रुद्र ज्ञवाली

एघार दिन अस्पतालमा बस्दा कुनै पनि कर्मचारी, डाक्टर वा नर्सिङ् स्टाफहरू, झर्केको, कड्केको आवाज सुन्नु परेन । उनीहरू मध्ये केही आफै पनि संक्रमित भइसकेकाले आफ्ना अनुभव सुनाएर आत्मबल बढाइरहन्थे ।

सन २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेर विश्वलाई नै संत्रस्त बनाइरहेको कोभिड १९ को संक्रमण अन्ततः म मार्फत मेरै घरमा पनि प्रवेश गर्यो । यसले घरमा उपस्थित सबैलाई संक्रमित गरेरै छोड्यो ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण पुष्टी भए पश्चात् सरकारले २०७६ चैत्र ११ गतेदेखि देशैभर लकडाउनको घोषणा गर्यो । लकडाउन २०७७ साल जेठ ३२सम्म कायम रह्यो । यस अवधिमा सञ्चार माध्यम र सामाजिक सञ्चालले कोरोना संक्रमणको विभत्स र कुरुप तस्वीर प्रस्तुत गर्न थाले । रछ्यानमा हलक्क हुर्केको विरुवा जस्तै सामाजिक सञ्जालमा हल्लाका खेती द्रूततर गतिमा मौलाउन थाले । केही टिभी च्यानलले त संक्रमित र मृतकको विवरण घण्टा–घण्टामा सुनाउन थाले । जसले सामान्य मानिसको मानसिकतामा नराम्रो असर गर्यो ।


जीवनको गति सधै रोक्न सकिदैनथ्यो । रोकिएन । लकडाउन खुल्यो । कोरोना हाम्रो समाजको अभिन्न हिस्सा बनेर हामीसँगै विचरण गरिरह्यो र यसैक्रममा म पनि यसको चपेटामा परें ।

२०७७ मङ्सिर २६ गते शुक्रबार एउटा विवाहमा सामेल हुनु पर्ने भएकाले कार्यालयबाट बिदा लिएको थिएँ । नुहाउने क्रममा एक दुई पटक हाच्छिउँ आए पनि त्यस्तो असामान्य केही थिएन । संक्रमणको जोखिमलाई ध्यानमा राखेर एकजना मित्रको निजी सवारीमा विवाहस्थलमा पुगी भोजन पश्चात तुरुन्तै घर फर्कियौं । त्यसै दिन साँझपखबाट नाकको भित्रीभाग चिलाएजस्तो हुन थाल्यो । क्रमशः शरीर रन्के जस्तो हुन थाल्यो । ज्वरो नाप्दा ९८.५ हुन्थ्यो तर शरीरको भित्र आगो बालेजस्तो अनुभव हुन थाल्यो । आठदश पटक हाच्छिउँ आएपछि नाकमा केही हलुका भएजस्तो भयो । मलाई बेला बेला एलर्जीले सताउने भएकाले यसलाई पनि नियमित एलर्जी होला भन्ने अनुमान गरे पनि ज्वरो नचढोस् भनेर एउटा सिटामोल खाएर सुतें ।

रातीदेखि नै टाउको भारी हुन थालेको थियो । मस्तिष्क रन्केको थियो । भोलीपल्ट ज्वरो नाप्दा ९९.५ थियो । बिहान वाफ लिने, गुर्जो लगायतका स्थानीय जडिबुटीका चिया बनाएर सेवन गर्ने गर्दा पनि खासै फाइदा गरेन । शरीरभरि आगो लगाए जसरी पोल्न थाल्यो । शरीरका जोर्नी जोर्नीमा कुनै वस्तुले अँठ्याए जस्तो हुन थाल्यो । मसलहरू कुनै जनावरले लुछेको हो कि जसरी दुख्न थाल्यो । खाना पश्चात सिटामोल र घरेलु परम्परागत ओखती खाँदै रहें । ज्वरो क्रमश बढेर १०१ पुग्यो । छातीमा कुनै गरुङ्गो वस्तु राखेको जस्तो लागिरहेको थियो । छोरी आसमा स्वास्थ्यकर्मी भएकीले मलाई निगरानी गरिरहेकी थिइन । पिसिआर गराउने कि भन्ने सल्लाह भयो ।

