प्यूठानको नौ स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो । पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँ, बीचमा अग्ला–अग्ला चुचुरा र तल्लो भाग तिर समथर भू–भाग, साल, सिसौको घना जंगल समेत समेटिएको छ ।
अन्य स्थानीय तहभन्दा भौगोलिक हिसाबले अलि फरक पालिकाको रूपमा रहेको सरूमारानीले प्यूठान जिल्लालाई तराईसंग जोडेको छ । सरूमारानी गाउँपालिका वडा नं.३ हंसपुरमा जन्मे, हुर्केका पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले २०४५ सालका अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०५२ सालमा शिक्षण पेशामा लागेका भए पनि ११ वर्ष अर्थात २०६३ सालमा मात्र स्थायी शिक्षक भए । स्थायी रूपमा जागिरे भएको १० वर्ष पुगेको थियो । तर, स्थायी शिक्षण पेशालाई राजीनामा दिइ पालिकाको अध्यक्षमा निर्वाचित भएपश्चात सिंगो पालिकालाई समृद्धि बनाउनतर्फ लागेका छन् । ग्रामीण विकासमा स्नात्तकोत्तरसम्म (एमए) को अध्ययन सकाएर विकासको अवधारणासहित स्थानीय तहको नेतृत्वमा लागेका उनीसंग यो तीन वर्षको अवधिमा स्थानीय तहले गरेका काम, भावी योजना र स्थानीय सरकार आइसकेपछि भएको परिवर्तनबारे दैनिक लुम्बिनी जिल्ला संवाददाता राधिका भुसालले गरेको कुराकानीको सम्पादित अंश ।

१. स्थानीय सरकारमा नेतृत्व गरेको तीन वर्ष अवधि पूरा भएको छ । यो अवधिमा पालिकामा भएका महत्वपूर्ण कामहरू के–के हुन् ?
सरूमारानी गाउँपालिकामा पूर्वाधार–सडक, १ र २ वडामा केही वस्तीबाहेक सबै ठाउँमा सडक सञ्जालले छोएको छ । समुन्द्र सतहदेखि झण्डै १८ सय मिटर उचाइ सेम्लेबस्तीमा सडक विस्तार गरेका छौं । शिक्षा क्षेत्रमा अभिभावकहरूलाई चन्दा उठाएर शिक्षक राख्ने समस्यालाई करिब हल गरेका छौं । ५१ जना शिक्षक गा.पा. अनुदानमा नियुक्त गरेका छौं भने १० वटा नयाँ वाल विकास सञ्चालनका लागि अनुमति दिएका छौं । बालविकास केन्द्र र विद्यालयमा गरी ६१ जना शिक्षक गा.पा.बाट व्यवस्था गरेका छौं । विद्यालयलाई आइसिटी वितरण गर्ने, पुस्तकालय स्थापना गर्ने, कृषि तथा पशु पालनमा राम्रो सम्भावना भएको गा.पा. भएकोले खास गरी मौरी पालन, बाख्रा पालन गर्ने कृषकलाई अनुदान वितरण, किसानसंगै गाउँ सरकार कार्यक्रम सञ्चालन गरेका छौं ।
२. स्थानीय तहलाई गाउँका सिंहदरबार भनियो । के जनताले त्यस्तो अनुभूति गर्न पाएका छन् त ?
जनताले अनुभव गर्न पाएका छन् । छोटो समयमै सबै क्षेत्रमा यसरी भएको विकासलाई हेरेर गाउँमै सिंहदबार भनिएको होला । प्रदेश सरकारको जनता आवास निर्माण कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाएका छौं । पर्यटन क्षेत्रको विकास गर्नका लागि रानीकुवा, वडा नं. ६ को किमिचौर दह संरक्षण गर्न भौतिक संरचनाहरू निर्माण गरेका छौं । सरूमारानी लेकमा पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रतर्फ प्रसुतीको ठुलो समस्या देखिएको हाम्रो पालिकामा प्रसुती सेवासहितका तीन वटा स्वास्थ्यचौकी निर्माण गरेका छौं । माडी पारिको बस्तीमा साप्ताहिक क्लिनिक सञ्चालन गरेका छौं । यसरी हेर्दा गाउँपालिका समृद्ध तिर लागेको छ तर समस्याका चाङहरू पनि उतिकै छन् ।
३. स्थानीय तहहरू पूर्वाधार निर्माणमा मात्रै लागे भन्ने आरोप छ । आर्थिक विकास, सामाजिक विकासका काम किन कम भएको होला ?
