बुटवल । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले रुपन्देही क्षेत्रका कोरोनाका बिमितलाई चेक हस्तान्तरण गरेको छ । बुटवलमा शनिबार आयोजित एक कार्यक्रमकाबीच बिभिन्न व्यक्तिहरुलाई चेक रकम हस्तान्तरण गरेको हो ।
बिमा कम्पनीले कोरोना महामारीमा कैयौ नागरिकको कोरोना विमा गरेको छ । बिमा गरेका कोरोना पोजेटिभ भएका र प्रक्रिया पुरा भएका व्यक्तिहरुलाई चेक रकम हस्तान्तरण गरिएको हो । कम्पनीको अध्यक्ष उमेशचन्द्र उपाध्याय र प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बिमितहरुलाई चेक हस्तान्तरण गरे ।
त्यस्तै बिमा कम्पनीले निर्जिवन बिमा अभिकर्ता तालिम समेत सञ्चालन गरेको छ । बुटवलमा भएको दुई दिने अभिकर्ता तालिममा ७८ जना सहभागी भएका थिए । सो कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष उपाध्यायले सामाजिक सुरक्षाको महत्वपूर्ण अंग बिमा भएको बताउदै अभिकर्ताहरुलाई सोही अनुरुप सेवामा लाग्न आग्रह गरे । बिमा कम्पनीले व्यवसायका साथसाथै जनताप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको उनले बताए ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत अर्यालले बिमा कम्पनीले निर्जिवन बिमामार्फत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण काम गरिरहेको बताए । धेरैभन्दा धेरै सेवाग्राहीलाई बिमातर्फ आवद्ध गराउने काममा सक्रिय हुन उनले अभिकर्तालाई आग्रह समेत गरे ।
अभिकर्ता तालिममा सिर्जना पन्त, माधव प्रसाद उपाध्याय, रञ्जना थकुला लगायतले सहजीकरण गरेको बिमा कम्पनी भैरहवा कार्यालयका विष्णुप्रसाद खनालले जानकारी दिए । बिमा कम्पनी भैरहवा कार्यालयको व्यवस्थापनमा दुबै कार्यक्रम सम्पन्न भएका हुन् ।