प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन
हामी गफ हैन काम गरेर देखाउने संस्थापन पक्ष हौं : नेपाल

लुम्बिनी संवाददाता
बुटवल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कोही व्यक्तिको नभई निरंकुश प्रवृत्तिको विरोधमा सडकमा आन्दोलन भइरहेको बताएका छन् । आफूहरू केपी ओली भन्ने एकजना व्यक्तिको विरोध गर्न नआएको भन्दै गलत विचार, मान्यता, विधिको विरुद्ध न्याय र पक्षमा, समावेशी लोकतन्त्रको रक्षाको वकालत गर्न आएको बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै प्रचण्डले जनताले चाहेजस्तै समृद्धि होस् भन्दै पार्टी एकता र बाम गठबन्धन भएको स्मरण गर्दै उनले त्यसमाथि कुठाराघात भएको बताए । ‘राजनीतिक स्थायित्वको सुरुआत हुनेछ, समानता र समृद्धिको युगतर्फ जान्छौं भन्ने लागेका बेला केपी ओलीबाट सबै सहमति तोड्ने काम भयो,’ उनले भने–‘यसको विरोधमा हामी सडकमा छौं ।’
ओलीको निरंकुशता सोंच दुई महिनामै परास्त हुने दाबी प्रचण्डले गरे । आफैले बनाएको प्रधानमन्त्री, आफैले बनाएको पार्टीको अध्यक्ष सामन्तीको एजेण्ट जस्तो भएर निरंकुश बनेको भन्दै यो प्रवृत्ति अब धेरै नटिक्ने उनले बताए । ओलीले संसद भंग गरेर आफू श्री ३ महाराज बन्ने प्रयत्न गरेको भन्दै अब केही महिनाभित्रै स्वेच्छाचारितको अन्त्य चुट्कीको भरमा निस्तेज हुने बताए ।
‘लुम्बिनी क्षेत्र २१ सय वर्षअघिको राजतन्त्रात्मक क्षेत्र थियो । त्यसलाई अन्त्य गरेको छ । अहिले बुटवलको जमघटले जनआन्दोलनबाट राजतन्त्रलाई जस्तै ओलीको निरंकुशता पराष्त गर्छ,’ उनले भने–‘यो जमघट त्यसैका लागि हो, म तपार्इंहरूलाई सलाम गर्छु ।’
२०५ वर्षको शाहाकाली राजतन्त्र फालेका नेपाली जनताले ओलीको निरंकुशता चुट्कीकै भरमा निष्तेज पार्ने प्रचण्डले जिकिर गरे । मूलुकमा आर्थिक विकास, रोजगारी सिर्जना गर्न सकियोस् भन्दै आफूले प्रधानमन्त्रीको लोभ समेत छाडेर ओलीलाई पाँचै वर्ष खाउन भन्दै सुम्पिएको प्रचण्डले बताए ।
विरोध सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओली काम गर्ने नभई गफ लडाउने नेता भएको आरोप लगाए । अगतिला कुरामात्रै बोल्ने र प्रशंसा खोज्ने प्रवृत्ति भएका ओलीमा तानाशाही सोंच रहेको उनले बताए ।
लोकतन्त्रका लागि भएका आन्दोलनमा गणतन्त्रको पक्षमा बोल्न नसक्ने केपी ओलीले राजा ज्ञानेन्द्रलाई फाल्नु र गोरूगाढा चढेर अमेरिका जाने एउटै रहेको नेपालले टिप्पणी गरे ।
ओलीको त्यतिबेलाको भविष्यवाणी ०६२÷०६३ को आन्दोलनले परास्त गरेको भन्दै अबको चुनाव गर्ने भविष्यवाणी पनि असफल हुने बताए ।
आन्दोलनको नेतृत्व गर्न नसक्ने केपी ओली पछिपछि लतारिने व्यक्ति भएको भन्दै नेपालले ओलीमा गणतन्त्रको पक्षधरता नरहेको बताए ।
आफूहरूले लतारेर नै अहिलेको अवस्थामा पुराएको भन्दै उनले गाली गर्ने प्रवृत्ति छाडेर सुध्रिन आग्रह गरे । अरूलाई अपमान गरेर रमाउने व्यक्ति नेता हुन नसक्ने उनको टिप्पणी छ । बुटवलको सभामा नेताहरू घनश्याम भुसाल, वर्षमान पुन, बामदेव क्षेत्री, ठाकूर गैरेलगायतले सम्बोधन गरेका थिए । सभामा भाग लिन दाङ, कपिलवस्तु, पाल्पा, नवलपरासी रूपन्देहीका कार्यकर्ताहरू बस चढेर आएका थिए ।