• मंगलबार, चैत्र ६ २०८०

राष्ट्रिय मुक्ति संघर्ष आजको आवश्यकता

270
Shares
  • 270
    Shares

विनबहादुर कुंवर
अहिले देशको राष्ट्रियता र जनतन्त्र अनि जनजीविकाको सवाल प्रमुख भएर आएको छ । तर देशका प्रमुख संसदीय दलहरू आपसमा लड्दै र भिड्दै बसिरहेका छन् । एक अर्कालाई कसरी खत्तम पार्न सकिन्छ र आफ्नो एकलौटी शासक सत्ता टिकाउन सकिन्छ भनी दौडधुप गरिरहेका छन् । पद, प्रतिष्ठा र कुर्सी नै उनीहरूका लागि सब थोक भइसकेको छ । विदेशीहरूको दलाली चाकडी र आशीर्वाद उनीहरूको दैनिकी बनेको छ । देशको राष्ट्रियता जनतन्त्र र जनजीविकाका प्रति उनीहरूको कुनै ध्यान र मतलब नै छैन । यस्तो स्थितिमा देशको राष्ट्रियता जनतन्त्र र जनजीविकाको प्रश्न झन् पेचिलो बन्नु स्वाभाविक नै छ । अझ यसमध्ये पनि बढी पेचिलो राष्ट्रियता र स्वभिमान बनेको छ ।
नेपाल एउटा सानो अनि गरिब र भूपरिवेष्ठिक मुलुक हो । यसको तीनतिर भारत छ भने एकातिर चीन रहेको छ । यी दुबै विश्व शक्ति राष्ट्रको रूपमा अघि बढिरहेका छन् । भारतीय विस्तारवादले त नेपालको राष्ट्रियता अनि स्वतन्त्र अस्तित्वमाथि धेरै पहिलेदेखि नै अतिक्रमण गर्दै आइरहेको छ। सुस्ता महेशपुर अनि मानेभञ्ज्याङदेखि अहिले नेपालको पश्चिम सीमामा अवस्थित लिम्पियाधुरा लिपुलेक र कालापानी समेतलाई आफ्नै सीमा भित्र राखी त्यहाँ भारतीय फौजी अखाडा बनाइसकेको छ । चारैतिर नेपालीसीमा भत्काउँदै एकपछि अर्को नेपाली भू–भाग अतिक्रमण गरिरहेको छ । पटक–पटक नाकाबन्दी नै गराई नेपाल र नेपालीलाई दुःख सास्ती दिने काम भारतबाट भइरहेको छ । त्यतिले मात्र नपुगेर अहिले त भारतीय सत्ताधारी दल भाजपाले नेपालमा समेत आफ्नो पार्टी स्थापना गर्ने घोषणा गरेको छ । हालै मात्र उक्त पार्टीका एकजना मन्त्रीले अब आफ्नो दल भारतमा मात्र सीमित नभई नेपाल भुटान र श्रीलंकामा समेत विस्तार गर्ने बताएका छन् ।
एकातिर भारतीय विस्तारवादको नेपाल प्रतिको रवैया यस्तो छ भने अर्कोतिर भारतले अमेरिकी साम्राज्यवादसँग मिली एमसीसी जस्तो राष्ट्रघाती परियोजना अघि बढाउन खोजिरहेको छ । त्यस्तै चीनले पनि अर्को परियोजना ओन बेल्ट ओन रोड लागू गर्न खोजिरहेको छ । यसप्रति नेपालले समर्थन पनि गरी सकेको छ । यसरी आज नेपालमा यी तीन ठूला साम्राज्यवादी विस्तारवादी र प्रभुत्वादी शक्तिराष्ट्रहरूको अड्डा बन्ने सम्भावना बढेर गएको छ । कतै यी तीन ठूला साँढेहरूको जुधाई बाच्छाको मिचाई भनेजस्तै नेपालको अस्तित्व नै मेटिने त हैन ? खतरा उत्पन्न भएको छ ।
