सुवास पोखरेल

मानवशास्त्री हेलेन फिसर यस प्रेमभावलाई भावनात्मक आगो, मन परेको मान्छे सर्वप्रिय, उसँग रहँदा उच्चतम भाव हुने, यो जत्तिको उत्कृष्ट आनन्द केही नहुने र प्रेमीहरू आफ्ना सबै गतिविधि आफ्नो मन परेको मान्छेमा समर्पित गर्नेसम्म गर्दछन भन्ने गर्छिन् ।

कुनै ज्ञान यस्ता हुन्छन् जसको प्राप्तिले मनमा सन्तोष र शान्ति हुन्छ । कोही किन कसैको प्रेम पाउन सक्षम वा अक्षम किन हुन्छन् भन्ने ज्ञान जब विज्ञानले तथ्य र तर्कका साथ दिन्छ तब म यो लेख लेख्न उत्साहित भएँ । हालसालै अमेरिकी वैज्ञानिक र मानवशास्त्री हेलेन फिसरको पुस्तक ‘एनाटोमी अफ लभ’ पढेपछि मेरो यस विचार पेश गरेको छु । शायद प्रेमको मौसम भ्यालेन्टाइन डेसँग सम्बन्धित होला ।

प्रेमको उच्चतम आदर्शको रुपमा चिनिएका सन्त भ्यालेन्टाईनको नाममा पश्चिमी मुलुकमा फेब्रुअरी महिनामा प्रेम दिवस मनाईदै आएको छ । नेपालमा पनि प्रेमीहरू यस दिवसलाई उत्सवको रुपमा मनाउँछन् । वास्तवमा प्रेम के हो? प्रेममा दिव्य भाव किन आउँछ ? अथवा विशेष गरि प्रेमीहरूमा उत्पन्नहुने भाव के हो ?वा प्रेम पाउन/गर्न किन लालायित हुन्छन् मानव वा अन्य जीवहरू । मानवशास्त्री हेलेन फिसर यस प्रेमभावलाई भावनात्मक आगो, मन परेको मान्छे सर्वप्रिय, उसँग रहँदा उच्चतम भाव हुने, यो जत्तिको उत्कृष्ट आनन्द केही नहुने र प्रेमीहरू आफ्ना सबै गतिविधि आफ्नो मन परेको मान्छेमा समर्पित गर्नेसम्म गर्दछन भन्ने गर्छिन् । यी सब गतिविधीले चाहे अन्य काम नै किन नबिगारोस् ।

प्रेम प्राप्त गर्ने मान्छे त खुशी नै हुने भए । आफुले माया गर्ने र पाउने भएपछि कुरै सकियो । तर प्रेम प्राप्त गर्न असफलहरू निरास हुनु त ? त्यस्तै प्रेमाभावको कारण अवसादमा जानु त ? कोही मानिस त आत्महत्यासम्म गर्ने गरेका छन् ।
तर प्रकृतिचाहीं अन्यायी नै छ । नेचर इज नट फेयर (प्रकृति निष्पक्ष छैन) त्यसै भनिएको छैन । विज्ञानले यस्तो प्रेमको उच्छावासलाई कसरी हेर्ने गर्दछ त? मानव जन्मिएपछि युवास्थामा पुग्दा सृष्टिजनित वा जैविक आवश्यकता स्वरुप यौन हर्मोनको विकास हुने र यौनावेग उत्पन्न भई मानसिकरुपमा हाम्रो दिमागमा रसायन तछाढमछाढ गर्ने गर्दछन् । यस्तो अवस्थामा निकै उर्जा हाम्रो शरीरमा हुने गर्दछ । कसैले यस उर्जालाई यौनप्राप्तिमा खर्च गर्दछन् भने कसैले विशिष्ट काम, अनुष्ठान, कला, साहित्य, कविता वा अध्यात्ममा यस उर्जालाई लगाउँदछन् ।

