नरेश के.सी.
भैरहवा
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सडकमा प्रहरी तैनाथि कम हुनेगरी समुदायले काम गर्नुपर्ने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले भने– ‘शान्तिका अग्रदूत बुद्ध जन्मस्थल क्षेत्रमा सडकमा प्रहरी धेरै देखिनु राम्रो होइन । यसैले बर्दिबिनाका नागरिकहरू नै सक्रिय हुनुपर्छ ।’
महानिरीक्षक क्षेत्रीले प्रहरीको उपस्थिति नेपथ्यमा होस र समुदाय अग्रभागमा होस् भन्ने नेपाल प्रहरीको नीति भएको समेत बताए ।
उनले समाजमा जब मान्छे आपत्तिमा पर्छ त्यतिबेला सबैभन्दा सहयोगी साथी नेपाल प्रहरी नै हुने गरेको उदाहरण पेश गर्दै भने–‘मान्छेलाई जब आपत्ति पर्छ , त्यतिबेला मान्छेले पहिलो पटक भगवान, दोस्रो बुबा आमा र तेस्रो प्रहरीलाई नै सम्झिन्छन् । त्यतिबेला सबैभन्दा सहयोगी प्रहरी नै हुन पुग्छ ।’
महानिरीक्षक क्षेत्रीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदैं पेशालाई प्यासन बनाएर काम गर्न आग्रह गरे ।
उनले भने–‘प्रहरी कर्मचारी बिनम्र हुनुपर्छ, बिन्रमता हुँदैमा कमजोर भइदैन ।’ क्षेत्रीले एउटा ट्राफिकले २६ किलोमिटर र १६ सय सवारी साधन हेर्नुपर्छ । प्रतिदिन ७ जनाको मृत्यु र ५८ जना घाईते भइरहेका छन् ।’
महानिरीक्षक क्षेत्रीले समुदायको लगानीमा निर्माण भएको भवनबाट आधुनिक र नयाँ ढंगले प्रहरी सेवा प्रवाह हुने पनि बताए । उनले सहयोग गरेकै नाममा कानून विपरितको काममा प्रहरीले छुट दिन भने नसक्ने बताए । उनले भने–‘यहाँहरूले गर्ने सहयोग यहाँहरूले गर्ने गलत कामको छुट्कारा पाउने भरपाई नबनोस् ।’
सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र धानुकले समुदायस्तरबाट भएको सहयोग उल्लेखनीय भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारले सक्दो साझेदारी गर्ने बताए ।
भवन निर्माण समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले ट्राफिक प्रहरीको भवन निर्माणका क्रममा उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्था तथा व्यक्तिले गरेको सहयोगले आफूलाई उत्साहित बनाएको बताए ।
भवनको उद्घाटन कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधि खरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारायणप्रसाद भन्डारी, विजय पान्डेलगायतले बोल्दै भौतिक पूर्वाधारमा समुदायको सहयोगले प्रहरी सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने दानवीरहरूलाई सम्मान समेत गरिएको थियो । सिद्धार्थ नगरपालिकाले उपलब्ध गराएको जग्गामा समुदायको डेढ करोड लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निर्माण भएको हो । उक्त भवन निर्माणको लागि तीन वर्ष अगाडि ट्राफिक प्रहरी प्रमुखको रूपमा रहेका प्रहरी निरीक्षक वेद पौडेल, पत्रकार माधव ढुंगाना, स्थानीय बासिन्दा सुुवर्णा कँुवर र वडाध्यक्ष शेषकान्त भन्डारीको विशेष सक्रियतामा नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको जग्गा प्राप्तीपछि स्थानीयहरूले उक्त ठाउँमा भवन निर्माण गरेका हुन् ।