लुम्बिनी संवाददाता
दाङ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको सोमबार उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गरे ।
सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उनले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भने–‘गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।’ उनले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताए ।
उनले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताए ।
राप्ती करिडोरको विकास गरिने
उनले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्यूठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिँचाई सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताए ।
उनले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको र सङ्क्रमण नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी, विमानस्थल र शववाहनमा काम गर्ने सबैलाई खोप लगाइने जानकारी दिँदै पहिलो चरणमा चार लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाइने दृढता व्यक्त गरे ।
सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताका बीचमा जान नचाहनेहरु कायर भएको आरोप लगाए । पार्टीका जिल्ला संयोजक हुकुम बुढाथोकीका अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानाको विकल्प नरहेको बताए । सभाअघि जिल्लाका विभिन्न क्षेत्रबाट जनसमुदायले विभिन्न झाँकीसहित जुलुस प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका थिए ।
प्रधानमन्त्री हेलिकप्टरबाट त्यहाँ पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री आइपुग्दा उनलाई सर्वसाधारणले समेत स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरे । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।
पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।
पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका थिए ।