त्यसदिन पनि आजलाई विचार गरी हेरौं भनेर सिटामोल मात्रै खाएर सुतें । भोलीपल्ट ज्वरो केही मत्थरिए जस्तो भएको थियो । तर खानामा अरुची थियो । कोरोना संक्रमण हुँदा गन्ध र स्वाद हराउँछ भन्ने पढे सुनेको थिएँ । विचार गर्दा अमिलो, पिरो, नुनिलो स्वाद आयो । तर कागतीको वासना आएन । सुनिश्चित गर्न सुन्तलाको बोक्रा नाकमा लगेर निचोरेंं । अहँ वासना वा गन्ध छैन । छँदै छैन ।

खाना खाएर २.५ कि.मी टाढा रहेको स्वाव संकलन केन्दमा पैदल नै गएँ र स्वावको नमूना दिएँ । लक्षणहरूको आधारमा कोरोना संक्रमण हो भन्ने निक्याैल भएको थियो । घर आएपछि छोरीले डाक्टरसँग सल्लाह गरेर कोभिड संक्रमितलाई चलाउने औषधी चलाउन शुरु गरिन । साँझ मोवाइलमा परीक्षणको नतिजा पोजिटिभ रहेको सन्देश आयो । यो सन्देश अपेक्षित रहेको र यसलाई व्यहोर्न मानसिकरुपमा तयार रहेकोले त्यसको खासै असर परेन । दिनको तिनपटक सिटामोल, एन्टिवायोटिक, जिङ्क, भिटामिन लगायतका घरेलु जडिबुटीको सेवनले ज्वरो नियन्त्रणमा आयो ।

सबै सामान्य रूपमा चलिरहेको थियो । म एसिडिटी, उच्चरक्तचाप, मधुमेहको बिरामी भएकाले उच्च खानपानमा उच्च सतर्कता अपनाइएको थियो । केही परिहाले आकस्मिक उपचारको सहजताको लागि घरमै अक्सिजन लगाउने व्यवस्था मिलाइएको थियो । घरमा ब्लडप्रेसर नाप्ने र मधुमेहको लेवल जाँच्ने उपकरण उपलब्ध थिए । त्यस बाहेक इमरजेन्सीका आवश्यक ओषधी पनि घरमै थियो । एक किसिमले घरनै अस्पताल जस्तो भएको थियो । अरुमा संक्रमण नफैलियोस् भनेर म आइसोलेटेड हुन खोज्थें । तर आमा छोरीले त्यो हुनै दिएनन् । उनीहरू जतिबेला पनि मसँगै थिए ।

श्रीमतीलाई पनि कपाल भारी हुने, आँखा पोल्ने र मन्द ज्वरो आएजस्तो हुन थालेपछि उनीहरूको स्वाव परीक्षण गर्दा श्रीमतीको पाजिटिभ र छोरीको नेगेटिभ नतिजा आयो । तर पनि सबै ठिकठाकै चलिरहेको थियो । म बिहान नित्य मर्निङ वाक गर्ने र करिब एकघण्टा योग प्रणयाम गर्ने गर्छु । संक्रमित भएपछि प्रातः भ्रमणमा गएको थिइन । तर कोठामा बसेर अरु नित्य कर्महरू गरिरहेको थिएँ । पुष १ गते पनि बिहान पाँचबजे उठेर योग प्रणयाम पश्चात सामान्य अवस्थामै नास्ता र खाना खाई नियमित औषधी सेवन गरें । तर शरीर कता कता केही असहज जस्तो भइरहेको थियो । खाना खाएको लगभग एकघण्टापछि छटपटी हुने रिङ्टा लाग्ने र उभिदा चक्कर आउने हुन थाल्यो । छोरी घरमै थिइन । उनले जाँच गर्दा ब्लडप्रेसर र सुगरको लेवल बढेको रहेछ । ब्ल्डप्रेसरको औषधी घरमै रहेकाले तत्काले थप गरियो । तुरुन्तै इन्सुलिन मगाएर इन्सुलिन पनि लगाइयो ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु तस्वीरः इन्टरनेट

औषधी थप गरेपछि पनि मलाई चक्कर आइरहेको थियो । सुत्न र बस्न समेत असजिलो भइरहेको थियौं । उठ्दा आँखामा अँध्यारो छाउँथ्यो । मलाई कोरोना अस्पताल बुटवलमा भर्ना गर्ने कुरा भयो । तर एम्बुलेन्स पाउनै सकस । बहिनी, ज्वाईं र भाञ्जाहरूको अथक प्रयत्नपछि एउटा एम्बुलेन्स उपलब्ध भयो । उभिँदा चक्कर आइरहेकाले म घस्री घस्री घरका सिँढी ओर्लें । श्रीमती र छोरीले एम्बुलेन्ससम्म पुर्याए र लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना गरियो ।


बुटवलको फिभर क्लिनिकमा रगत परीक्षण र एक्सरे जाँच भयो । चलिरहेकै औषधी नै त्यहाँ पनि निरन्तरता दिइयो । न कुनै चिकित्सक आए न औषधी परिवर्तन भयो । त्यहाँ जे गरे पनि ड्युटीमा रहेका नर्सहरूको भर रहेछ । काभिड अस्पतालको आइसियु र भेन्टिलेर सेवा पनि चालु रहेनछ । ती सेवा चालु हुन अझै तीनचार दिन लाग्ने जानकारी पाइयो ।

खै ! के सल्लाह भयो । भोली थप उपचारका लागि काठमाडौं जाने भन्ने सुचना मैले राती नै पाएँ । भोलीपल्ट पुष २ गते चार बजे सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना भई त्यहाँको उपचार पश्चात कोरोना संक्रमण मुक्त भई हाल काम काजमा फर्केको छु ।

हामी नराम्रा कुराहरूको तुरुन्तै प्रचार गर्न र खरको आगो जसरी नकारान्तमक सूचनाहरू प्रवाह गर्न खप्पिस छौं । तर राम्रा कुराहरूको प्रशंसा गर्न भने जाँगर गर्दैनौं । मैले सशस्त्र प्रहरी बल अस्पतालबाट जस्तो सेवा र उपचार पाएँ त्यो उल्लेख गरिन भने मेरो कृतध्नता ठहरिन्छ ।

म लगभग १५ घण्टा बुटवलको फिभर क्लिनिकमा रहँदा नर्सिङ र सफाई कर्मचारी बाहेक कसैको दर्शन गर्ने सौभाग्य जुरेन । तर बलम्बु अस्पताल पुग्दा डा. रोशन झा एम्बुलेन्सको नजिकै आएर सबै विवरण लिनु भयो । उहाँको व्यवहार यस्तो थियो कि म कुनै अस्पतालमा नभएर कुनै अत्यन्तै आत्मीयजनको घरमा पुगेको छु । सबै अवस्था बुझेपछि उहाँले भन्नु भयो, तपाइको अहिलेको अवस्था त्यति जटिल छैन । छोरी पनि स्वास्थ्यकर्मी हुनुहुँदो रहेछ । उहाँ साथै रहनु भयो भने तपाईंहरूलाई पनि सजिलो हुन्छ । हामीलाई सहजीकरण गर्न सरल हुन्छ । केही असहज भए हामी तुरुन्तै यता सिफ्ट गर्छौं । अहिले तीन बेडका क्याविनमा बस्दा कसो होला भनेर मेरो प्रतिक्रिया खोज्नु भयो । त्यो त हाम्रा लागि खोजेकै कुरा भयो ।

वार्डमा सिफ्ट हुने वेलामा एक जना सशस्त्र प्रहरी निरीक्षक वर्दीमै आउनु भयो र केही आवश्यकता अथवा असजिलो प¥यो भने यो नम्बरमा फोन गर्नु होला भनेर फोन नम्बर दिनु भयो । हामी वार्डमा पुग्नासाथ एकजना कर्मचारीले खाजा खाँदै गर्नुस् भनेर खाजाको पोको थमाई दिनु भयो । केही छिनमा तपाईंहरूको औषधी तयार छ, लिन आउनुस् भन्ने खबर आयो । यद्यपि नियमित सेवन गर्ने औषधीहरू हामीले साथै लगेका थियौं र पनि अस्पतालमा बसुञ्जेल अस्पतालबाटै औषधी उपलब्ध गराइयो ।

