• मंगलबार, चैत्र ६ २०८०

के आमहड्ताल नै समस्याको समाधान हो ?

666
Shares
  • 666
    Shares

प्रिय पाठकवर्ग, केही महिनादेखि सत्तापक्षकै दुई घटक र अन्य विपक्षी पार्टीहरूद्वारा हाल भइरहेको आन्दोलनका विषयमा विचार केन्द्रित हुनेछ ।
आदरणीय स्वाभिमानी देशबासीहरू, चिन्तन गर्नुहोस् । आशा गर्नुहोस् । भोलिको भविष्य अवश्य पनि उज्यालो र सन्तोषजनक हुने नै छ । यही दीर्घ आशामा नै वर्तमान चलिरहेको छ । समग्र संसार नै भोलिको आशामा बाँचेको छ । प्रायः हामी पछिल्ला पुस्ताहरूमा राज्यव्यवस्था र राजनेताहरूका विषयमा त्यति जानकारी नभए पनि तत्कालीन इतिहास, देशभक्त पुर्खाहरू, हालसम्म जीवित हुनुभएका दुरदर्शी अग्रजहरूको दीर्घ अनुभवमा तत्कालीन राज्य एवं शासकीय व्यवस्थामा हिजोआज भइरहेको जस्तो भाँडतन्त्र, स्वेच्छाचारीतन्त्र, गाइजात्रेतन्त्र कहिल्यै भएको थिएन भन्ने कुरा बुझिन्छ । तर, दुर्भाग्यले आज हाम्रो देशमा विवेक शून्य नेताहरूका आआफ्नै स्वार्थका कारण, स्वार्थ पनि जनता र राष्ट्रिय स्वार्थ नभएर नेताहरूका आ–आफ्नै कुर्सी, सत्ता, प्रतिष्ठा र अधिकारका लागि दिनहुँ एक आपसमा लडिरहेका छन् । हो, निश्चय पनि देशमा विगत ७ सालदेखि आजसम्म राज्य एवं व्यवस्थाको सुधारका निमित्त पटकपटक धेरै प्रकृतिका आन्दोलनहरू भए । व्यवस्थामा केही रूपान्तरण हुँदै लोकतन्त्र, गणतन्त्र, संसदीय र संघीय व्यवस्थाहरू पनि सृजित भए । ती आन्दोलनहरूमध्ये कतिपय आन्दोलनहरू देश, जनता र राष्ट्रिय स्वार्थका निमित्त थिए । त्यही साझा स्वार्थका कारण हरेक विचारधाराका पार्टीहरू, नेताहरू, राजनीतिज्ञहरू, बौद्धिकवर्ग, नागरिक समाजलगायत अनेकौं देशभक्त युवा, महिला तथा वर्ग समुदायहरूले समेत एक भएर स्वतः स्फूर्त रूपले आफ्नो सर्वस्व अमूल्यजीवन समेत बलिदानी दिएर अमर सहिद पनि भएकै थिए । र, दुःखको कुरा ती अपूर्व त्यागी अमर सहिदहरूको अपेक्षा र सपना आजसम्म पूरा हुन सकिरहेको छैन । आजसम्म पनि पीडित जनता र देशको अवस्था उस्तै चिन्तनीय नै छ ।
यसरी विगतमा पटक–पटक जनआन्दोलन र आमहड्ताल हुँदा पनि व्यवस्था नसुध्रिएकाले पछिल्लो समयमा आएर फेरि पनि उस्तै प्रकृतिको विरोध र आमहड्ताल सुरु भइरहेको छ । तर, आज भोलिको विरोध र आमहड्तालको लक्ष्य भने केही फरक छ । पूर्ववर्ती आन्दोलन र हड्तालहरू धेरै जसो जनता र समग्र राष्ट्रियताका पक्षमा थिए भने हिजोआजको आन्दोलन वर्तमान दुईतिहाई नेकपाको शक्तिशाली सरकार एवं प्रमुख नेतृत्वले जनअपेक्षा र देशको हितमा राम्रो र सन्तोषजनक काम गर्न सकेन भन्ने विषयमा केन्द्रित रहेको छ । हुन पनि आज देशमा त्यस्तै अराजक र स्वेच्छाचारीतन्त्र मौलाइरहेको छ । आजभोलि मात्र होइन, जब नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीले ५ वर्षका लागि सत्ता चलाउने महान अभिभारा सम्हाले दिनबाट नै सरकारविरुद्ध केही साना केही यस्तै मध्यम र ठूलाखाले विरोध प्रदर्शनहरू भइनै रहन्थे । किनकी, प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकारको बितेको तीन वर्षे कार्यकालमा केही थोरै राम्रा कामहरू भए होलान् । ती राम्र्रा कामहरूलाई हामी समग्र देशबासीले हार्दिकतापूर्वक सम्मान