पर्यटन व्यवसायी भन्छन्–‘नाका खुलाउने सरकारले निर्णय गर्दा समेत स्थानीय प्रशासनले अवरोध गरिरहेको छ । कसरी उठ्छ पर्यटन व्यवसाय ?’
लुम्बिनी संवाददाता
बुटवल
कोरोना महामारीका कारण बन्द भएका नेपाल– भारत सीमानाका सरकारले खोल्ने निर्णय ग¥यो । तर लुम्बिनी प्रदेशका नाकाहरूबाट भने अहिले पनि पर्यटक आउन सकिरहेका छैनन् । उताबाट नेपाल घुम्न आएका पर्यटकहरू सीमाबाटै फर्किने गरेका छन् ।
सरकारले नाका खोल्ने निर्णय गरेको थियो । स्थानीय प्रशासनले भने त्यस्तो परिपत्र नआएको भन्दै पर्यटक रोकेको छ । यसले पर्यटन व्यवसाय झन थला परेको छ । बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो । यो नाका करिव एक वर्षदेखि सुनसान छ ।
लुम्बिनी प्रदेशको बेलहिया मात्रै होइन, नेपालगञ्ज नाका, कपिलवस्तुको कृष्णनगर र नवलपरासीको महेशपुरको अवस्था पनि उस्तै छ । आउँजाउँमा रोक लगाइएको छ । जिल्ला प्रशासनको आदेशमा कडाई गरिएको सीमामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन् ।
सधै भिडभाड देखिने बेलहियामा कोरोना संक्रमणका कारण सीमा बन्द गरिएयता खासै चहलपहल छैन । सीमाभरी सुरक्षाकर्मी खटिएका छन् । सीमापारी जानका लागि सामन्य परिचय पत्रको आधारमा भारतले जाने दिने गरेको छ । जसकारण सीमापारीको भारतीय बजार सुनौली गुल्जार छ । दैनिक लाखौँ रुपैयाँको कारोबार भइरहेको छ । त्यहाँका अर्थतन्त्र चलायमन छ । व्यापारी व्यस्त छन् । तर, पर्यटक पर्खाइमा बसेका सीमबारीका नेपाली व्यापारीहरू भने पीडित छन् । समान्यता भारतीयहरू व्यक्तिगत कामले नेपालको सीमावर्तीहरू बजारमा आउने गरेपनि पर्यटकको रूपमा भित्रिने सकेका छैनन् । पैदलमार्ग हुँदै मूलुकमा सबैभन्दा बढी पर्यटक यही नाकाबाट भित्रिन्छन् । तर, सीमा नखुल्दा पर्यटकको आगमनमा शून्य छ । जसकारण पर्यटन व्यवसाय ध्वस्त बनेको छ । सीमा खोल्ने सरकारको घोषणा कागजमै सीमित रहेपछि पर्यटकहरू सीमामा पुगेर फर्किन बाध्य भएका छन् ।
‘गाडीमा परिवारसहित नेपाल घुम्नका लागि भारतीय पर्यटकहरू सीमामा आइरहेका हुन्छन्,’ रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहिया प्रहरी निरीक्षक ईश्वरी अधिकारी भन्छन्–‘तर, अनुमति नहँुदा हामीले उनीहरूलाई सीमाबाट नै फर्काउन बाध्य छौँ ।’
भारतबाट आउने नेपालीहरूलाई प्रहरीले समान्य सोधपुछ र नाम, ठेगनासहितको अभिलेख राखेर मूलुक प्रवेशको अनुमति दिने गर्दछ । त्यस्तै भारतीय नागरिकको हकमा भारतीय सरकारी परिचय पत्र राखेर भन्सारसंग सम्बन्धित काम गर्ने भन्सार एजेन्ट, बिरामी र विद्यार्थीलगायत अत्यावश्यकलाई मात्र आउने दिने गरेको छ । जसकारण पर्यटक भित्रिन सकेका छैनन् ।
६ महिनाको लामो लकडाउनका कारण ध्वस्त भएको व्यवसाय अहिले विस्तारै खुल्ला हुँदै गएपनि पर्यटक नआउँदा पर्यटन व्यवसाय चलायामन हुन सकेको छैन । बेलहिया नाकाबाट आउने अधिकांश पर्यटक लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विकास कोषले दर्शनका लागि लुम्बिनी खुल्ला गरेपनि ‘लोकल’ पर्यटक बाहेक बाह्य पर्यटक आउन सकेका छैनन् ।
‘सरकारले लकडाउन पछि एकातिर होटल व्यवसाय खोल्नु भन्यो अर्कोतिर सीमा बन्द यथावत नै राखेको छ,’ लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवालीले प्रश्न गर्दै भने–‘सीमा बन्द गरेर राखेपछि पर्यटकहरू कसरी आउन्छन् त ? हामीलाई मुर्ख मात्र बनाइएको छ ।’
