नेपालमा विकास निर्माणका लागि थुप्रै परियोजना सञ्चालित छन् । त्यसमध्ये कतिपय पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् भने कतिपय अलपत्र अवस्थामा छन् । पछिल्लो समय देशैभर थुप्रै पूर्वाधार निर्माणका परियोजना धमाधम शिलान्यास भइरहेका छन् । परियोजना शिलान्यास हुने तर निर्माण कार्य समयमै नहुने कतिपय घटनाले सर्वसाधारणलाई शिलान्यासप्रति विश्वास गुम्न थालेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले झन्डै दुई वर्ष अघि नयाँ जिल्ला पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाको नमूना सदरमुकाम शिलान्यास गरेका थिए । तर दुई वर्ष बित्दा पनि भैतिक पूर्वाधार निर्माण सुरु हुन सकेको छैन ।
कावासोती नगरपालिका–३ मा ज्योतिकुञ्ज सामुदायिक वन भित्र रहेको १ सय ८६ विगाह चौर र वन क्षेत्रलाई नमूना सदरमुकाम बनाउनका लागि नेपाल सरकरको नाममा लालपूर्जा ल्याएर निकै तामझामका साथ नमूना सदरमुकामको शिलान्यास गरिएको थियो । एकिकृत रुपमा एकै ठाउँमा जिल्ला स्थित सरकारी कार्यालयहरु हुँदा सेवाग्राहीहरुले एकै ठाउँबाट सबै काम पूरा गर्न पाउने र छिटो छरितो समेत हुने भनेर नमूना सदरमुकामको अवधारणा अगाडि सारिएको थियो । नवलपुर नयाँ जिल्ला भएसंगै अहिले कावासोती नगरपालिका र यस आसपासको क्षेत्रमा तीन दर्जन बढी जिल्लास्तरका सरकारी कार्यालयहरु स्थापना भइसकेका छन् । यसमध्ये अधिकांश कार्यालय भाडामा बस्न बाध्य छन् ।
शिलान्यास भएको दुई वर्षसम्म काम प्रक्रियामै छ भनेर सन्तोष मान्नु पर्ने अवस्थालाई किंमार्थ राम्रो मान्न सकिंदैन । विदेशी राष्ट्रहरुले महिना दिनमै ठुला–ठुला भवन निर्माण गर्न सक्ने सामथ्र्य राख्दछन् । तर नेपालमा झन्झटिलो प्रक्रियाको नाममा निर्माण कार्य थला पर्ने गरेको छ । थुप्रै परियोजना शिलान्यास हुने, शिलान्यास गर्न नेताहरु मरिहत्ते पनि गर्ने तर शिलान्यासपछि के–कति कारणले निर्माण हुन सकेन भनेर चासो नराख्दा चरम लापरबाही बढेर गएको छ । कतै कागजी प्रक्रियाले रोकिएको हो भने शिलान्यासकर्ताहरुले समेत त्यसमा पहल लिनु पर्दछ । त्यो उनीहरुको पनि दायित्व भित्र पर्दछ ।
नेपालमा शिलान्यास भएर वर्षौंसम्म एक बित्ता काम नभरएका थुप्रै परियोजना छन् । तर ती परियोजनाबाट पाठ सिक्ने काम कहिल्यै हुन सकेन । निर्माण गर्न सकिंदैन वा समयमै काम फक्ते हुँदैन भने त्यस्ता आयोजनाको शिलान्यास गरेर राष्ट्रले के पाउँदछ ? नेताहरु प्रचारमुखी काममा होइन, परिमाणमुखी काममा लाग्नु पर्दछ ।
नवलपुरमा निर्माण गर्ने भनिएको नमूना सदरमुकाममा पूर्वाधार निर्माणको काम के–कति कारणले हुन सकेको छैन भन्ने कुराको खोजीनीतिसम्बन्धित सरोकारवाला निकायले तत्काल अनुसन्धान गर्न जरुरी छ । शिलान्यासखाले विकासले जनतालाई निराश तुल्याउनु बाहेक केही गर्दैन । यस्ता प्रवृत्ति जनताको विकासको चाहना विपरित छ । जनताको सेवालाई सर्वोपरी राखेर पूर्वाधार निर्माणका काम समयमै सम्पन्न गरिनु पर्दछ ।