दिपक न्यौपाने
बुटवल
सैनामैना नगरपालिकाले पछिल्लो समय खेलकुद क्षेत्रलार्ई प्राथमिकतामा राख्दै आफ्ना योजनाहरुलाई अगाडि बढाएको छ । नगरलाई खेलकुदको पनि हब बनाउन अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालादेखि फूटबल स्टेडीयमका कामहरु धमाधम भइरहेका छन् । यद्यपी नगर खेलकुद विकास समिति गठन नहुँदा लोपोन्मुख तथा चल्तिमा आएका खेलकुद प्रतियोगिताहरु चलाईमान हुन भने सकेका छैनन् ।
‘हाम्रो खेलकुद नीति तथा कार्यविधि बनिसकेको छ,’ खेलकुदप्रेमी साथै भलिबलका पूर्व खेलाडी समेत रहेका सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की भन्छन् – ‘खेलकुद विकास समितिबाट नगरमा हुने हरेक प्रतियोगितालाई व्यवस्थित गर्दै यो रफ्तारलाई अगाडि बढाइने छ ।’
कार्कीले यसो भने पनि समयमा समिति गठन नहँुदा नगरका खेलकुदका कार्यक्रमहरु प्रभावित भने भइरहेका छन् । उता नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हेमराज अर्यालले पूर्वाधार छोडेर वार्षिक ४० लाखभन्दा बढी बजेट खेलकुद प्रतियोगिताका लागि खर्च गरिएको र नगरले खेलकुदमा छुट्टै पहिचान बनाएको दाबी गर्छन् ।
‘नगरपालिकाको खेलकुद नीति यस क्षेत्रकै उत्कृष्ट नीति छ,’ अर्यालले थपे –‘नगर खेलकुद विकास समितिमार्फत हामीले यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने छौं ।’
नगरले विद्यालयस्तरबाटै खेलाडी उत्पादन भएको खण्डमा मात्र खेलकुदको विकास हुन्छ भन्ने कुरालाई भने आत्मसाथ गरेको छ ।
प्रत्येक वर्ष खेलकुद सप्ताह सञ्चालन गरेको नगरले केन्द्रबाट बजेट ल्याएर आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सक्ने पूर्वाधार विकासमा पनि उत्तिकै काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थिले बताए । बुटवलकै पश्चिम क्षेत्रमा रहेको सैनामैना नगरपालिका खेलकुदको ठुलो हब हुनेमा शंका नरहेको बताउँदै प्रत्येक वर्ष खेलकुदमा बजेटको आकार बढाउँदै लाने बताए ।
कसले जित्ला तेस्रो मेयरकपको उपाधि ?
रुपन्देहीको सैनामैना नगरपालिकाले आयोजना गरेको तेस्रो मेयरकप नकआउट फूटबल प्रतियोगिताको उपाधिका लागि आज रुपन्देहीका दुई चर्चित फूटबल क्लब फर्साटिकर युवा क्लब र खनाल ब्रर्दशका बीचमा प्रतिस्पर्धा हँुदै छ । सेमिफाइनलमा फूलबारी गाइज बुटवललाई ३ शुन्यले पराजित गर्दै फाइनलको यात्रा तय गरेको रुपन्देहीको उत्कृष्ट क्लब फर्साटिकरले आफ्नै ठाउँको खनाल ब्रर्दशसंग सरस्वती माबी देवापारको उही मैदानमा प्रतिस्पर्धा गर्दै छ , जहाँ खनालले घरेलु टोली विश्वशान्ति युवा क्लबसंग शानदार जित निकाल्दै मेयरकप फूटबलमा पहिलोपटक फाइनलको यात्रा तय गरेको हो ।
दोस्रो मेयरकप नकआउट फूटबल प्रतियोगिताको उपाधि हत्याएको फर्साटिकरले राष्ट्रियस्तरका खेलाडीले भरिभराउ खनाल ब्रर्दशसंग फाइनलमा प्रतिस्पर्धा गर्न लागेको यो नै पहिलो पटक हो ।
