सैनमैना । तेस्रो सैनामैना मेयर कप नकआउट फूटबल प्रतियोगिता २०७७ को उपाधि खनाल ब्रदर्शले हात पारेको छ । उपाधि हात पारेसंगै खनाल ब्रदर्शले दुई लाख २२ हजार दुई सय २२ रुपैयासहित मेयर कप र मेडल प्राप्त गरेको छ । खनाल ब्रदर्शले फर्साटिकर फूटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।
गत माघ २४ गतेदेखि सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको आयोजनामा सैनौमैनाको देवापार खेलकुद मैदानमा जारी प्रतियोगितामा खनाल ब्रदर्शले जित हात पारेको हो ।
पहिलो मध्यान्तरसम्मको प्रतिस्पर्धामा दुबै समूहबाट कुनै पनि गोल गर्न सफल नभए तापनि मध्यान्तर पछिको १० औं मिनेटमा फर्साटिकरका फोफोनाले फर्साटिकरका लागि पहिलो गोल गरेसंगै टिमलाई अग्रता दिलाएका थिए । फर्साटिकरका फोफोनाको पहिलो गोलको स्वाद नसकिदै खनाल ब्रदर्शका जर्सी नं. ११ का कान्छा गुरूङले खनाल ब्रदर्शका लागि पहिलो गोल गरे पछि खेल बराबरीमा पुगेको थियो ।
खेलको ८५ औं मिनेटमा खनाल ब्रदर्शका कान्छा गुरूङद्वारा पुनः दोश्रो गोल गरेसंगै खनाल ब्रदर्शले उपाधिलाई सुनिश्चित गरेको थियो । बुधबार भएको फाइनल खेलमा खनाल ब्रदर्शका कान्छा गुरूङ म्यान अफ द म्याच भएका छन् ।
यस्तै १–२ गोलले पराजित भएपछि फर्साटिकर फूटबल क्लब उपबिजेतामा चित्त बुझाई एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित कप तथा मेडल प्राप्त गर्न सफल भएको छ । यसैगरी प्रतियोगिताको अन्तिम ४ मा पुग्न सफल फुलबारी गायज र विश्वशान्ति युवा क्लबलाई जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
दर्शक र निर्णायकहरूको मूल्यांकनको आधारमा खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खनाल ब्रदर्शका बिमल राना उत्कृष्ट खेलाडीको रूपमा छनौट भएका छन् । उत्कृष्ट खेलाडी घोषित भएसंगै बिमल रानाले माउण्टेन साइकल र मेडल प्राप्त गर्न सफल भएका छन् ।
यस्तै देशभरका १२ फूटबल टिमहरूले प्रतियोगितामा सहभागिता जनाएको तेश्रो सैनामैना मेयर कप नकआउट फूटबल प्रतियोगितामा दर्शक र निर्णायकहरूको मूल्यांकनको आधारमा खेल अवधि भर उत्कृष्ट डिफेण्डिङ गर्ने खनाल ब्रदर्शका सुरज विष्ट उत्कृष्ट डिफेण्डर, फर्साटिकर युवा क्लबका फो फो ना सर्वाधिक गोल कर्ताको रूपमा छनौट भएका छन् । उनले खेल अवधिभर ५ गोल गरेका थिए ।
यस्तै खनाल ब्रदर्शका टेकेन्द्र थापा उत्कृष्ट गोल रक्षक भएका छन् भने उत्कृष्ट मिड फिल्डर फर्साटिकरका रूपक लामा, उत्कृष्ट अग्रपंक्तिमा फर्साटिकरकै टीकाराज गुरूङ र उत्कृष्ट प्रशिक्षक फर्साटिकरका विश्वास गुरूङ घोषित भएका छन् भने निजहरूले जनही पाँच हजार रुपैयाँ र मेडल प्राप्त गर्न सफल भएका छन् ।
सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय स्पोर्टिङ युवा क्लबको खेल व्यवस्थापनमा संचालित मेयर कप सफल पार्न सैनामैनाका उद्योगी, व्यवसायी, वित्तीय संस्थाहरू, सहयोगदाता, क्लबका सल्लाहकार, सदस्यहरूले विधागत पुरस्कारहरूको लागि सौजन्य तथा आर्थिक सहयोग प्राप्त भएको खेलकुद संयोजक चित्रबहादुर थापाले जानकारी दिए ।
खेलको समापन समारोहमा विजयी समूहहरूलाई सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले पुरस्कृत गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आगामी वर्षदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । सो अवसरमा अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य दिर्घबहादुर केसी, सरस्वती माविका प्रधानाध्यापक रामप्रसाद पौडेल, क्लबका सल्लाहकार दीपक न्यौपानेलगायतले बोलेका थिए । समापन समारोह जनप्रिय स्पोर्टिङ युवा क्लबका अध्यक्ष किशोर रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव रोमनाथ न्यौपानेले गरेका थिए । प्रतियोगितामा रूपन्देही, नवलपरासी र कपिलवस्तु गरी १२ समूह सहभागी थिए ।