स्थानीय तह फोहोर व्यवस्थापनमा कमजोर छन् । कर असुल्ने निकायले फोहोर भने उठाउदैनन् ।
राधिका भुसाल

प्यूठान
स्थानीय तहले फोहोर व्यवस्थापनमा चासो नदिँदा शहरोन्मुख क्षेत्रहरू कुरूप देखिएका छन् । शहर बन्दै गरेका पालिकाहरूमा फोहोर व्यवस्थापनको योजना नै छैन् । फोहरकै नाममा कर असुल्ने पालिकाले फोहोर भने नउठाउने गरेको नागरिकको गुनासो छ । यस्तै कुरूप बन्दै गइरहेको नयाँ शहर हो, प्यूठानको जस्पुर ।
जनताले अपेक्षा गरेभन्दा बढी नै सेवा पाइन्छ भन्दै प्रचार गरिएको स्थानीय सरकार फोहोर व्यवस्थापनमा भने कमजोर देखिएका छन् । विभिन्न शिर्षकमा जनताको ढाड सेक्ने गरी कर असुल्दै आएका स्थानीय सरकारले फोहोर व्यवस्थापन गर्न सकेको छैनन् ।
माण्डवी गाउँपालिका ३ जस्पुर बजारमै पालिकाको कार्यालय छ तर, बजार आसपासमा फोहोर डुंगुर थुपे्रको छ । फोहोर व्यवस्थापनमा स्थानीय सरकारले कुनै चासो नदेखाउँदा बजारबासीले आफ्नो घरबाट निस्केको फोहोरलाई जथाभावी नदी, सडकको ढिककुनामा फाल्न थालेपछि बजार दुगन्धित बन्दै गएको हो । जस्पुर बजारको फोहोर व्यवस्थापन लागि पटक–पटक गाउँपालिकालाई अनुरोध गरेपनि पालिकाले बेवास्ता गरेको होटल व्यवसायी संघ माण्डवी इलाकाका अध्यक्ष बसन्त श्रेष्ठले बताए । ‘फोहोरकै विषयलाई लिएर हामी धेरै पटक पालिकामा गयौं,’ उनले भने–‘तर, पालिकाले जुन आशा देखाएको थियो त्यो आजको दिनसम्म पनि पूरा भएन ।’ जस्पुरबाट दैनिक करिब सय किलो फोहोर निस्कने गरेको बताउँदै डम्पीङ साइडको व्यवस्था नहुँदा माडी नदीको किनारमै फोहोर फाल्न बाध्य भएको उनले बताए । गाउँपालिकाको कार्यालय जस्पुरमा आएसंगै मान्छेहरूको चहलपहल बढ्दै गएको हुँदा जथाभावी फालिएको फोहोरले बजारको सौन्दर्यता कुरूप बन्दै गएको उनको भनाइ छ ।
‘हामीले फोहोरलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नु पर्छ,’ जस्पुर बजार व्यवस्थापन समितिका अध्यक्ष लव अधिकारी भन्छन्–‘अलि कति मात्र फरक ढंगले सोचेर काम गरियो भने फोहोरलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ र फोहोरलाई मोहोरमा बदल्न पनि सकिन्छ ।’ उनले भने–‘समाजमा स्मार्ट व्यक्ति बन्नका लागि फोहोरको स्मार्ट व्यवस्थापन गर्नु पर्छ ।’
विवेक र चेतना भएको मान्छे जहिल्यै फोहोर मैला व्यवस्थापनमा पनि स्मार्ट हुने उनको तर्क छ । फोहोर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा समेत पालिकाले आफुहरूको गुनासो नसुनेकोमा दुखेसो पोखे ।
छ महिना चलेनन सिसी क्यामेरा
माण्डवी गाउँपालिकाले आफ्नो पालिकालाई प्रविधि मैत्री पालिका बनाउने नारासहितलाई सार्थकता दिन लाखांै रकम खर्चेको छ । तर, सोंचे जस्तो परिवर्तन भने देख्न पाइदैन । माण्डवी गा.पा. ३ जस्पुर बजारमा जोडिएका सिसी क्यामेराहरू लामो समयदेखि बन्द भएका छन् । घरका भित्तामा टाँसिएका क्यामेराहरूले चित्र नै खिच्दैनन् । सुरक्षाको हिसाबले महत्वपूर्ण मानिएका ति क्यामेराहरू अहिले जिर्ण अवस्था रहेको स्थानीय व्यवसायी एवं होटल व्यवसाय संघ प्यूठानका सह–सचिव खेम बस्नेतले बताए ।
‘सिसी टिभी जडान गरिएको मनिटर कहाँ राखिएका छन् हामीलाई अत्तोपत्तो छैन,’–बस्नेतले भने–‘कि त ति क्यामेराहरू सुचारू हुनु प¥यो होइन भने स्थानीयको रोहबरमा सम्बन्धित ठाउँमा बुझाउने प¥यो ।’ ति जोडिएका क्यामेराहरू करिब ६ महिना मात्रै चलेको बताउँदै दुइ वर्षदेखि ति क्यामेरा बिग्रेको अवस्थामा टाँसिएको बताए । जनताको ढाड सक्ने गरी कर असुली गरेर खरिद गरेका सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारले गर्न नसकेकोमा आक्रोस पोखेका छन् । जस्पुर बजार क्षेत्रमा ५ वटा सिसी क्यामेरा जडान गरिएको बताउँदै अहिले एउटा पनि क्यामेरा सुचारू अवस्थामा नरहेको बताए ।
उता माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले अब तुरून्तै फोहोर व्यवस्थाापन गर्ने बताए । ‘जस्पुरबासीको गुनासोलाई सम्बोधन गर्न ढिला भएकै हो,’– अधिकृत रिजालले भने–‘फोहोर फाल्ने स्थान छनौट नहुँदा समस्या भएको थियो अहिले सम्भावित ठाउँ भेटाइ सकेका छौं ।’ पालिकाले फोहोर उठाउने ट््याक्टर पनि खरिद गरिसकेको रिजालले बताए । फोहोर व्यवस्थापन गर्नका लागि चार लाख बजेट विनियोजन भएको समेत उनले जानकारी दिए ।
यससंगै जस्पुरमा जोडिएका सिसी क्यामेराहरू सबै बिग्रीसकेको हुँदा पुरानो मर्मत गर्नुभन्दा नयाँ खरिद गर्दा सस्तो पर्ने भएकाले सिसी क्यामेरा मर्मत नगरेको उनले बताए ।