यो भनाई पूर्वग्राही हो । स्थानीय तहले वार्षिक कार्यक्रम बनाउँछ । त्यो कार्यक्रम बनाउँदा गाउँ, टोल र बस्ती–बस्तीबाट योजना छनौट गर्छ । बस्तीस्तरमा जनप्रतिनिधिहरू आफै पुगेर जनताको आवाज सुनेर वडामा फर्केपछि प्राथमिकरण गर्ने र गाउँसभाबाट पारित भएपश्चात बजेट छुट्याउने हो । हिजोको दिनहरूमा सीमित बजेट आउने हुनाले पूर्वाधारको क्षेत्रमा विकास पटक्कै भएको थिएन । अहिले सबै क्षेत्रमा राम्रो बजेटमा काम भइहरेको छ यससंगै सामाजिक, सांस्कृतिक विकासलाई पनि जनचाहानाअनुसार गरेका छौं । हार्डवयरको विकासको काम मात्रै गरियो भन्ने आरोप छ । सफ्टवेयरको पाटोलाई सशक्तिकरण गर्न, जनतालाई अवारनेश गराउने, चेतनशील गराउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ । खास गरी महिला सशक्तिकरण कार्यक्रम, छोरी पेवा, बालबालिकाहरूका अधिकार सुरक्षित बनाउने, अन्य समुदायको विकास गर्ने, सामाजिक विभेदको पछौटेपनका कुरा अन्त्य गर्ने, अन्धविश्वास र रूढीवादीलगायत क्षेत्रमा हामीले वार्षिक कार्यक्रम बनाएरै अगाडि बढेका छौ । पूर्वाधारको विकास झट्ट देखिने र यी यस्ता क्षेत्रका भएको परिवर्तनलाई नांगो आँखाले देख्न नसकिने हुँदा हामीलाई यस्तो आरोप लगाइएको होला । हाम्रो हकमा यो आरोप सत्य होइन ।
४.स्थानीय तहलाई कार्यसम्पादनमा कत्तिको सहजता छ । प्रदेश र संघीय सरकारबाट समन्वय हुन्छ कि हुँदैन ?
स्थानीय तहलाई कार्यसम्पादन गर्न अत्यन्तै गाह्रो छ । कतिपय कानूनहरू साझा ऐजेण्डाका छैन । कानूनमै समस्या छ । हाम्रो समाज विविधताले भरिएको समाज हो । यहाँ सबैलाई चित्त बुझाएर काम गर्न निकै चुनौतीपूर्ण छ । यसमा कतिपयको चित्त नबुझ्नु स्वभाविक नै हो । हामीकहाँ विकृतिको छ । स्थानीय तहले गरेको काममा चित्त बुझेन भने अख्तियार गइहाल्ने, मुद्दा हालिहाल्ने, अख्तियारमा जवाफ दिन पटक–पटक जानु पर्ने यस्ता समस्या देखिन थालेका छन् । सबै विषयमा सन्तुलन मिलाएर जाने कुरा अत्यन्तै चुनौतीपूर्ण छ । त्यसकारण हरेक क्षेत्रमा अत्यन्तै बुद्धि पु¥याएर काम गर्नु पर्नेछ । स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय नभएको भन्ने त होइन । तर, जति मात्रामा हुनु पर्ने हो कही न कही ग्याप छ, दुरी छ, खाडल छ, त्यो दुरी मेट्नका लागि माथिल्लो निकायले समन्वय गरी मेट्नु पर्छ । ठुलाले सानालाई बोलाएर मात्र राम्रो तालमेल हुने हो, हामीले तलबाट जति नै समन्वय गर्न खोजे पनि त्यति फलदायी हुँदैन त्यसकारण प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारसंग राम्रो समन्वय गर्नुपर्ने हुन्छ । यो विषयमा प्रदेश र संघको कमजोरी छ भन्ने मलाई लाग्छ ।
५. निर्वाचनताका घोषणापत्रमा लेखिएका कुराहरू कहिलेसम्म पूरा होलान ?
