नेपाल कृषि प्रधान मुलुक हो भनेर भन्न थालेको धेरै वर्ष भयो । पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने तराईमा ठूला राइस मिल थिए । सन् १९७० को दशकसम्म नेपाल धान, चामल निर्यात गर्नेमा विश्वमै गनिएको थियो । धान उत्पादनमा बाँके, बर्दिया, कञ्चनपुर, झापा, मोरङ अग्रणी मानिन्थे । तर अहिले धान चामल निर्यात त परै जाओस्, भारतबाट दैनिक चामल नभित्रिएको दिन हुँदैन ।
हाल तराईका धेरैजसो खाद्यान्न मिल बन्द भइसकेका छन् अलि–अलि भएका पनि ‘मृत’ अवस्थामा छन् । आयातित कृषि वस्तुमा परनिर्भरता बढ्दै गइरहेको छ । नेपालमा खाने मुख बढ्दै गए पनि सोही अनुपातमा उत्पादकत्व बढाउन नसक्दा भारतसहित विदेशी परनिर्भरता बढ्दै गएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र ३० अर्ब ७० करोड ७४ लाख ३५ हजार रुपैयाँको चामल आयात भएको छ । यो गतवर्षको तुलनामा ११ अर्ब ५२ करोड २४ लाख ९६ हजारले बढी हो । गत वर्ष सोही अवधिमा १९ अर्ब ५ करोड ४९ लाख ३९ हजार रुपैयाँको चामल आयात भएको थियो । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भरता भइरहेका छौं भनिरहँदा खाद्यान्नको आयात घट्नुको सट्टा बढिरहेको छ ।
पछिल्लो समय स्वदेशमा धान उत्पादन बढी हुने गरेको सत्य हो । तर पनि आयात किन बढिरहेको छ, मुख्य कुरा यो हो । यसका पछाडि तीनवटा मुख्य कारण छन् । पहिलो नेपालीहरूमा मसिना चामल खाने बानी बढेको छ । मिठो खाना खानेमा जोड गर्न थालिएको छ । दोस्रो यथार्थ तथ्यांक छैन । र, तेस्रो भारतीय व्यापारीले सीमा क्षेत्रका किसानबाट धान काट्नु अघि नै खेतबाट धान खरिद लिनु रहेको छ ।
नेपालीहरूमा खानामा भात मात्र खाने बानीका कारण पनि चामलको आयात धेरै भएको हो । खाने बानीमा परिवर्तन ल्याउँदा मात्रै पनि स्वदेशी उत्पादन भएको खाद्यान्नले नेपालीहरूलाई खान पुग्छ । सबैले स्वदेशमै उत्पादन भएको मोटा तथा मध्यम खालको चामल खाइदिने हो भने वर्षेनी अरबौं रकम बाहिरिने थिएन । अर्थात अरबौं रकम स्वदेशमै परिचालन हुन जान्थ्यो र जसका कारण नेपालीले थप रोजगारी प्राप्त गर्न सक्दथे । विलासीतामा रमाउने बानी त्याग्न सक्ने हो भने पनि अरबांै रकम देशमै रहने निश्चित छ ।