नेपाल एयरलाइन्सको बाइडबडी जहाजले माघ १० गते मलेसियाबाट १८ जना नेपाली श्रमिकको शव र एकजनाको अस्तु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । उनीहरूका आफन्तले मृत्यु भएको खबर आएको महिनौ बितिसक्दा पनि पत्याउन नसके पनि बाकसमा लास देखेपछि भावविह्वल बन्न पुगे । कोही मूर्छा परे । रोजगारीका लागि मलेसिया गएका उनीहरूका आफन्तको मृत्यु भने अस्वाभाविक ढंगले भएको छ । किनकि अधिकांशको हिंड्दा हिंड्दै, कुराकानी गर्दागर्दै, बोल्दाबोल्दै तथा सुतेकै अवस्थामा ज्यान गएको थियो ।
मलेसियाबाट मात्र होइन, अन्य देशहरूबाट समेत नेपाली श्रमिको लास दिनहुँ जसो विमानस्थलमा आउने गरेको छ । विदेशमा तत्काल गएका नेपालीको मात्र यसरी मृत्यु हुने गरेको छैन, वर्षौदेखि त्यहाँ रहेकाहरूको समेत अकालमा ज्यान जाने गरेको छ । नेपाली श्रमिक विदेशिनु रहर नभई बाध्यता हो । चरम आर्थिक संकट उत्पन्न भएपछि उनीहरू विदेशिनु परेको छ । स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा लाखौं नेपाली परिवारलाई त्यागेर विदेशिने गरेका छन् । परिवारको पालन पोषणका लागि ऋण काढेर विदेशिनु र त्यहाँ पुगेपछि बाकसमा लास आउनु एउटा परिवारका लागि योभन्दा ठूलो क्षति केही हुन सक्दैन ।
मलेसियालगायत विदेशमा काम गर्न गएका नेपाली युवा श्रमिकको किन यसरी अचानक मृत्यु हुने गरेको छ ? यसबारे खासै अध्ययन भएको छैन । न ती देशहरूले यसबारे खोजी नीति गर्न चासो दिएका छन् न नेपाल सरकारले नै । यसरी युवा अवस्थामै अकालमा ज्यान जानुको कारण पत्ता लगाउन सक्ने हो भने धेरैको जीवन जोगिन सक्थ्यो । धेरै काम गरेका कारण वा मादक पदार्थ बढी सेवन गरेका कारण वा अन्य थुप्रै कारण हुन सक्दछन् । तर कारणको खोजी कतैबाट भएको छैन र परिणामतः दिनहुँ बाकसमा लास आइरहेका छन् । लास मात्र आइरहेका छैनन् ती मृत्यु भएका परिवारजनका सपनाको समेत हत्या भइरहेको छ ।
यसरी दिनहुँ बाकसमा लास आउँदा पनि विदेशिने क्रम रोकिएको छैन । किनकि जो विदेश गएका छन् र जो जान खोज्दैछन् ती बाध्यताले नै हो । स्वदेशमै केही गरिखाने र कमाई गर्ने अवसर भए कसैलाई विदेश जाने रहर हुँदैन । दुःख सुख जे गर्नु परे पनि अथवा जे सहनु परे पनि स्वदेशमा जस्तो आनन्द र सुरक्षित विदेशमा महसुस पक्कै हुँदैन । स्वदेशमा ऐप्याभन्दा कठै भन्नेहरू धेरै भेटिन्छन् । तर, विदेशमा त मरे पनि चासो दिने कोही हुँदैन । राज्यले नै युवालाई केही गर्ने र केही बन्ने अवसर नदिँदा हरेक वर्गका युवा विदेश पलायन भएका छन् ।
वास्तवमा सरकारले विदेशबाट रेमिट्यान्स आएको देखेर सुखद अनुभूति गरेर मात्र पुग्दैन, दिनहुँ विमानस्थलमा बाकसमा आउने लासको बारेमा पनि गम्भीर ढंगले सोच्न जरूरी छ । अर्थात् त्यस्तो अवस्था आउन नदिनु भनेको स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । यस्तो काम आजको भोलि नभए पनि झिल्को भने पर्नै पर्दछ । युवालाई स्वदेशमै आशावादी बनाउनु आजको आवश्यकता हो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नसक्नु राज्यको कमजोरी हो ।