हामीले घोषणा गरेका धेरै कुराहरू पूरा गर्दैछौ । यस वर्षको बजेट कार्यान्वयन भइरहेको छ भने आगामी वर्षको बजेट पनि कार्यान्वय हुन्छ । हामीले चुनाव ताका भएका थियौ कि, पालिका भित्रका सबै बस्तीहरूलाई सडक सञ्जालले जोडिने छ सोहीअनुसार अहिले तीन वटा बस्ती बाहेक सबै बस्तीमा सडक विस्तार भइसकेको छ । शिक्षा क्षेत्रमा देखिएको मुख्य समस्या अभिभावकबाट चन्दा उठाएर शिक्षक राख्ने परिपाटीलाई ९० प्रतिशत अन्त्य गरेका छौं । खानेपानीको अभावको समाधानमा अलि समस्या देखिएको छ । तैपनि कोशिस गरिरहेका छौं । ४१ सय घरधुरीमध्ये १२ सय घरधुरीमा घर–घरमा धारा पु¥याएका छौं । अब मेरो कार्यकालमा ५० प्रतिशत खानेपानीको समस्या अन्त्य हुन्छ । माडी राप्तीको पानीलाई लिफ्ट गर्दा दुई÷तीन ठाउँमा ट्यांकी बनाएर बस्तीसम्म तान्दा धेरै खर्चिलो हुने र समय पनि बढी लाग्ने भएकोले घोषणा पत्रअनुसार बस्ती बस्तीमा खानेपानी विस्तार गर्न अलि समस्या भएको हो ।
६. अब निर्वाचन पनि नजिकिंदै छ । कार्यकाल बढीमा डेढ वर्ष मात्रै छ । यो बीचमा कसरी कार्यसम्पादन हुन्छ ?
शिक्षक बन्दाबस्त गर्ने, विद्यालयको भौतिक पूर्वाधार बन्ने छन् । छुटेका बस्तीहरूमा सडक सञ्जालले जोड्दै सडकको स्तरउन्नती गर्ने । खानेपानी समस्यालाई जतिसक्दो अन्त्य गर्ने छौं । पर्यटकीय गन्तव्यहरू भौतिक संरचना निर्माण गर्ने । पानीका मुहानहरूमाथि रिर्चाज पोखरी बनाउनेलगायतका भौतिक संरचना निर्माणसंगै सामाजिक, सांस्कृतिक क्षेत्रलाई मध्ये नजर गरी कार्यसम्पादन गरिने छ । साथै जनता आवास कार्यक्रमबाट चार सय ५० घरहरू सम्पन्न भइसकेका छन् । कार्यकालको अन्त्यसम्म साढे ६ सय घरहरूमा जस्तापाता लगाउँदै छौं । हाम्रो पालिकामा जनता आवासको कार्यक्रम एकदमै प्रभावकारी बनेको छ । तपाईहरूले पनि मूल्यांकन गर्दा हुन्छ यो कार्यक्रम उत्कृष्ट नै भएको छ ।
७. स्थानीय तह र जनप्रतिनिधिहरू तथा जनताबीचको समन्वय कस्तो छ ?
ठिक छ । जनताबाट त्यति आलोचित छैनौ । पार्टीले व्यक्तिले बदनामी गर्ने परिपाटी पनि छ तर जनताको विश्वास छ । जनताको माया छ यसैमा खुशी छौं ।
अध्यक्ष
झगबहादुर विश्वकर्मा