अब कुरा गरौं अस्पतालका स्वास्थ्यकर्मीहरूले बिरामीप्रति गर्ने व्यवहारको । मलाई सबैभन्दा प्रभावित गरेको पक्ष नै यहीँ हो । विदेशमा डाक्टरहरूले आफ्ना बिरामीलाई फोन गरेर स्वास्थ्य अवस्था बारे जानकारी लिन्छन् र बिरामीलाई आवश्यकीय सल्लाह दिन्छन् भन्ने कुरा विदेशमा रहेका आफ्ना आफन्तहरूबाट सुन्दा मलाई होइन कि जस्तो लाग्थ्यो । त्यसो किनभने, नेपालमा चिकित्सकहरूबाट त्यस्तो व्यवहार हुने गरेको अनुभव मलाई आजसम्म थिएन । अझ कोरोना संक्रमितको त नजिक पनि नपर्ने र उचित उपचारको अभावमा बिरामीहरू अस्पतालमै मरेको वा अस्पालको चक्कर काट्दा काट्दै मृत्युवरण गर्न बाध्य भएका समाचार हामीले पढ्दै र सुन्दै आएको हो । तर मैले उपचार गराएको अस्पतालका चिकित्सकहरूको व्यवहार आफैले भोगेपछि अरुबाट सुने जस्तो चिकित्सकीय सेवा नेपालभित्रै रहेको अनुभव मैले गरें ।

अस्पताल भर्ना भएपछि पहिलो काम रगतजाँच भएको थियो । रगतमा अक्सिजनको मात्रा केही कम देखिएपछि तुरुन्तै नाडीको मूल नशाबाट रगत निकाली जाँच गर्दा पनि केही कम देखिएपछि चिकित्सक आएर मलाई सो कुराको सूचना दिई केही समय अक्सिजन दिइएको थियो । राती रगत जाँचको रिपोर्ट आएपछि त्यस बारे फोनबाट जानकारी गराइयो । भोलीपल्ट राउण्डमा आएका चिकित्सकले अवस्था जोखिमयुक्त नभएको कुरा बताएका थिए । भोलीपल्ट हाम्रो छातीको एक्सरे जाँच र केही रगतजाँच भएका थिए । त्यसको रिर्पोट चिकित्सक स्वयम्ले फोन गरी बताएका थिए । भोलीपल्ट राउण्डमा आएका चिकित्सकले उपचार प्रक्रियाबारे कुरा गरेका थिए । मलाई आइ.भिबाट एन्टिवायोटिक, सिटामोल लगायतका औषधी दिइएको थियो । ज्वरो बसेकाले सिटामोल हटाउँदा हुँदैन र मैले जिज्ञासा राखेको थिएँ ।

कोरोना आफैमा एक रोग त हुँदै हो । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता दुर्बल बनाउने हुँदा अरु दीर्घ रोग बल्झाइदिने र नयाँ थप संक्रामक रोगको आक्रमण हुने जोखिम रहन्छ । यसले विशेष गरी फोक्सोलाई संक्रमित गरी निमोनिया गराउने र निमोनियाले स्वास्थ्यमा जटिलता ल्याउने हुँदा हामी शुरुमै यसलाई केन्द्रमा राखेर निरोधात्मक उपचारमा जोड दिन्छौंं । त्यसैले अहिले चलेका औषधी अरु एक हप्ता निरन्तर चल्छन् । फोक्सोमा निमोनिया भईनसकेको भएपनि केही फरक त आउँछ नै । त्यसैले तपाईंको अवस्थालाई पुरै सामान्य भन्न पनि मिल्दैन । राम्रो कुरा त्यस्तो जोखिम पनि केही छैन । यस्तो अवस्थामा हामी डेक्सोना चलाउँथ्यौं । तर डेक्सोनाले रगतमा सुगरको मात्रा अत्याधिक बढाउने र तपाईंको यसै पनि सुगर लेवल बढी रहेकाले अहिल्यै त्यो चलाउँदैनौ । त्यसैले अहिल्यै सिटामोल हटाउन मिल्दैन । चिकित्सकका भनाइ थिए ।

अस्पताल बसेकै अवस्थामा पनि मेरो रक्तचाप तलमाथि भइरहन्थ्यो । सुगर लेवल पनि स्वाट्ट झर्ने र एक्कासी बढ्ने गथ्र्यो । धन्न अक्सिजन लेवल भने सामान्य नै थियो । श्वास प्रश्वासमा समस्या थिएन । तर श्रीमतीलाई भने दुई दिन अक्सिजन सपोर्टमा राख्नु प¥यो । थोरै दम भएजस्तो भएकाले त्यसको उपचार पनि शुरु भएको थियो ।

