नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० डोजमध्ये १० लाख डोज कोभिसिल्ड खोप आएको छ । भण्डारणलगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याइएको छ । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । र, उक्त खोप माघ १४ देखि लगाउन सुरु गरिएको थियो ।
छिमेकी भारतले अनुदान र खरिदमा दिएको खोपलाई क्षेत्रगत प्राथमिकताका आधारमा लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा फ्रन्टलाइनरहरूले लगाएका छन् भने त्यसयता जोखिमको अवस्था हेरेर चरणबद्ध रूपमा खोप अभियान जारी रहने छ । भारतमै करोडांै नागरिकले खोप प्राप्त गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारको पहलमा खोप प्राप्त हुन गएको छ । सरकारको यस प्रकारको पहललाई सबै क्षेत्रबाट प्रशंसा भएको छ ।
तर मूल कुरा खोप लगाउँदैमा सम्पूर्ण रूपमा कोरोना संक्रमण हुनबाट जोगिन्छ भन्ने कुरा सत्य होइन । किनकि अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोप शतप्रतिशत कोरोनाविरुद्धमा काम गर्छ भन्ने कुरामा अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले पनि भनेका छैनन् । यसको अर्थ धेरै प्रतिशत यस खोपले काम गर्दछ । तर खोप लगाउँदैमा कोरोना संक्रमणको जोखिबाट मुक्त भइन्छ भन्ने कुरा सत्य होइन ।
पछिल्लो समय नेपाली जनजीवनको मनोविज्ञान हेर्दा अधिकांशलाई कोरोना केही होइन भन्ने लाग्न थालेको छ । यही कारण न्यूनतम रूपमा भए पनि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा सावधानीमा पूर्णरूपमा बेवास्ता गरेको देखिन्छ । गाउँ तथा शहरमा मानिसको आवत जावत बाक्लो हुँदै गएको छ र सतर्कताको पाटो करिब–करिब बिर्सन थालिएको छ । स्वास्थ्यकर्मीले पटक–पटक कोरोना भाइरससंग खेलाची नगर्न आग्रह गरिरहेका छन् । तर पालना भइरहेको छैन ।
त्यसैले विगतमा जुन प्रकारको स्वास्थ्य सतर्कता अपनाइएको थियो, त्यसलाई अझै केही समय निरन्तरता दिनुमा नै बुद्धिमानी हुनेछ । करिब–करिब नियन्त्रणको अवस्थामा पुगेको कोरोना पुनः फैलिन नदिन सुरक्षा सावधानी नै प्रमुख विकल्प हो । यदि कोरोनालाई केही होइन भन्ने ठानियो भने फेरि अर्काे लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्दछ । अरूको भर पर्नुभन्दा कोरोना नियन्त्रण गर्ने दायित्व मेरै हो भन्ने भावना हरेक नागरिकमा पलाउन जरूरी छ ।