बुटवल । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानको मर्मलाई बुझेर मात्रै फैसला आएमा संविधान र मूलुकको रक्षा हुने बताएका छन् ।
नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बिहीबार बुटवलको ट्राफिकचोकमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता थापाले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता थापाले प्रतिनिधिसभा विघटनबारेको मुद्दामा कुनै पनि हल्ला र दबाबको प्रभावमा नपरी संविधानअनुसार फैसला गर्न न्यायाधीशहरूलाई आग्रह गरे ।
संविधानको रक्षाको जिम्मा सर्वोच्चमाथि गएको भन्दै सडकमा भइरहेको हल्ला र बन्द कोठाभित्रको खासखुसले प्रभाव पार्न नहुने उनको भनाइ छ । उनले संविधानको कुनै पनि धारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको दाबी गरे । ‘हामीले नशामा लठ्ठ भएर लेखेको हैन, हाम्रो अनुभवका आधारमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन भनेर लेखेका छौं ।’– थापाले भने ।
बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने तर्क अदालतमा भइरहेकोप्रति इंगित गर्दै थापाले बहुमत प्राप्त भन्दैमा प्रधानमन्त्रीले संसदको घाँटी निमोठ्न नपाउने बताए । उनले प्रजातान्त्रिक मूलुकहरूका संविधान हेरेर, पढेर र आफ्नै मुलुकको अनुभवकै आधारमा संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरेको उल्लेख गरे ।
संविधानको धारा ७६ अनुसार कमजोर प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके वा संसदमा बहुमत प्राप्त गर्न नसकेको अवस्थामा मात्रै विकल्प खोज्न सकिने उनको भनाइ छ ।
उनले संसद विघटन असंवैधानिक मात्रै नभई अनधिकृत र अराजनीतिक भएको बताए । नेपालमा बहुमत प्राप्त प्रधानमन्त्रीले कुनै पनि बहानामा, कुनै पनि नाममा, कुनै पनि कारणमा संसदलाई छुनै नपाउने उनले दाबी गरे ।
उनले प्रधानमन्त्रीले आफूमाथि समस्या आउनसक्ने सम्भावनालाई हेरेर अर्कै तर्क स्थापित गर्न खोजेको बताए । बहुमत चाहिएकाले यो संसद भंग गरेको हुँ भन्ने प्रधानमन्त्रीको तर्क ढाँट र छलकपटको पराकाष्ठा रहेको थापाको जिकिर छ । मसँग ६४ प्रतिशतको साथ छ भन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नुको औचित्य पुष्टि गर्नै नसकेको उनले दाबी गरे । आफूलाई कोभिडमा काम गर्न नदिएकोले संसद भंग गरेको भन्ने प्रधानमन्त्रीको भनाइ पनि नाजायज रहेको भन्दै थापाले प्रधानमन्त्रीले खोपकेन्द्र बनाउनुपर्ने ठाउँमा मतदान केन्द्र बनाएर हिंड्न लागेको बताए ।
प्रधानमन्त्रीको अहिलेको कदमले भविष्यमा प्रधानमन्त्रीहरूले सनककै भरमा संसद भंग गर्न पाउने अवस्था आउने थापाले बताए ।
कार्यक्रममा कांग्रेस नेताहरू हरि लम्साल, खेलराज पाण्डे, विमलराज भट्टराई, ज्योति भण्डारीलगायतले बोल्दै प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको आन्दोलन अरू चर्किदै जाने बताएका थिए ।
देशभरका ६ हजार सात सय ४३ वडाहरूमा बिहीबार विरोध प्रदर्शन आयोजना भएको कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरिसकेको छ ।