मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन कार्यालयका कर्मचारीहरू हरेक पालिकामा पुगेका छन् । पालिकामा माघ १५ गते मतदाता नामावली प्रकाशन हुनेछ ।
कृष्ण पोखरेल, राधिका भुसाल

पाल्पा,प्यूठान
प्रतिनिधिसभा विघटनसंगै मध्यावधि निर्वाचनको मिति घोषणासंगै जिल्लाहरुमा चुनावी चहलपहल सुरु भएको छ । निर्वाचनका कर्मचारीहरु मतदाता नावामली बोकेर गाउँगाउँमा पुगेका छन् । लुम्बिनी प्रदेशका सबै जिल्लामा चुनावी कार्यक्रम सुरु भएका छन् । सरकारले २०७८ बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेसंगै जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेका छन् ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाले प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका ४ वटै सुरक्षा निकाय तथा राजनीतिक दलसंग निर्वाचनको तयारी तथा सुरक्षाको विषयमा छलफल चलाएको छ । सरकार नीति नियम र निर्देशनअनुसार निर्वाचनको आवश्यक तयारी र सुरक्षाको लागि पहिलो चरणको बैठक गत पुस २४ गते र दोस्रो चरणको बैठक माघ ९ गते बसेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख राजेन्द्र पोखरेलले बताए ।
सर्वदलीय बैठकमा मतदान केन्द्र र स्थल थपघट तथा परिवर्तनको विषयमा छलफल केन्द्रित भएको थियो । विगतका निर्वाचन केन्द्र र स्थललाई यथावत राख्दै आवश्यक स्थानमा नयाँ निर्वाचन स्थल थप्नुपर्ने राजनीतिक दलहरुले माग गरेको छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कँुवरले बताए । निर्वाचन छलफलमा नेकपा दुबै समूहका नेता, नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति र मंगोल अर्गनाईजेशन, पालिकाका प्रमुखहरुको सहभागी भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयले सुरक्षा निकाय तथा सर्वपक्षिय बैठकबाट निर्वाचनको लागि २ वटा क्षेत्रमा २२६ वटा मतदान केन्द र ११८ वटा मतदान स्थल तोकेको छ । आवश्यकताअनुसार मतदान केन्द्रहरु अझै थप्न सकिने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै पालिकाहरुका कर्मचारीलाई पहिलो चरणको तालिम सञ्चालन गरी कार्यस्थलमा खटाएको छ । कार्यालयले सहायक नाम दर्ता अधिकारी नियुक्त गरी पाल्पाका १० वटै पालिकामा कामको लागि खटाएको छ । सहायक नाम दर्ता अधिकारीले पालिकास्तरमा मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोध गर्ने र अन्तिम नामावलीको लागि सिफारिस गर्ने गरी काम सुरु गरेको छ ।
माघ २० गतेसम्म पालिकास्तरबाट अन्तिम मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयमा पठाउने तालिममा सहभागी रम्भा गाउँपालिकाकी सहायक नामदर्ता अधिकारीको रुपमा खटिएकी कल्पना अर्यालले बताइन मतदाता नामावलीको विषयमा छलफल चलाएको, २०७४ सालदेखि पुश ५ गतेसम्म मृत्यु भएका नामावली हटाउने, बिग्रिएको नामावली नागरिताअनुसार सच्चाउने विषयमा वडा वडामा काम भइरहेको सहायक नाम दर्ता अधिकारी अर्यालले बताइन ।
पाल्पामा पुश ५ गतेसम्म १ लाखा ९३ हजार ८५ जना मतदाता रहेका छन् जसमा ९९ हजार चार सय ४९ महिला र ९३ हजार ६ सय ३५ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । पाल्पामा २०७४ साल मंसिरमा भएको निर्वाचनमा दुबै क्षेत्रबाट तत्कालीन नेकपा एमाले विजयी भएको थियो ।
प्यूठानमा चुनावको तयारी सुरु
जिल्लामा मध्यावधि चुनावको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आउँदो बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय प्यूठान निर्वाचनको तयारीमा जुटेको हो ।
निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र मतदानस्थलको अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।
‘बैशाखमा हुने चुनावका लागी सरोकारवालासँग छलफल गर्दै काम गरिरहेका छौँ,’ श्रीवास्तवले भने –‘यही माघ १५ गते जिल्लाका नौ वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिने छ ।’
माघ १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने उनले बताए । कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति छनौटको तयारी समेत थालेको छ । ति कर्मचारीहरूलाई तालिम दिएर स्थानीय तहमा पठाइने स्रोतले जनाएको छ ।
मतदाता नामावलीमा नाम भएका मतदाताहरूको अद्यावधिक गर्ने काम स्थानीय तहमा नै पुगेर गरिने श्रीवास्तवले जानकारी दिए । ‘नयाँ मतदाता नामावली सङ्कलन कार्य गत पुस ५ गतेदेखि नै स्थगित गरिसकेका छौँ,’ उनले भने– ‘गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन् ।’ अहिले जिल्लाभर एक लाख ४८ हजार आठ सय ६० मतदाता छन् । यस्तै जिल्लाभर एक सय ५५ वटा मतदान स्थल निर्धारण गरिएको छ । गत चुनावमा एक सय ५१ मतदान स्थल रहेपनि अहिले चार वटा थप गरिएको उनको भनाइ छ ।