नेपालमा भारतले वर्षौंदेखि लाखौं भारतीयहरूलाई नेपाली नागरिकता दिलाउन दबाब दिइरहेको छ । एक मधेस एक प्रदेशको नारा अघि सार्न लगाएर श्रीलंकाका लिट्टेहरूलाई जस्तै केही भारतीय मधेशीहरूलाई उचाली त्यसलाई आफ्नो बनाउने षड्यन्त्र गरेको छ । अझ अब त नेपालमा नै आफ्नो त्यस्तो पार्टी नै गठन गरी ती भारतीयहरू र उस्का नेपाली दलालहरूलाई त्यसमा आबद्ध गराई नेपालको राष्ट्रियता र स्वभिमान अनि स्वतन्त्र अस्तित्वमा खुल्ला रूपले अतिक्रमण गर्ने षड्यन्त्र गरिरहेको छ । यो भारतीय विस्तारवादको नेपाललाई फिजीकरण गराउँदै सिक्किमीकरणमा बदल्ने उसको यो बृहत दीर्घकालीन योजना अन्तर्गतको डिजाइन हो । भारतीय मन्त्रीको यो भनाई अहिले यस्तो अवस्थामा आइरहेको छ, जुनबेला नेपालको करिब दुई तिहाइ बहुमत प्राप्त ओली सरकारले प्रतिनिधिसभाको विघटन गराएको स्थिति छ । अब त्यो प्रतिनिधिसभाको निर्वाचन पून हुन्छ कि हुँदैन कुनै ठेगान छैन । सत्ताधारी दल ओली गुट र प्रचण्ड–माधव समूहमा विभाजित छ । एकले अर्कालाई खिइलाउन मै तल्लीन छन् । अर्को प्रतिपक्ष दल नेका भित्र पनि त्यस्तै छ । देउवा गुट ओली गुटले चुनाव गराए र पुन सत्तामा गई त्यसैमा रमाउन चाहेको छ भने रामचन्द्र र सिटौलाहरू प्रतिनिधिसभाको पुनःस्थापनामा छन् । अरू मधेशी दलहरूका त कुरै छोडौं कुनै कारण भजपा नेपालमा बनाए त्यसको सदस्य बन्नेमा होडबाजी गर्नेछन् । त्यस्तै पुराना पञ्चे मण्डले र राजावादीहरूले पनि हिन्दूराष्ट्रको माग गर्दै राज तन्त्रको पुनस्र्थापना गराउन भन्दै नाराजुलुस लगाउँदै हिँडिरहेका छन् । यसका पछाडि पनि कुनै न कुनै रूपमा भारतको हात छ । भाजपाको जन्म नै त्यस्तै हिन्दु अतिवादीबाट भएको थियो । उसको चाहना पनि अहिले नेपाललाई हिन्दुराष्ट्र बनाउँदै पछि भारतको हिन्दू राज्य घोषणा गराउने षड्यन्त्रमा छ ।
त्यस्तै अहिले नेपालमा अरू जो भइरहेको छ । त्यसका पछाडि कुनै न कुनै रूपमा भारतीय विस्तारवादको हात छ । जुन दिन प्रधानमन्त्री ओलीले भारतीय रअका प्रमुख सित घण्टौं गोप्य भेटवार्ता गरे त्यसपछि क्रमश यस्ता घटनाक्रमहरू बढ्दै जान थालेका छन् छन् । अन्तत यो सबै भारतीय सेटिङमा नै भैरहेको त छैन ?
अन्त्यमा देशको राष्ट्रियता जनतन्त्र जनजीविकाका अहिले अत्यन्त नाजुक बन्दै गइरहेको छ । त्यसमध्ये पनि अझ नाजुक देशको राष्ट्रियताको सवाल बनेको छ । राष्ट्र रहे मात्र हामी जनता रहने हो । नत्र भने नेपाल र नेपालीहरूको अस्तित्व नै के रहन छ ? राष्ट्र रहेमात्र जनतन्त्र र जनजीविकाका लड्ने हो । त्यसकालागि पनि राष्ट्रको राष्ट्रियता र स्वाभिमान नै पहिलो कुरा हो । यसका लागि राष्ट्रिय मुक्ति संघर्षको साथसाथै जनतन्त्र र जनजीविकाका लागि पनि संयुक्त आन्दोलित हुनु आजको आवश्यकता हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार