कलमहरू
जब धर्म बिर्सन्छन्
देशको सेतो भविष्य पानामा बमन गर्न थाल्छन्
तब अस्ताउँछ युगको उज्यालो अस्तित्व
अन्धकारले राज गर्छ ।

कित्ताकाट

आरोप छ दाहिने हातलाई
प्रतिगमनको कथा लेखेको ।

देब्रे हातलाई आरोप छ
अग्रगामी काव्य लेख्ने
कलम भाँच्न खोजेको ।

औँलाहरू कोहि दाहिनेबाट देब्रेमा
कोहि देब्रेबाट दाहिनेमा सर्ने
अप्राकृतिक अभ्यासमा छन् ।

सभ्यताको इजलासमा
पश्चगमनका नायकहरू
अट्टाहस गरिरहेछन्
उनीहरूलाई औधी मनपरेको छ
समयको यो कुरुप रंगमञ्च ।

लेख्नुपर्ने हो कलमले खुसी र समृद्धि,
कोर्नु पर्ने हो सुनौलो युगको नक्सा ।
तर,
हातमा आएपछि शक्तिशाली कलम,
मस्तिष्कहरू दम्भमा रुमल्लिँदारहेछन् ।
सायद यसले भुलाइदिन्छ,
गन्तव्यको ठेगाना
र त कलम बाध्य हुन्छ,
कालो बराबर सेतो लेख्न ।
दुई जोड दुई पाँच लेख्न ।
जहाँ हराउँछ विधि, पद्धति र इमानको हिसाबकिताब ।

कलमहरू
जब धर्म बिर्सन्छन्
देशको सेतो भविष्य पानामा बमन गर्न थाल्छन्
तब अस्ताउँछ युगको उज्यालो अस्तित्व
अन्धकारले राज गर्छ ।

यहाँ शक्तिशाली कलमहरू
कहिल्यै मिल्न जानेनन् ।
यिनीहरू कहिल्यै बस्न सकेनन्
फराकिलो चित्तको साझा भूगोलमा ।
कस्तुरीले आफ्नै बिना भेट्न नसकेझैँ
यी कलमधारीहरूले जान्नै सकेनन
कलमको प्रयोग ।
आजकाल फेरि कलमहरू
कित्ताकाटको अंकगणितमा व्यस्त छन् ।
कसको कलम ठूलो ?
कसको कलम शक्तिशाली ?

टाउकाहरू

देशका टाउकाहरू
जब मनोमानीको भेल बग्छन्
म विघ्न दुख्छु
देश दुख्छ छातीभित्र ।

जब मनोमानीको पानी
मेरो शीरमाथी आउन खोज्छ, आउँछ
प्रायःजसो म आत्तिन्छु, छट्पटिन्छु र चिच्याउँछु
म काँप्छु थरथर
मानौं मभित्र भुकम्पको भिमकाय संस्करण छ ।
तर यो भुकम्पले
कतै छुँदैन टाउकाहरूलाई
निमेषभर हल्लिदैनन् टाउकाहरू
बरु कहिलेकाँही
ढोंग गरेको आरोपमा
म घोँचिन्छु
उनीहरूकै काँडाजस्ता रौँहरूबाट ।

मनोमानीका बेहिसाब शृङ्खलाहरूबीच
म सम्झन्छु
सम्भावनाका असीमित आयाम
गर्विलो इतिहासको फराकिलो छाती
अनि स्वदेश गानका पंक्तिहरू ।
र फेरि दुख्छु वेदनाको युगीन नियति ।

यतिखेर म फेरि दुखेको छु प्रायःजस्तै
म यसै भन्न सक्दिन
म जस्तै अरु को–को दुखेका छन् ।
तर मलाई यो थाहा छ
म जस्तै, मसँगै, म जत्तिकै
सायद म भन्दा अझ धेरै
यो देशको माटो दुखिरहेको छ ।