प्रेम सुनार
गुल्मी
गत असोज २० गत गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३, पालुका घर्तीफाँटका २३ वर्षीय मोतिबहादुर कँुवरको वारि छिनुवास्थित आफ्नै रेष्टुरेण्टमा रातिको समयमा अज्ञात समूहबाट निर्मम कुटपिटबाट विभत्स हत्या भयो । टाउको र शरीरमा डरलाग्दा चोटहरूसहित रेष्टुरेण्ट भित्र रगतको पोखरीमा डुबेको शवको प्रहरीले मुचुल्का उठाएको थियो । उक्त हत्या काण्डको अहिले पाँच महिना बित्नै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।
२०७७ मंसिर १० गते गुल्मीकै रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ४ मा एक बालिकालाई भारतमा बेचबिखन गर्न लगेको अभियोग लागेका रामप्रसाद चुँदाली गाउँमै रहेको तर प्रहरीले पक्राउ गर्न नसकेको आरोप स्थानीयले लगाएका छन् ।
२०७७ भदौ ३ गते गुल्मीकै मुसिकोट नगरपालिका वडा नम्बर २ का एक जना पाको उमेरको पुरूषले पाँच वर्षीय अवोध बालकलाई अप्राकृतिक मैथुन गराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको थियो । ती पुरूषलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
गत पुष २३ गतेका दिन सदरमुकाम तम्घासमा झारफूक गर्ने धामी रामप्रसाद श्रेष्ठ र उनकी श्रीमती शान्तिला श्रेष्ठले इस्मा गाउँपालिका ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर कुमाललाई तातो पन्युले डामेर ज्यान लिए । उनीहरू दुई जनालाई प्रहरीले पक्राउ गरे पनि ती धामीका मुख्य गुरु मानिएका अर्का धामी बुटवल रहेको र बेला बेलामा प्रशिक्षित गर्न उनी तम्घास आउनेजाने गरेको बताइन्छ । यही माघ ३ गते रेसुङ्गा नगरपालिका वडा नम्बर १४ पराल्मी रातामाटामा दिन दाहडै अज्ञात व्यक्तिले भरूवा बन्दुक प्रहार गरी ४७ वर्षीय तुलबहादुर बिकको ज्यान लिए । ‘त्यस दिन दिउँसो साढे दुई बजेको समयमा श्रीमान श्रीमती अलिपर जंगलमा घाँस काट्न गएका थियांै,’ मृतककी श्रीमति गीता बिकले भनिन् –‘श्रीमान अलि तल खोल्सामा जानु भएको थियो म माथि नै थिए एक्कासी बन्दुकको आवाज आयो श्रीमान अईया भन्दै चिच्चाउनु भएको सुनेर अरूलाई फोन गरेर गुहार मागेकी हुँ ।’ स्थानीय एक परिवारका सदस्यले बन्दुक हानेर श्रीमानको हत्या गरी दिएको आशंका छ उनीमा । ‘केही महिना अघि ज्यान मार्ने धम्की आएको थियो,’ उनले थपिन –‘श्रीमानको हत्या भएको एक हप्ता बित्दा पनि हत्या गर्ने मान्छे पत्ता लाग्न सकेन, हामीले गुहार पाएनौं ।’
रेसुङ्गा वन क्षेत्रमा शिकार खेल्न जानेहरूको बिगबिगी बढेको भन्दै रेसुङ्गा धार्मिक क्षेत्र भौतिक संरचना निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र जिल्ला प्रहरी प्रमुख एसपी प्रविन श्रेष्ठको ध्यानाकृष्ट गराएका छन् ।
पुस २४ गते दिउँसो करिव साढे १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय नजिकै करिव ५० मिनेटको दुरी चिदिचौरमा महेन्द्र नमूना माविका एक जना विद्यार्थी केही युवाहरूको जत्थाबाट निर्घात कुटिए ।
पारिबाट प्रहरीले हेर्दाहेर्दै कुटिदा उनी मरणाशन्य भएर ढले । उनी थिए कक्षा ११ मा अध्ययनरत इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौरका १९ वर्षीय विद्यार्थी माधव पछाई । उनको उपचार पाल्पा प्रभास अस्पतालमा पनि सम्भव नभएपछि काठमाडौं पुराइयो । उनले रेसुङ्गा नगरपालिका वडा नम्बर १ का रोहित गुरूङ्ग, सन्देश श्रेष्ठ, रीतेश भलामी, आइस पाण्डेबाट कुटाई खाएको प्रहरी बताउँछ । तीमध्ये दुई जना मात्रै पक्राउ परे ।
सुरक्षाकर्मीको बाग्ले उपस्थिति रहने ठाउँ मै दिनदाहडै मानिसहरू असुरक्षित हुनु, र अन्य हत्या घटनाका अपराधी पक्राउ गर्न नसक्नु लज्जाको विषय भएको भन्दै प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र प्रहरी प्रमुख एसपी प्रविण श्रेष्ठको ध्यानकृष्ट गराउन नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समूह) गुल्मीका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ‘छिनुवा हत्या काण्ड भएको पाँच महिना पुग्दा पनि हत्यारा पत्ता लाग्दैन । प्रहरीकै सामु मानिसहरू निर्घात कुटिन्छ । ‘जंगलमा बन्दुक चल्छन्, मान्छे मारिन्छन् । सदरमुकाम भित्रै धामीहरूले मान्छे डामेर मार्छन्,’– नेकपा प्रदेश कमिटी सदस्य बुद्धि जिसीले भने– ‘पछिल्लो चरण सुरक्षा व्यवस्था कम्जोर भएको पाईएपछि गम्भीर ध्यानकृष्ट गराउन आएका हौं ।’
नेकपा गुल्मीका अर्का नेता गणेश श्रीपालीले मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय एक वर्ष मै तीन पटक तोडफोड गरी चोरी हुनु, कसैको बारीको केरा काटिनु त्यस्तै केही दिनअघि इस्मा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय फोडेर चोरी हुन तर दोषी पत्ता नलाउनुले सुरक्षा व्यवस्था फितलो भएको प्रति प्रहरी प्रशासनको ध्यान जानु पर्नेमा जोड दिए ।
उता मालिका मदाने गाउँपालिकाको वन क्षेत्रमा चोरी शिकारी गर्न बन्दुक नपड्कने गरेको कुनै दिन र रात नभएको प्रति पनि नेताहरूले ध्यानकृष्ट गराए । सो पार्टीका विद्यार्थी नेता राजेन्द्रविक्रम कुँवरले पनि सुरक्षा व्यवस्था कम्जोर भएकोले प्रशासनको ध्यान जानु पर्नेमा जोड दिए । जिल्लामा दर्जनौ स्थानमा निर्वाद रूपमा अवैध क्रसर उद्योग सञ्चालन भई रहँदा पनि प्रशासनको ध्यान नगएको, विकास निर्माणको क्षेत्रमा कमिशन तन्त्र मौलाएको लगायतका विषयमा पनि प्रहरी प्रशासनको ध्यान जानु पर्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेको आग्रह थियो । प्रहरी प्रमुख श्रेष्ठले हत्यामा संग्लनहरूको खोजी कार्य भइरहेको र डेलिगेशनमा पुगेको टोलीले उठाएका अन्य कुराहरूमा पनि आफुहरूको ध्यान जाने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी शर्माले पछिल्लो चरण जिल्लामा केही अनौठा प्रकृतिका घटनाहरू घटेको प्रति चिन्ता जाहेर गर्दै उठाएका विषयहरूमा गम्भीर रहने प्रतिबद्धता जनाइन् ।