देउवा भन्छन् : निर्वाचन आयोगले किन तयारी गरिरहेको छैन ?
‘निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह, सर्वाेच्च अदालतमा रहेको विषयमा बोल्दैनौं ।’
नरेश के.सी.

भैरहवा
नेपाली कांग्रेस प्रधानमन्त्रीको कदमको विरोधका नाममा चुनावी मैदानमा निस्केको छ । विरोधसभा भन्दै गरिएका सभामार्फत सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोकेपछि कांग्रेस तयारीमा लागेको हो । बैशाखमै निर्वाचन हुनुपर्ने मनस्थितिमा कांग्रेस पुगेको छ । त्यसको संकेत कांग्रेस सभापति देउवाले गरेका छन् । उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको भन्दै टिप्पणी समेत गरे । उनले भने–‘निर्वाचन आयोग किन चुपचाप छ । कुनैपनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गराउनै पर्छ । निर्वाचन आयोगलाई मतलबै छैन । प्रधानमन्त्री ओलिले संसद विघटन गरेको छ महिनाभित्रै चुनाब गराउनै पर्छ । निर्वाचन आयोगमाथि शंका सृजना भएको छ । अदालतको निर्णय पर्खिने होइन । पछि अदालतले निर्वाचन नगर भने स्थगित गर्ने हो ।’
संसद विघटनको विषय अदालतमा विचाराधीन भइरहेको बेला संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले भीड र जुलुसको आधारलाई नमानि विद्यमान संविधान र कानूनअनुसार अदालतले फैसला गर्ने बताएको छन् ।
कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री देउवाले भने –‘जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून ?’
देउवाले अदालतमा विचाराधिन मुद्दामा कांग्रेसले अहिल्यै धारणा नबनाउने बताएता पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको टिप्पणी चाहीं गरे । उनले भने–‘अदालतमा विचाराधीन मुद्दामा हामी नबोलौं । अदालतको फैसला आएपछि निर्णय गरांैला । तर प्रधानमन्त्री ओलीले जे गरिरहनुभएको छ, त्यो ठीक छैन ।’
देउवाले कम्युनिष्टहरूको झगडाले कांग्रेसमा समेत समस्या सुरु भएको बताए । उनले जनताको अधिकार स्थापित गराउन राणा, पञ्चायत हटाएको कांग्रेसले कम्युनिस्ट सरकारलाई पनि हटाउने बताए । उनले कोरोना भाइरसकोलागि औषधिमुलोको व्यवस्थापन गर्नुपर्नेमा आफू–आफू लडेर कम्युनिष्टहरूले गलत गरेको समेत बताए ।
सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीको कामलाई नेपाली कांग्रेसले अधिनायकबादको यात्रा भनेको बताए । उनले भने–‘यो अधिनायक बादको यात्रा रोक्न कांग्रेसले अगुवाई गर्छ ।’
खाँणले भने–‘यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातान्त्रलाई रोक्न सक्दैन । जो जसले लोकतन्त्र स्वीकारेन त्यो सकिएको छ । राणा, पञ्चायत र राजा ज्ञानेन्द्रले संविधानको विपक्षमा गई, जनताको अधिकार स्वीकार्न नखोज्दा तिनै सिद्धीए । त्यसैगरी यतिबेला कम्युनिष्ट प्रधानमन्त्री ओलीले संविधान च्यात्न खोजेका छन् । उनी पनि सिद्धिन्छन् । कम्युनिस्ट पनि सकिन्छन् ।’
सभामा कांग्रेसका नेता तथा पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि रेडिमेड मान्छेहरू तयार गरेर प्रदर्शन गराइरहेको आरोप लगाए । उनले भने–‘बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छेहरू जम्मा गरियो । जहाँ गयो तीनै रेडिमेड मान्छेलाई सभा स्थलमा पुराउने गरेको देखिएको छ ।’
शाहले तीन वर्षसम्म भूमिहीन सुकुम्बासीको चिन्ता नगरेको नेकपा सरकारले निर्वाचनको मिति घोषणा गरेर लालपूर्जा बाँड्ने प्रक्रिया थालनी गर्नु नौटंकी भएको टिप्पणी गरे ।
कांग्रेस सभापति अब्दुल रज्जाकको सभापतित्व तथा सचिव बालकृष्ण खाँणको सञ्चालनमा सम्पन्न भएको थियो । भैरहवास्थित हनुमान मन्दिरको प्रांगणमा सम्पन्न उक्त सभामा रूपन्देहीको गाउँ–गाउँबाट मान्छेहरू सभास्थलमा आइपुगेका थिए ।