प्रेम सुनार
गुल्मी
डाक्टर पास गरेकाहरू अधिकांश शहर रोज्छन् । त्यही कारणले नै गाउँका अस्पतालमा दक्ष चिकित्सक भेटिंदैनन् । गुल्मीको तत्कालिन इस्मा राज्य र हालको ईस्मा गाउँपालिकाको ईतिहासमा स्थानीय एक युवा आफ्नै गाउँमा प्रथम डाक्टरको रूपमा स्वास्थ्य सेवा दिन आएका छन् । इस्मा गाउँपालिमा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३ दर्लामचौर घर भएका २७ वर्षीय निश्चल शर्मालाई इस्माको प्रथम डाक्टरको रूपममा इस्माबासीले पाएका हुन् ।
दर्लामचौरका मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका जेष्ठ सुपुत्र हुन डाक्टर शर्मा । जो गाउँकै छोरो गाउँकै सेवामा आउने इस्माको इतिहासमै प्रथम डाक्टर भएको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताउँदै हर्ष प्रकट गरे ।
‘उहाँ इस्माले स्थापना गरेको कोभिड अस्पतालमा पुस १ गतेदेखि इस्माको ईतिहासमा प्रथम एमबीबीएस डाक्टरको रूपमा आउनुभयो । अहिले तीन महिने सेवा अवधिका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँलिकाले नै दरबन्दी खडा गरेर राख्नेछांै र गाउँकै छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेर आएको छ ।’– इस्मा गाउँपालिका प्रमुख विष्टले भने ।
डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्षअघि एमबीबीएसको अध्यान सकेर त्यही काम गर्दै आएको र पुस १ गतेदेखि आफ्नै गाउँमा सेवा गर्ने अवसर पाएकोमा गर्व लागेको बताए ।
‘हुन त मलाई बच्चैदेखि डाक्टर बन्ने सपना थियो । तर पाल्पाका भगवान कोइरालाले सामाजिक सेवामा जुन भूमिका खेल्नु भयो जसले गर्दा उहाँ मेरो प्रेरणाको श्रोत हो,’– डाक्टर शर्माले भने –‘पूर्व मन्त्री गोकर्ण विष्टले पनि मलाई पहिल्लैदेखि डाक्टर बन्न हौसला दिँदै आउनु भयो जसका कारण अहिले म यहाँसम्म आइपुगे यसर्थ उहाँ पनि मेरो प्रेरणाको श्रोत हो ।’
डाक्टर शर्माले इस्माकै बासीन्दा र इस्मामै सेवा गर्न आउने प्रथम डाक्टरका रूपमा आफूलाई पाएको दाबी गरे । ७० वर्षको नेटो काटेका इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले इस्माबाट बसाई सराई गरेर स्वदेश वा अन्य मूलुकबाट डाक्टर बनेको कुरा आफूहरूलाई जानकारी नआएको तर इस्माकै बासीन्दा इस्मामै डाक्टर बनेर आएको शर्मा प्रथम युवा भएको ठोकुवा गरे ।
यसर्थ इस्माले अब सधै डाक्टर पाउँछ
इस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक अन्य ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनेका छन् । केही दिन अघि मात्र पूर्वमन्त्री विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् ।
त्यसअघि दोहोलीमै १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरेका पूर्व मन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको र पाल्पा, बुटवल पठाउनु पर्ने बिरामीलाई जिल्ला अस्पतालमै सुविधा सम्पन्न अस्पताल बनाउन लागिएको उद्घोष गरे ।