प्रतिमा गौतम
बुटवल
‘लैङ्गिक हिंसामुक्त शहर ः बुटवल उपमहानगर’ भन्ने अभियानमा बुटवल उप–महानगरपालिका लागिपरेको छ । ‘लैङ्गिक हिंसा मुक्त बुटवल रणनीतिक कार्ययोजना २०७६’ सहित बुटवल उप–महानगरपालिका कार्यान्वयन चरणमा रहेको हो ।
बुटवल उप–महानगरपालिका उप–प्रमुख तथा लैङ्गिक हिंसामुक्त बुटवल नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले हिंसामुक्त समाजको कल्पना गर्नु चुनौतिपूर्ण रहे पनि बुटवल उप–महानगरपालिका लैङ्गिक विभेदबाट मुक्त समाज बनाउने दिशातर्फ अगाडि बढिसकेको बताएकी छिन् । उनी भन्छिन्‘जनताका सामु निर्वाचित भए लगतै शपथ ग्रहणकै दिन हामी बुटवल उप–महानगरपालिकालाई लैङ्गिक हिंसामुक्त शहर बनाउछौं भनेका थियाँै । त्यही कुरा पूरा गर्ने चरणमा अहिले छौं ।’ मानव प्रवृत्ति नै हिंसा शून्य समाज निर्माणको बाधक हो तर लैङ्गिक विभेदमा आधारित हिंसा भने शून्य प्रायः गर्न सकिने विश्वासका साथ आफू अगाडि बढेको उप–प्रमुख आचार्यको भनाइ रहेको छ । ‘लैङ्गिक हिंसामुक्त बुटवल रणनीतिक कार्य योजना २०७६’ कार्यान्वयन गर्न लैङ्गिक हिंसाविरुद्धको समन्वय समिति गठन गर्ने काम भैरहेको उपमहानगरपालिकाले जनाएको छ ।
हालै विभिन्न टोल विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, अगुवा महिला तथा महिला पत्रकारहरूलाई हिंसा कै विषयमा रहेर कानूनी सचेतनासम्बन्धी तालिम उप–महानगर पालिकाले प्रदान गरेको छ । उप–प्रमुख आचार्यले दिएको जानकारीअनुसार नगरभित्र ८५ जना मेलमिलापकर्ताले विवाद निरूपणको लागि काम गरेका छन् ।
आदिवासी जनजाति उत्थान समितिमार्फत दुव्र्यसनीविरुद्धका सचेतना कार्यक्रम, एक वाडका तीन जनाका दरले महिला उद्यमशिलतासम्बन्धी पाँच दिने तालिम नगरपालिकाले प्रदान गरेको छ ।
यसबाट महिलाहरूलाई उद्यमशिलतामा लाग्न थप प्रेरणा मिलेको छ । त्यस्तै मातृत्वसंग सम्बन्धित गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रमबाट त्यस अवस्थाका महिलालाई थप सहयोग मिलेको उप–प्रमुखले जानकारी दिइन ।
उनले भनिन्–‘नगरपालिकाको बेरोजगारको शून्य सहनशीलतामा नीति रहेको छ । विभिन्न किसिमका नेतृत्व विकास, क्षमता विकास, स्वास्थ्य प्रवद्र्धन, कानूनी सचेतनालगायत विभिन्न तालिम, युवा इलम कार्यक्रम, महिला उद्यमशिलता कार्यक्रम ल्याइएको छ ।’
हिंसा विभिन्न कारणले हुने भन्दै उपप्रमुख आचार्यले भनिनः ‘नगरबासी कसैले लैङ्गिक हिंसा भोग्न पर्ने छैन्, एक आपसमा सहकार्य, सद्भाव, स–सम्मान, आत्मसम्मानको बोध गर्नै र समान न्यायसहित पूर्ण सुरक्षित अनुभूती हुने वातावरण तयार गर्ने चरणमा छौं । यसको लागि सम्पूर्ण पक्षको सहयोग, सहकार्य र क्रियाशीलताको आवश्यकता रहेको छ ।’ उप–प्रमुख गुमादेवी आचार्यले नगरपालिका भौतिक विकासका साथै मानवीय विकासमा योजनाका साथ अगाडि बढेको बताइन् । कानूनी शासनलाई आत्मसाथ गर्ने नागरिकले हिंसाविरुद्ध ऐक्यबद्ध हुन जरूरी रहेको उनको भनाइ छ । विभिन्न मानसिक समस्यामा परेकालाई मनोसामाजिक विमर्शकर्ताको माध्यमबाट मनो विमर्श दिने काम भैरहेको पनि उप–प्रमुख आचार्यले जानकारी दिइन् ।