पनि गर्दछौं । तर, उहाँको कार्यकालमा धेरै काम र विषयहरू अत्यन्तै आलोचित बन्न पुगे र आलोचित हुँदैछन् । ती आलोचित विषयहरू हजारौं संख्यामा रहेकाले ती सबै विषय सन्दर्भलाई यहाँ हुबहु उल्लेख गर्न पनि नसकिने भएकाले सारमा भन्नुपर्दा तत्कालीन निर्मला पन्तको बलात्कार हत्या प्रकरणदेखि हुँदै पछिल्लो यानि आजभोलिको प्रधानमन्त्री केपी ओलीको सरकारबाट अनायाश संसद विघटनको घोषणा भएको दिनसम्म र त्यसपछिका हिजोआजका दिनसम्म घटिरहेका विभिन्न पक्षका स्वतन्त्र अभिव्यक्तिहरूले पनि प्रधानमन्त्री केपी ओलीको काम र लोकप्रियता सन्तोषजनक हुन सकेनन् भन्ने कुरा पुष्टि हुन जान्छ ।
निर्मला प्रकरणदेखि आजभोलिकोे संसद विघटन प्रकरणसम्म आइपुग्दा बीचमा घटेका अनेकौं विवादित र पीडादायक परिघटनाहरूका बारेमा त प्रायः बहुसंख्यक देशबासीलाई सर्वविदितै छ । अझ हिजोआज के अशुभ समाचार सुनिन्छ भने बलात्कारबाट जीवन गुमाएकी निर्मला पन्तले न्याय नपाउँदै बैतडीमा त्यस्तै प्रकृतिको दुःखद घटना भएको सुनिन्छ । बैतडी निवासी १७ वर्षे एक भागिरथी भट्ट नाम थर भएकी निर्दाेष किशोरीको पनि बलात्कारपछि हत्या भएको छ । जसरी निर्मला पन्तको हत्यारालाई लुकाइएको छ त्यसैगरी यी निर्दाेष किशोरीको हत्यारालाई पनि लुकाइने धेरै सम्भावना देखिन्छ । जब निर्मला पन्तका परिवारजनले जति प्रयास गर्दा पनि न्याय नपाएपछि यिनले पनि न्याय पाउँदिन भन्ने केही विश्वास छैन । तर पनि आशा गरौं निज किशोरीका परिवारजन, सुदूर पश्चिम बैतडीका मानवीय जनता र सरकारले अवश्य पनि न्याय दिलाएरै आआफ्नो मानवीय कर्तव्य निभाउने छन् भन्ने कुरामा हामी समग्र देशबासीइहरू पूर्ण विश्वस्त छौं । यी निर्मला पन्त र भागिरथी भट्ट त दुई प्रतिनिधि पात्र मात्रै हुन यस्ता अनेकौं निर्मला र भागिरथी जस्ता निर्दाेष किशोरीको प्रतिदिन हत्या भइरहेको छ । तर, सरकारले भने अझै पनि निर्मला पन्तलाई न्याय दिलाएर नै छाड्ने छौं भनेर देशबासीलाई भ्रमित बनाउन छाडेको छैन ।
अब लागौं संसद विघटन र देशव्यापी विरोध र आमहड्तालको प्रसङ्ग । यो संसद विघटन र विरोधको प्रसङ्ग पनि अत्यन्तै आश्चर्यजनक, रोचक र चिन्ताजनक पनि देखिन्छ । ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै यस्तो विरोधी घटना विरलै सुुनिन्छ । आपसी विरोधीहरूलाई भन्दा सुन्ने र देख्नेलाई झनै लाज लाग्ने कुरा । एउटा सरकारमा रहेका र आपसी मतभेदले गर्दा आफ्नै सरकारबाट फुटेर दुई समाननान्तर समूहमा विभक्त भएका एक स्वयं प्रधानमन्त्री केपी ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा अहोरात्र भइरहने तीब्र विवाद र आरोप प्रत्यारोप । यस विवादमा प्रधानमन्त्री केपी ओली समूहमा केही आफ्नै समर्थक वरिष्ठतम मन्त्रीगण, सांसद र पार्टी कार्यकर्ताहरू छन् भने अर्का अध्यक्ष प्रचण्डका समूहमा पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायतका अन्य नेताहरू छन् । प्रधानमन्त्री केपी ओलीले मलाई पार्टी अध्यक्ष–प्रचण्ड र निजका समर्थकहरूले कामै गर्न दिएनन् । राम्रो काम गर्छुभन्दा पनि साथ दिँदैनन् । मैले गर्ने र गर्ने काममा सदैव विरोध गरिरहेका छन् । दिनरात मेरै तीब्र आलोचना