अर्थतन्त्रको सूचकांक जीडीपीलाई १० प्रतिशतभन्दा माथि पु¥याउन र रोजगारी अभिवृद्धि गर्न भिजन पेपर ल्याइने गोल्छाको भनाइ ।
लुम्बिनी संवाददाता
बुटवल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघले विशेष योजना बनाइरहेको बताएका छन् । जसलाई ‘भिजन पेपर’ का रूपमा ल्याइने उनले बताए । अर्थतन्त्रको विकास र रोजगारी अभिवृद्धिमा महासंघले स्पष्ट खाका बनाउन लागेको उनले बताए ।
मुलुकको अर्थतन्त्रको सूचकांक जीडीपीलाई १० प्रतिशतभन्दा माथि पु¥याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरूलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उनले जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरूपताको लागि सिएनआईलगायतका अरू संस्थाहरूसंग समेत छलफल भइरहेको जानकारी गराए । आफ्नो नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरू लागिपरेको जानकारी गराए ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यवसायिक संस्थाहरू बीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै उनले महासंघले विज्ञसहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै विशेषगरी बैंकिङ, राजश्व, श्रमको समस्यामा परेका व्यवसायीहरूलाई राहतको काम गर्ने उल्लेख गरे । त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्स केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्वोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्दा सर्वोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गरे ।
उनले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्रलगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याए ।
त्यस्तैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भए पनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गरे । सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उनले उद्योग व्यवसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताए । उपाध्यक्ष गौतमले उद्योगी व्यवसायीका समस्या समाधानको लागि व्यवसायी र संघीय सरकारको बीचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यवसायिक संस्थाहरूले समेत पहलकदमी गर्न आग्रह गरे । उनले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ् गरेको र त्यसलाई संघीय सरकारमा पहल भइरहेको समेत जानकारी गराए ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने भनाई राखेका थिए ।
कार्यक्रममा बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेलगायतले यस क्षेत्रका उद्योगी व्यवसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक विकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रूपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।