आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संसारभरी शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ सन् २००० देखि निरन्तररुपमा मातृभाषा दिवस मनाउँदै आइएको छ । आजको दिन सन् १९५२ मा बंगलादेशमा बंगाली भाषा आन्दोलनमा भएको सदाहतको स्मरण र सम्मानसमेत गरिन्छ ।
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवम् भाषासम्बन्धी रितिरीवाजको पहिचान हो । युनेस्कोले ‘यो भाषाहरुको ब्रहमाण्डमा हरेक एक शब्द तारा बराबर हुन’ भन्ने नाराको साथ मातृभाषा दिवस मनाउन सुरु गरेको थियो । विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतासंगै बहुभाषाको प्रयोगलाई बढवा दिन यो दिवसले विशेष महत्व पाउने गरेको छ ।
कुनै पनि बालबालिकालाई उनीहरुले सुरुदेखि बोल्दै आएका मातृभाषाको माध्यमबाट सिकाइको वातावरण सिर्जना गरियो भने राम्रोसंग बुझ्न सक्दछन् भन्ने अवधारणको साथ अहिले विश्वव्यापी रुपमा नै मातृभाषा शिक्षाको प्रयोग हुन थालेको छ । छुट्टै मातृभाषा भएका बच्चाहरुलाई अर्कै भाषामा शिक्षा दिँदा उनीहरुलाई अर्को भाषा सिक्न समय लाग्ने हँुदा सिकाइ उपलब्धिपूर्ण नहुन पनि सक्छ ।
युनेस्कोले सन् १९९५३ मै बालबालिकालाई सिकाउने उत्तम उपाय उनीहरुको मातृभाषामा पढाउनु हो भनेको छ । अर्थात बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा पढाउँदा सजिलैसंग सिक्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । मातृभाषामा हिक्षा दिँदा बालबालिकाले राम्रोसंग सोंच्न सक्ने क्षमतामा वृद्धि गर्न सक्छ ।
विसं २०६८ को जनगणनाअनुसार नेपालमा एक सय २३ वटा भाषाहरु बोलिन्छ । नेपालको संविधानमै ‘नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा हो’ भनिएको छ । नेपालमा बस्ने प्रत्येक समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने, त्यसको लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक संविधानले नै सुनिश्चित गरेको छ ।
नेपाली भाषापछि नेपालमा सबैभन्दा बढी बोलिने भाषा मैथलि हो भने सबैभन्दा कम बोलिने भाषा संस्कृत हो । नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंग विकास भएको प्रमुख भाषा हो । जेहोस् लोपोन्मुख अवस्थामा रहेका भाषाहरुको अभिलेखीकरण गरिनु पर्दछ । मातृभाषाको संरक्षणका लागि अहिलेसम्म जे जति प्रयास भएका छन् ती पर्याप्त हुन सकिरहेका छैनन् । कुनै पनि मातृभाषा लोप भएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै नकारात्मक असर पर्ने भएकाले ती सबै भाषा जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।