होटल व्यवसाय खुल्ला गरिए पनि सीमा नखुल्दा यस क्षेत्रको पर्यटन व्यवसाय लकडाउन सरहकै अवस्थामा रहेको उनको भनाइ छ । ‘सीमा क्षेत्रको व्यवसाय भारतीय पर्यटकबाट आश्रित छ,’ उनले भने– ‘जब भारतीय पर्यटकलाई नै आउने नदिने हो भने पर्यटन क्षेत्र चलयामन हुन सक्दैन, अब सीमा खुल्ला गरेर हामीले पर्यटक स्वागत गर्न जरूरी छ ।’
सरकारले लकडाउन गरेयता पर्यटन व्यवसाय उकासिन सकेका छैन । अहिले पनि होटल व्यवसाय लकडाउन सरहकै अवस्थामा छ । यस क्षेत्रमा संचलित होटलका सबै क्यासिनोका ग्राहक भारतीय नागरिक नै हुन् । क्यासिनोको माध्यमबाट मासिक लाखौँ रकम मूलुकमा भित्रिने गर्छ ।
तर, भारतीय पर्यटकहरू आउन नसक्दा यस क्षेत्रका क्यासिनो समेत सञ्चालन हुन सकेको छैन । सीमा नखुल्दा यस क्षेत्रकै एक मात्र पाँच तारे होटल टाईगर प्यालेस लकडाउनदेखि नै बन्द अवस्थामा छ । बन्द रहेको कारण स्थानीय सयौँ कामदारले रोजगारी गुमाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार जिल्लामा कोरोना परीक्षण र संक्रमणको अवस्थामा शून्यमा झरेको छ । सामान्य अन्य दिन पनि जिल्लामा संक्रमणको अवस्था ‘ग्रिन लेबल’ मै छ । हप्ता दिन यता संक्रमणको अवस्था एक अंकमा सीमित हुन पुगेको छ । अधिकांश सर्वसाधरणले स्वास्थ्य मापदण्ड पालना नगरेपनि संक्रमण र मृत्यु दर बढेको छैन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बेलहिया नाकामा निश्चित मापदण्ड प्रक्रिया पुराएर आउने अत्यावश्यक (प्राविधिक, मजदुरलगायत) भारतीय नागरिक र स्वदेश फर्किने नेपालीहरुको अभिलेख राखेर मुलुक भित्रयाउने कार्य भइरहेको बताए । लकडाउनअघि जस्तो सवारी साधन सहित पूर्ण रुपमा नाका खुल्ला गर्ने कुनै किसिमको निर्देशन नआएकोले सरकारले गरेको निर्णयलाई नै सहजीकरण गरिरहेको उनको भनाई छ ।
भारतीय गाडी आउन नपाउँदा पर्यटक ठप्प
‘यो सिजनमा बास बस्ने पर्यटकमध्ये कम्तीमा ८÷१० प्रतिशत भारतीय हुन्थे । बिहान आएर साँझ फर्कनेको संख्या त अझैं धेरै हुन्थे’, सिद्धार्थ बिजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले नेपालगञ्जको चार तारे होटल सिद्धार्थ भ्यूको अनुभव सुनाए, ‘बाँके बर्दियाका पर्यटकीय क्षेत्र घुम्न र क्यासिनोमा भारतीय पर्यटक आउँथे । अहिले पर्यटक शून्य छ ।’ बाँकेको सीमा नाका जमुनाहाबाट भारतीय नीजि जीप कारहरु आवतजावत बन्द भएपछि यहाँका पर्यटकीय क्षेत्रहरु सबैभन्दा मारमा परेका छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल विगतमा दैनिक रुपमा कम्तीमा पनि एक हजारको हाराहारीमा भारतीय पर्यटक आउने गरेको बताउँछन् । कँडेल भन्छन्, ‘दैनिक कम्तीमा २ सय गाडी आउँथे । यहीबाट काठमाडौं, पोखरा जान पनि आउँथे । अहिले भारतीय पर्यटक ठप्प भएको छ ।’ क्यासिनो सिटीको रुपमा विकास हुँदै गरेको नेपालगञ्जका क्यासिनोमा जुवा खेल्ने भारतीय नै हुन्थे । पर्यटकीय क्षेत्रको अवलोकन र सपिङ गर्न भारतीयहरु जीप कारमै आउने गरेका थिए ।
सीमा प्रहरी चौकी जमुनाहाका इन्चार्ज विष्णु गिरी भारतीय नीजि सवारी आवतजावतमा रोक लगाएको बताउँछन् । ‘सिडियो कार्यालयबाट अनुमति पत्र लिएर आउने भारतीय गाडीलाई मात्र भन्सार कार्यालयले आउन दिन्छ । अरु गाडी भन्सार कार्यालयले नै प्रवेश गर्न दिँदैन’, इञ्चार्ज गिरीले प्रष्ट पारे–‘विगतमा भारतीय गाडी नेपालगञ्जसम्म निर्वाध रुपमा आवतजावत गर्न पाउँथे । भन्सार पनि तिर्न पर्दैनथ्यो । अहिले भारतीय एसएसबीले पनि आउन दिँदैन ।’ अहिले नेपाल–भारत जमुनाहा नाकामा भारततर्फ एसएसबी क्याम्पसम्म र नेपालतर्फ जमुनाहा नाकामा गाडी रोकेर मात्र पैदल सीमा पार गर्न दिइन्छ । गाडी जान नपाए पनि भारतीय बजार रुपैडियामा भने किनमेल गर्न जानेहरु भने बढेका छन् ।