रामकुमार श्रेष्ठ
नवलपुर
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेको नगर चक्रपथ निर्माणमा ढिलाइ भएको छ ।
नगरपालिकाको सीमित बजेट र प्रदेश तथा संघीय सरकारबाट नगरचक्रपथ निर्माणमा बजेट नपर्दा निर्माणमा ढिलाई भएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा कावासोती नगरपालिका ४ मा १७ सय मिटर सडक पिच गरेर सुरु गरिएको नगर चक्रपथ आर्थिक वर्ष २०७५÷०७६ मा कहाँबाट बजेट विनियोजन गर्ने भनेर अलमल हुँदा एक वर्ष पुरै रोकिएको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ मा नगरचक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारबाट बजेट आउने आशमा नगरपालिकाले चक्रपथमा बजेट विनियोजन नगर्दा १ वर्ष त्यसैखेर गएको थियो ।
पछिल्लो दुई आर्थिक वर्ष पनि कावासोती नगरपालिकाले अत्यन्तै कम बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा ५ वटा वडामा ८ सय २० मिटर पक्की बाटो निर्माण गर्न प्रति वडामा १ करोडको दरले पाँच करोड विनियोजन गरिएको थियो भने यस वर्ष ८ वटा वडामा ५० लाखदेखि ६५ लाखको दरले चार करोड ९० लाख रुपैयाँ नगर चक्रपथ निर्माणका लागि बजेट विनियोजन गरिएको कावासोती नगरपालिकाका इञ्जियिनर निरज दाहालले बताए । गत वर्षको निर्माण कोभिड–१९ का कारण केही ढिलो भएकोले यस वर्षको पुस मसान्तसम्म निर्माणका लागि सम्झौता अवधि बढाइएको र यस वर्ष प्रत्येक वडामा ७ सय मिटरको दरले बाटो पिच गर्ने गरी काम अगाडि बढिरहेको इञ्जिनियर दाहालले बताए ।
कावासोती नगरपालिका वडा नं. १, ३, ४, ५, १०, ११, १२, १५, १७ जोड्ने गरी ५५ किलो मिटर लामो सडक करिब ६० करोडको लागत स्टेमेटमा निर्माण सुरु गरिएको इञ्जियनिर दाहालले बताए ।
कावासोती नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनु पूर्वदेखि नै नगरचक्रपथ निर्माणको योजना नगरपालिकाले अगाडि सारेको थियो भने निर्वाचित जनप्रतिनिधिहरूले यो योजनालाई मूर्तरूप दिन बजेट विनियोजन सुरु गरेको थियो । कावासोती नगरपालिकाका महत्वकांक्षी योजनामध्येको एउटा योजना नगरचक्र पथ निर्माण कार्य भने जसले सुरु गरेको हो उही जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पुरा हुँदासम्म पनि सक्नेमा जनप्रतिनिधि नै ढुक्क छैनन् ।
कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले बहुवर्षीय योजनाअन्तरगत भएको कारण निर्माण कार्य विस्तारै हुने बताए ।
कावासोती नगरपालिकाको नगरचक्रपथ निर्माण सम्पन्न भए कावासोती नगरपालिकाको हरेक वडा सडक सञ्जालमा जोडिने थियो ।