फोफोना, पेपे, जस्ता अनुभवी विदेशी खेलाडी र सुरज हमाल, जनक कार्कीजस्ता घरेलु खेलाडीको उच्च साथ पाएको फर्साटिकरका लागि राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडी उतारेको खनाल सामु उपाधि कब्जा गर्न त्यती सहज भने पक्कै हुने छैन । यदपी प्रतियोगिता अवधिभर एकनाशको खेल पस्केको र दर्जनौ प्रतियोगिताको उपाधि कब्जा गरिसकेको हुनाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने र पुनः मेयरकपको उपाधि उचाल्ने क्लबका अध्यक्ष तथा खेलाडी मुकेश कुँवरले बताए । उता खनाल ब्रर्दशका सिद्धान्त खनाल भने लामो समयपछि फूटबलमा फर्किएको बताउँदै एकैठाउँका टिम भए पनि खेलको विपक्षीलाई कहिल्यै कमजोर नठान्ने र उपाधि आफ्नै हातमा ल्याउने रणनीतिका साथ मैदानमा उत्रने दाबी गर्छन् । खनालसामु राष्ट्रिय खेलाडी भरत शाह, विमल राना, रञ्जन विष्ट, रुपेश केसी जस्ता नाम चलेका खेलाडीको साथ नै सबैभन्दा सबल पक्ष मानिएको छ ।
दिउँसो २ बजेबाट सुरु हुने फाइनल खेल सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको व्यवस्थापनमा भइरहेको छ । प्रतियोगिता माघ २४ गतेबाट सुरु भएको थियो । तेस्रो मेयरकपमा रुपन्देहीसहित विभिन्न जिल्लाका गरी १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्ने छ भने उप–बिजेताले एक लाख ११ हजार १ सय ११ मा चित्त बुझाउने छ । यसैगरी विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत सम्मान गरीने खेल संयोजक चित्रबहादुर थापाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई १ थान साइकल तथा उत्कृष्ट गोलरक्षक,सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद पाँच हजार प्राप्त गर्ने आर्थिक संयोजक विष्णुप्रसाद पाण्डे (भास्कर )ले जानकारी दिए ।
हालसम्म १६ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष रुपमा खेलको अवलोकन गरिसकेको र फाइनलसम्म दर्शकको संख्या २० हजार नाघ्ने क्लबले बताएको छ ।
फूटबल विकासमा
नगरपालिकाको भूमिका महत्वपूर्ण

तीन तहको सरकार आइसकेपछि खेलकुदमा सबैभन्दा प्रभावकारिता देखीएको भनेकै स्थानीय तह हो । गाउँ–गाउँमा खेलकुद प्रतियोगितादेखि खेलाडीलाई हौसल्ला बढाउन नगरले खेलेको भूमिका प्रशसनीय नै रहेको छ । आज देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जति पनि खेलाडीहरुले आफ्नो प्रतिभा देखाइरहेका छन् ती गाउँ ठाउँबाटै गएका खेलाडी हुन् ।
त्यसैले फूटबल विकासका लागि त झनै पालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । सैनामैना नगरपालिकाले विगत तीन वर्षदेखि मेयरकप फूटबल सञ्चालन गरेर एउटा उच्च नमूना प्रस्तुत गरेको छ । नगरले फूटबल खेलाएर मात्र हुँदैन खेलाडी उत्पादनमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको छ । हाम्रै बुटवल उप–महानगरपालिकाले राष्ट्रकै गौरब रहेको तिलोत्तमा गोल्डकप नकआउट फूटबल प्रतियोगितालाई पर्याप्त बजेट छुटाउन सकेको छैन त्यस मानेमा सैनामैना नगरपालिका १० कदम अगाडि पाएको छु । खेलाडीको विकास र खेलेरै बाँच्ने आधार बनाउन प्रत्येक नगरपालिकाहरुले विशेष प्याकेजका कार्यक्रमहरु ल्याउन भन्ने अपेक्षा राखेको छु ।