बुटवल । न कुनै प्रमुख अतिथी, न कुनै सभाअध्यक्ष, न त कार्यक्रमको लागि तामझामपूर्ण सभाहल । तर कार्यक्रम अवधिभर सहभागीहरु साहित्यिक चिन्तनमा रमिरहेका थिए । पाठक मञ्चले शनिबार बुटवल–७ स्थित सिद्धेश्वर मावि परिसरमा आयोजना गरेको युवा कवि गिरी श्रीस मगरको कविता संग्रह ‘एकलव्यको देब्रे हात’ विमोचन कार्यक्रममा सहभागीहरुले कवि श्रीसको सिर्जनशैलीको सराहना गरे ।
कृतिको विमोचन गर्दै बयोवृद्ध आख्यानकार जंगबहादुर शाहले आँट र इच्छाशक्ति भए जस्तोसुकै काममा पनि सफलता हासिल गर्न सकिने बताए । ‘जोशले ढुंगा हान्न सके आकाशमा पनि प्वाल पर्छ भन्छन्’ शाहले भने ‘कवि श्रीसले यस्तै गरेर देखाइदिए ।’
कार्यक्रममा कृतिबारे बोल्दै हुमाकान्त पाण्डेले कवि श्रीसको परिष्कृत साहित्यिक सिर्जनाबाट अरु साहित्यकारले पनि पाठ सिक्न सक्ने बताए । कविताको आफ्नै विशिष्ट शैली हुने भन्दै उनले कविता रचनालाई सामान्य नठान्न आग्रह गरे । साहित्यकार डा. मुरारी पराजुलीले एकलव्य दयाको पात्र होइन भन्ने कवि श्रीसको प्रस्तुतिले प्रष्ट पारेको बताए । विषयलाई बुझ्ने कौशल र आविष्कारलाई पक्डिने क्षमता भएका श्रीस फरक ढंगबाट अघि बढ्ने कवि हुन् भन्ने उनको रचनाले पनि थप पुष्टि भएको बताए ।
युवा साहित्यकार रामचन्द्र श्रेष्ठले कविको समयचेत र द्रष्टाभाव कृतिमा छचल्किएको बताए । शब्दसंग खेल्दै सिर्जनशक्तिसहित कवि कृतिमार्फत पाठकमाझ आएको उनले बताए । कृतिका प्रकाशक बुक हिलका प्रोप्राइटर भुपेन्द्र खड्काले सिर्जना सामान्य आँट होइन भन्ने प्रष्ट हुँदै गइरहेको अवस्थामा कृतिको भाव बुझेर नै बुक हिलले कवि श्रीसको कृति प्रकाशन गरेको बताए । दैनिक लुम्बिनीका पूर्व सम्पादक समेत रहेका कृतिका रचनाकार कवि श्रीसले आफूले किनारीकृत र त्रसीकृत पात्रहरुको बारेमा कविता लेख्ने प्रयास गरेको बताए । ‘दम्भीबाट सिकिस्त मूलुकको कल्याण होला जुटौं’ भन्ने साहित्यकार बुँद रानाको कविता पंक्ति उल्लेख गर्र्दै कवि श्रीसले कविता आफैमा नाराजस्तै भए पनि उच्च चेतनाबाट निःशृत हुनुपर्ने बताए ।
पाठक मञ्चकी सरिता श्रीसले सञ्चालन गरेको कार्यक्रममा दलबहादुर गुरुङ, कूल शर्मा, शारदा खनालले कविता वाचन गरेका थिए ।