नुवाकोट जाने सिद्धार्थ केवलकारको शिलान्यास
लुम्बिनी संवाददाता
बुटवल
अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले विकास के हो पढ्न र सिक्न रूपन्देही आउनुपर्ने बताएका छन् । पछिल्लो एक दशकमा भएका विकासका कामले रूपन्देहीलाई मूलुककै ‘रोलमोडल’ जिल्ला बनाएको भन्दै उनले विकासको विषयमा अध्ययन गर्नका लागि यही आउनुपर्ने बताए । उनले विकासलाई अमुक विचारको पक्ष विपक्षमा नभई अपनत्व लिन आम नागरिकलाई आग्रह गरे ।
रूपन्देहीमा ठूला आयोजना निर्माण गर्नुपर्छभन्दा असफल हुन्छ भन्ने गरिएको विगत स्मरण गर्दै उनले अब यो विकासको नमूना बन्ने बताए । ‘०५२ सालमा गौतमबुद्ध विमानस्थल सम्भव छैन भन्ने एउटा प्रतिवेदन पढेको थिए, तर विकास गरेपछि मात्रै सम्भव हुने हो, ।’–उनले भने ।
बुटवलको देउराली डाँडादेखि पाल्पाको नुवाकोटसम्म पुग्ने सिद्धार्थ केवलकारको आइतबार शिलान्यास गर्दै मन्त्री पौडेलले यो पनि विकासको महत्वपूर्ण अंग भएको बताए । आवश्यक भौतिक पूर्वाधारमा सरकारले पर्याप्त लगानी गरेकै कारण रूपन्देहीमा निजी क्षेत्र आकर्षित भएको उनले बताए ।
रूपन्देहीमा निर्माण भएका र सञ्चालनमा रहेका दर्जन योजनाको नाम लिँदै पौडेलले भने–‘रूपन्देही विकास सिक्ने पाठशाला बन्दैछ । विकास सिक्न र पढ्न जानुपर्ने जिल्ला बनेको छ । भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन् ।’
अर्थमन्त्री पौडेलले विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे । केवलकारले रूपन्देहीको विकासमा बहुआयामिक महत्व राख्ने उनले बताए । ‘केवलकारका लागि सरकारले गर्नुपर्ने सहयोग जतिसुकै बेला पनि गर्न तयार छ,’ पौडेलले भने– ‘तर समयमै योजना सम्पन्न हुनुपर्छ । यसले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिनेछ ।’
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरु हुने बताए । पौडेलले मृत्यु मार्गको उपमा पाएको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा बन्ने भनिएको सुरूङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने बताए । सिद्धबाबाको सुरूङको टेण्डर केही समयमै प्रकाशित हुने भन्दै उनले यो सरकारको लगानीमा बन्ने पहिलो सुरूङ हुने बताए । यसका लागि आवश्यक बजेट अर्थमन्त्रालयले सुनिश्चित गरिसकेको छ ।
पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्ने दाबी गरे । उनले आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ सरकार अगाडि बढिरहेको जानकारी दिए । उनले सरकारले संविधान कार्यान्वयन गर्दै समृद्धिको दिशामा अगाडि बढेकाले बताए । ‘संविधान र गणतन्त्रलाई कार्यान्वयन गर्दै सरकार समृद्धिको दिशामा अगाडि बढेको छ । हाम्रो ध्यान यसैमा केन्द्रित छ ।’– उनले भने ।
पूर्वपश्चिम राजमार्गको स्तरोन्नती, कालीगण्डकी तिनाउ डाइभर्सन, कोरिडोर, मोतिपूर औद्योगिक क्षेत्र, झुम्साखोला खानेपानी, बुटवल र लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र ध्यान केन्द्र, बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, छ लेन सडकलगायतका योजनाको नाम लिँदै पौडेलले यसले विकास के हो भन्ने छर्लङ पार्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जितगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर यहाँ अगाडि बढे यहाँको पर्यटन विकासले ठूलो फड्को मार्ने बताए ।
उनले बुटवल आर्थिक र पर्यटकीय हबको रूपमा विकास हुने बताए । बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केवलकारको लागि मात्रै साढे चार अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरूसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता जनाए । आइतबार शिलान्यास भएको सिद्धार्थ केवलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी दुई किलोमिटर छ । केवलकार निर्माण र सञ्चालनपछि २५ केवलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिको अपेक्षा छ ।
केवलकार ‘मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला’ स्वरूपमा हिँड्नेछ ।
केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफल वनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको लुम्बिनी केवलकारले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।
शिलान्यास कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, बुटवल वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल, केवलकारका अध्यक्ष राजेन्द्रसिंह गुरूङ, लगानीकर्ता माधव नेपाल, डीआर घिमिरेलगायतले बोलेका थिए ।