गरिरहेकै छन् । कसरी हुन्छ– मलाई प्रधानमन्त्रीबाटै हटाउने षड्यन्त्र गरिरहेका छन् भन्ने आदि आरोपहरू प्रचण्ड पक्षलाई लगाउँछन् भने, अर्का पार्टी अध्यक्ष प्रचण्डले पनि के कम–उनले र उनका पक्षधरहरूले पनि केपी ओली तानाशाही बने, हरेक महत्वपूर्ण कार्यहरू हामीसँग राय परामश र समझदारी नगरी आफू खुशी एक पक्षीय रूपले काम गर्न थाले । आफ्ना आफन्त र मन परेका व्यक्ति तथा नेताहरूलाई संवैधानिक अंगलगायत प्रतिष्ठित पदहरूमा नियुक्ति गर्न लागे । मन्त्रीहरू बनाउन लागे । राजदूतहरू गर्न थाले । असंवैधानिक विधिद्वारा संसद नै विघटन गरे भन्ने आरोप लगाएर दुवै समूह आज विरोध तथा आम हड्तालमा सडकमा उत्रेका छन् । यति मात्र होइन दुवै पक्षले कुन समूहको बहुमत छ भन्ने देखाउन विभिन्न पक्षका पार्टी कार्यकर्ता र अन्य स्वतन्त्र नागरिकहरूलाई समेत भाडामा लिएर विशाल प्रदर्शन गरिरहेका छन्– यसरी दुवै पक्षले हाम्रो शक्ति र प्रदर्शन विशाल भने पनि, धेरै जसो व्यक्तिहरू जो स्वतन्त्र छन् उनीहरूको पनि ती विशाल सभामा उपस्थिति भएको हुन्छ । किनकी, कसले के के भन्छन् ? के के गर्छौ भन्छन् बुझ्नका लागि पनि धेरैै स्वतन्त्र व्यक्तिहरूको पनि सभामा जानु स्वाभाविकै हो । यस अर्थमा दुवै समूह तथा पक्षले हाम्रा पक्षमा यत्रो विशाल जनलहर आएको छ भनेर घमण्ड गर्नु सुहाउँदैन ।
अब प्रसङ्ग फेरि आमहड्तालको । एकत– स्वयं देशका शक्तिशाली प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी, समकक्षी, सहकर्मी, मन्त्रीगण, नेता तथा आफ्नो शासकीय व्यवस्थालाई सबैसँग मिलेर, सबैको राय परामर्श र समझदारीअनुसार आफ्नै घरभित्रको आपसी विवादलाई मिलाउन नसकेर बाहिर बाहिर गुहार माग्दै हिंड्ने । अनि अर्का नेता प्रचण्डले पनि अबको दुई वर्ष पनि त्याग र धैर्य देखाउन नसक्ने । एउटाले कसरी आफ्नो पद जोगाउने भन्ने चिन्ता छ भने अर्का नेताले कसरी फेरि यो प्रधानमन्त्री रूपी स्वर्ण सिंहासन जान सकिन्छ कि भन्ने प्रलोभनमा प्रधानमन्त्रीका यी संसद विघटन ।
निर्वाचनको घोषणा आदि असंवैधानिक मुद्दाहरूलाई बहाना बनाएर सर्वसाधारण निर्दाेष व्यक्तिहरूलाई सास्ती पुग्ने गरी आमहडतालको घोषणा गरी सडकमा उत्रिरहेका छन् । जब कि देशका यी प्रमुख पार्टी र नेताहरूले नै विगतमा जस्तो अब आयन्दा हामी कसैले पनि आफ्नो कुर्सी, सत्ता र स्वार्थका लागि कहिल्यै आमहड्ताल तथा समग्र देश नै ठप्प हुने गरी नेपाल बन्द जस्ता गैर जिम्मेवारी काम गर्ने छैनौं भन्ने प्रण गरेका उच्च नेताहरूबाट नै यसरी बन्दको पुनरावृत्ति हुनु अत्यन्त चिन्ताको विषय हो । आखिर यी नेताहरूको बन्द अन्तिम लक्ष्य भनेको जनता र देशको सुधारभन्दा आफ्नै कुर्सी, सत्ता, प्रतिष्ठा र अधिकारका निमित्त रहेछ भन्ने कुरा स्वतः सिद्ध हुन्छ । यदि नेताहरूमा यी स्वार्थ हुन्नथे भने आम हड्ताल नै कि गर्नुपथ्र्याे ? आशा छ अझै पनि विवेकशील नेताहरूले आफ्नो स्वार्थभन्दा पनि समग्र राष्ट्रिय स्वार्थप्रति ध्यान केन्द्रित गर्नेछन् भन्ने अपेक्षा गर्दै ‘के आम हड्ताल नै समस्याको समाधान हो ?’ भन्ने विचार समेत यहीं इतिश्री हुन्छ ।
नागरिक जागरण अभियान, देवीनगर

प्रतिक्रिया
सम्बन्धित समाचार