फेरिनेछ बुटवलको मुहार र पर्यटन
लुम्बिनी संवाददाता
बुटवल
बुटवलको उत्तरपूर्व र पश्चिमतर्फका दुई डाँडामा अबको केही समयमा केवलकार देखिनेछन् । बसन्तपुरमा केवलकार लैजाने योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते शिलान्यास गरे ।
बुटवलबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकार आज शिलान्यास हँुदैछ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं रूपन्देही जिल्लाका जनप्रतिनिधि विष्णुप्रसाद पौडेलले आज शिलान्यास गर्ने केवलकारको सम्पूर्ण तयारी पूरा भएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष ई. राजेन्द्रसिंह गुरूङले जानकारी दिए ।
बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको छ । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।
‘यो केवलकार ‘डिटेचेवल सर्कुलर गण्डोल’ अन्तर्गत हो,’ अध्यक्ष गुरूङले भने–‘यसमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सकिन्छ । एकतर्फी रूपमा जान वा आउन ८ मिनेटको समय लाग्ने गुरूङले बताए ।
यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एण्ड रोप वे सर्भिसेजसंग सम्झौता भइसकेको छ । यसको मुख्य विशेषता भनेको नेपालमा केवलकारको निर्माणमा जनशक्तिको अभाव भइरहेको अवस्थामा यो परियोजनामार्फत् बुटवल टेक्निकल इन्स्टिच्यूटले प्रविधि भित्राउँदै छ । ‘हामीले प्रविधि भित्राउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छौं’, इन्स्टिच्यूटका कार्यकारी निर्देशक पीएल श्रेष्ठले भने ।
विसं २०५५ मंसिर ८ गतेदेखि पहिलो केवलकारको रूपमा मनकामना केवलकार सञ्चालनमा आएपछि पर्यटन व्यवसायमा यसको प्रभावकारिता बढ्दै गएको छ ।
पाल्पाको नुवाकोट र बुटवलको वडा नं. १ र १३ को शिवालिक चुरे श्रृंखलाको पानी ढलको भू–भाग हो । यो ऐतिहासिक र पुरातावित्क स्थल हो । नुवाकोटको पूर्वी भाग दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकसको उद्गमस्थल हो ।
नुवाकोट गढी सामरिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । चौबिसे राज्यहरूमा सेनवंशद्वारा शासित पाल्पा राज्य अरूभन्दा बलियो हुनु यस्तै गढी हुनु हो । कर्णेल उजिरसिंह थापाले यही नुवाकोटगढीका मोर्चाबन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए ।