाउँपालिकामा बढी मात्रामा बहुविवाहका उजुरी धेरै आउने गरेको तर सम्बन्ध विच्छेदको उजुरी नआएको बताइन ।
‘श्रीमान श्रीमतीबीच कुटपिट झै झगडा र धेरैजसो कुलो, साँध–सिमानाका उजुरीहरू आउछन् तीमध्ये धेरैजसो मेलमिलाप गराएर पठाएका छौं, यहाँ मिलाउन नसके मात्रै जिल्लामा पठाउँने गरका छौं ।’– संयोजक थापाले भनिन् । जिल्लाको विकट गाउँ भनेर चिनिने मालिका गाउँपालिकामा मदिरा सेवन गरी श्रीमती कुटपिट गरेका उजुरी धेरै आउने गरेको त्यस गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवा अर्यालले बताइन । उनले सम्बन्ध विच्छेद गरिपाउँ भनी अदालतमा परेको मुद्दासमेत फिर्ता गर्न लगाई तीन जोडी दम्पत्तीबीच मेलमिलाप गराइएको र उनीहरूको दाम्पत्य जीवन अहिले सुखद रहेको बताइन ।
धुर्कोट गाउँपालिकामा स्थानीय सरकारको गठन अघिसम्म दम्पत्ती र छिमेकीहरूबीच मदिरा सेवन गरी झै झगडा कुटपिटका घटना वर्षेनी दर्जनौ जिल्लामा जाने गरेको र अहिले त्यसमा निकै कमि आएको जिल्लाका एक मात्र पुरूष गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति उपाध्यक्ष शिवबहादुर खत्रीले बताए ।
‘ धुर्कोट गाउँपालिकाले पहिलो वर्षदेखि नै मदिरा नियन्त्रणको अभियान चालेदेखि नै घरेलु हिंसा र कुटपिटका घटना न्यूनीकरण भएका छन् न्यायिक समिति संयोजक खत्री भन्छन्–‘सम्बन्ध विच्छेदका लागि जिल्ला जान लागेका दुई जोडिहरूलाई मेलपिलाप गराई घर पठाएका थियौं , अहिले उनीहरूको सम्बन्ध राम्रो भएको पाइएको छ । ’
जिल्लाको रूरू क्षेत्र गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मी देवी पन्थ, सत्यवती गाउँपलिका उपाध्यक्ष सुर्वण शाही शेरचन, छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, चन्द्रकोट गाउँपालिकाकी राधिका अर्याल, मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा र रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले पनि त्यस्तै प्रकृतिका उजुरीहरू न्यायिक समितिमा आउने गरेको र भरसक मेलमिलाप नै गरेर पठाउने नसकिए जिल्लामा पठाउने गरेको बताए ।
क्षणिक रिस–आवेगमा सम्बन्ध विच्छेद गर्नेहरू बढिरहेको बेला गाउँ समाज वा स्थानीय न्यायिक समितिमा बेलैमा उचित परामर्श दिन सकिए सम्बन्ध विच्छेद गर्नेहरू निरूत्साहित हुने कानून व्यवसायीहरू बताउँछन् ।