दिनको चारपटकसम्म ज्वरो, रक्तचाप र सुगर जाँच गरिन्थ्यो । आवश्यक पर्दा त्यो भन्दा पनि बढी । एघार दिन अस्पतालमा बस्दा कुनै पनि कर्मचारी, डाक्टर वा नर्सिङ् स्टाफहरू, झर्केको, कड्केको आवाज सुन्नु परेन । उनीहरू मध्ये केही आफै पनि संक्रमित भइसकेकाले आफ्ना अनुभव सुनाएर आत्मबल बढाइरहन्थे । म पनि पाँच दिन यसै बेडमा सुतेको हुँ । ड्युटीका डाक्टरले अनुभव सुनाउँथे । डाक्टर आशीष त आफ्नै परिवारका सदस्य जस्तै घुलमिल हुन्थे । नर्सिङ् स्टाफ मध्ये बबिता त आफ्नै छोरी जस्तै लाग्थिन ।

बस्दा केही असजिलो त भएको छैन ? हामीले केही सुधार गर्नु पर्ने छ कि ? खाना कस्तो छ ? खाजा नास्ता समयमा आएको छ छैन ? डाक्टरहरू बारम्बार सोधिरहन्थे । बिरामीको सुविधाको लागी हामीलाई राखिएको ब्लकमा वासिङ मेशिन र माइक्रो ओभन पनि राखिएको थियो । कर्मचारीहरू ती सामान निर्धक्क प्रयोग गर्न सुझाउँथे । खानेपानीका लागी युरोगार्ड राखिएको थियो । अस्पताल भने पनि कुनै गन्ध दुर्गन्ध थिएन । दैनिक स्यानिटाइजेशन हुन्थ्यो ।

अस्पतालमा रहँदाकै एउटा कुरा सम्झनामा छ । छातीको एक्सरे गर्ने क्रममा एकजना बिरामी खुइयँ गर्दै चिसो घाँसमा बसेका थिए । उनलाई अलि बढी गाह्रो भयो कि भनेर मैले खोज खबर गरेको थिएँ । उनी ओखलढुङ्गाबाट आएका रहेछन् । शुरुमा काठमाडौंको एउटा निजी क्लिनिकमा भर्ना भएका रहेछन् । दश दिन अस्पताल बस्दा उनको अवस्था झनै नाजुक बनेछ । यसपछि उनलाई यो अस्पतालमा ल्याइएको रहेछ ।

“त्यो पापी अस्पतालको कुरा नगरौं सर । दश दिनमा साढे छ–लाख पैसा खायो र धन्नै–धन्नै ज्यान पनि खायो । भाग्यले यो अस्पतालमा भर्ना हुन पाएँ र ज्यान बाँच्यो । अहिले त धेरै ठिक भएको छ । अब त बाँचियो सर । यहाँको त अस्पताल पनि राम्रो । डाक्टर पनि राम्रो । उपचार पनि राम्रो ।”

सशस्त्र प्रहरी बल अस्पतालको अरु फ्याकल्टीको सेवा कस्तो छ त्यो त मलाई थाहा भएन । तर कोभिडको उपचार अत्यन्तै उत्कृष्ट लाग्यो । मेरो यदाकदा सुगर लेवल ह्वात्तै बढ्थ्यो । त्यो जानकारी गराएको पाँच–सात मिनेट भित्रैमा मेडिकल स्टाफ आएर इन्सुलिन लगाईदिन्थे । दिनरात साँझ बिहान जतिबेला पनि एउटा मेडिकल टिम आकस्मिक उपचारको लागि तम्तयार हुन्थ्योे । जताततै भताभुङ्ग अवस्था भएको हाम्रो देशको एउटा सरकारी अस्पतालमा यो स्तरको सेवा र व्यवहार मेरो कल्पना बाहिरको थियो । गर्नेलाई केहीले छेक्दो रहेनछ भन्ने उदाहरण थियो त्यो अस्पताल ।

प्रत्येक क्षेत्रमा चुस्तदरुस्त व्यवस्थापन, कसिलो र प्रभावकारी उपचार पद्धति, चिकित्सक र स्वास्थ्यकर्मीमा सेवाप्रतिको तन्मयता र बिरामीप्रतिको असल व्यवहारको आधारमा यो अस्पतालको सेवा मलाई उत्कृष्ट र अनुकरणीय लाग्यो । नेपालका अन्य सरकारी अस्पतालले पनि यो अस्पतालबाट केही सिक्ने कि ??