भारतको उत्तरखण्ड राज्यमा १९ वर्षीया किशोरी मुख्यमन्त्री भएकी छन् । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामी २४ जनवरी अर्थात् आइतबार एक दिनका लागि मुख्यमन्त्री बनिन् । गोस्वामीलाई उत्तरखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाएको हो । उनलाई राष्ट्रिय बालिका दिवसको अवसरमा मुख्यमन्त्री बनाइएको हो । उनी भारतको उत्तरखण्ड राज्यको इतिहासमा पहिलो महिला मुख्यमन्त्री भएकी छन् । यद्यपि यो प्रतिकात्मक हो र उनले बालविधानसभा सत्रमा मुख्यमन्त्रीको रुपमा सरकारका विभिन्न विभागका कार्यको जानकारी लिएकी छन् ।
उत्तरखण्ड राज्यमा गोस्वामीलाई किन एक दिनका लागि मुख्यमन्त्री बनाइयो ? यो धेरै अर्थमा महत्वपूर्ण र प्रतिकात्मक छ । यसको मुख्य उद्देश्य भनेको किशोरी र महिलाको सशक्तिकरणको विषयमा जागरुकता फैलाउनु रहेको छ । अर्काेतर्फ युवाहरूले पनि प्रशासनिक क्षेत्रको महत्वपूर्ण ठाउँमा बसेर आम मानिसको सेवाका लागि राम्रो काम गर्न सक्छन् भन्ने सांस्केतिक मनोविज्ञान तयार गर्नु रहेको छ । छोरीले पनि केही गर्न सक्छन् भन्ने संकेत दिइएको छ ।
नेपाल, भारतलगायतका राष्ट्रहरूमा अहिले पनि महिलामाथि विभेद छ । शोषण अत्याचार छ । दिनहुँ हिंसा र बलात्कारका घटना घटिरहेका छन् । उनीहरुलाई शिक्षा दीक्षाबाट वञ्चित गराउने कार्य अहिले पनि जारी छ । महिलाले चुलो चौको बाहेक अरु काम गर्न सक्दैनन् भनेर हेयका दृष्टिले हेर्ने संकीर्ण सोंच समाजमा जीवित छ । यस्तो अवस्थाको अन्त्यका लागि भारतको उत्तरखण्ड सरकारले सांकेतिक रूपमा एक दिनका लागि किशोरीलाई मुख्यमन्त्री बनाएको छ । महिलाले पनि सरकार सञ्चालन गर्न सक्छन् भन्ने सन्देश यस कार्यले दिएको छ ।
एक दिनको मुख्यमन्त्री हुनु वा नहुनुले सरकारका लागि खास अर्थ नराख्ला तर भारतलगायत छिमेकी देशका किशोरी एवं महिलालार्ई यस प्रकारको सांकेतिक कार्यले हौसला प्रदान गर्न सक्दछ । समाजमा जागरण नल्याएसम्म देशको समग्र क्षेत्रको विकास सम्भव छैन । त्यसमा पनि किशोरी र महिलाहरुलाई जागरुक नबनाएसम्म समग्र विकासको परिकल्पना कोरा कागजमा सीमित हुन जान्छ । अब विकासको नेतृत्व युवा पुस्ताले गर्नुपर्दछ र त्यसको लागि नेतृत्व लिन तयार हुनुपर्दछ भन्ने सन्देश पनि यस घटनाले दिएको छ ।
नेपाल, भारतलगायतका क्षेत्रका महत्वपूर्ण पदहरूमा पुरुष हावी छन् । त्यसमा पनि नेपालका महत्वपूर्ण पदहरूमा पुरुष धेरै छन् । फेरि त्यस्ता पदहरूमा नयाँ मान्छे कम र पटक–पटक ‘टेस्टेड’ व्यक्ति धेरै छन् । जसका कारण सिर्जनात्मक काम हुन सकिरहेको छैन । यस्ता पदहरूमा युवा नेतृत्वलाई अवसर दिनुपर्दछ भन्ने मनोविज्ञान भारतको उत्तरखण्ड राज्यको एक दिनको लागि मुख्यमन्त्री बनाइएको यस घटनाले पैदा गरेको छ । कतिपय सांस्केतिक कार्यको ठूलो महत्व रहने भएकाले नेपालले पनि यस्ता कार्यबाट पाठ सिक्न जरूरी छ ।