यो माया प्रेममा तपाईंलाई कसैले दयामाया र सहानुभुति दिंदैनन् । चाहे केटा होस् वा केटी । प्रेम हुने प्रकृया निकै क्रुर हुन्छ । केही गुण (रुप, रंग, श्रोत साधन वा शारिरिक तन्दुरस्ती आदि) आफुमा नभए तथाकथित प्रेम प्राप्त गर्ने प्रकृयामा ब्रेक लाग्ने सम्भावना प्रवल हुन्छ । मानिसहरू प्रेममा यौन प्राप्तिको लागि जुनै हदसम्म पनि जान सक्दछन् । ज्यान दिने सम्मका हर्कत हामी सुन्ने गर्दछौं । यो हाम्रो मानवविकास क्रमदेखि रहेका आदिम प्रवृत्ति (Instictive Impulse) को कारण, सहवास गर्ने र सन्तानोत्पादन गर्नको लागि विकास भएको हो । विज्ञान त यही भन्छ । प्रेम वा यौन भनौं सबै हाम्रो दिमागमा रहेका विभिन्न न्युरोनको सकृयताका कारण सिर्जित हुने गर्दछ ।

त्यसैले मानवशास्त्री हेलेन फिसरका अनुसार, कसैले कसैको प्रेम पाउन वा आकर्षणको लागि न्युनतम मापदण्ड चाहीं पुरा गर्नुपर्ने हुन्छ । जस्तो पुरुषको हकमा उनीहरू आर्थिक रुपमा सक्षम, स्वस्थ र शारिरीक रुपमा फिट, जोखिम मोल्न सक्ने आदि गुण भएमा महिला आकर्षित हुने सम्भावना धेरै हुने गर्दछ । त्यस्तै महिलाको हकमा शारिरिक रुपमा स्वस्थ, तन्दुरुस्त (जसको कारण महिला सुन्दर देखिने सम्भावना धेरै हुने गर्दछ) जस्ता गुणहरू पुरुषले खोज्ने गर्दछन् । अहिले आधुनिक युगमा केहीअन्य गुणहरू खोजिन्छ, जस्तो सामाजिक हैसियत, प्रभाव, राम्रो व्यावसाय वा जागिर, शिक्षा, जात, वर्ग आदि तर यी गुणहरूलाई खुम्च्याउंदै जाँदा त्यही आदिम गुणहरूमा पुग्न सकिन्छ ।

यी गुणहरू नभई जोरजुलुम वा जर्बजस्तीबाट प्रेमीको प्रेम पाउन सकिन्न । यति रहस्य बुझेपछि भावना भन्दा आफ्नो विवेक प्रयोग गरि कसरी विपरितलिंगी साथीलाई प्रभावमा पार्न सकिन्छ भन्ने उपाय अपनाए प्रेम पाउन त्यति असम्भव छैन । त्यहीं भएर युवायुवतीहरू धेरै भावनामा नबहकि आफ्नो उत्कृष्ट स्वरुप आफ्नो हुनेवाला प्रेमीलाई दिन सक्ने हुन पर्दछ । यो हाम्रो आदिम जिन निकै स्वार्थी छ । यहाँ कमजोर (शारीरिक वा मानसिक रुपमा) प्रेमीवा प्रेमिकालाई कसैले हेर्दैन । रोई कराई गर्नुको कुनै अर्थ छैन । आफुलाई कमजोर बनाउनु आफ्नै हितमा छैन । अरुले आफुलाई किन अस्वीकार गर्यो भन्दा पनि आफुमा त्यस्तो के गुण छ र अरु आफुप्रति आकर्षित होस् भन्ने कुरा मनन् गर्दा राम्रो हुन्छ । सो अनुरुप आफुमा प्रेमी र प्रेमिकालाई आकर्षित गर्ने गरि गुणहरूको विकास गर्नु नै प्रेम प्राप्त गर्ने मार्ग हो ।