रिंकु वाग्ले

डा. बिन्दा पाण्डेको विद्यावारिधिको शोधपत्रमा आधारित यस पुस्तकमा विश्व र नेपालको महिला आन्दोलनका इतिहास, तुलनात्मक व्याख्या र यो समाजलाई र नयाँ राजनीतिक पद्धतिलाई यहाँसम्म पुर्याउन महिलाले खेलेको भूमिकाबारे अति मिहिन विश्लेषण गरिएको छ ।

अनुसन्धानमा आधारित पुस्तक ‘समानताका पाइलाहरूः राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ सामाजिक अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा सक्रिय डा. बिन्दा पाण्डेले महिलाबादी दृष्टिकोणबाट नेपाली राजनीतिमा महिला सहभागिता, महिलाको भूमिका, लैंगिक समानताका सिद्धान्तगत आयामहरू र त्यस बाट जनजागृत विभिन्न आन्दोलनको आलोचनात्मक समिक्षा र मार्गनिर्देशित एक दस्तावेज हो । न्यायका पक्षमा नागरिक आन्दोलनको सुरुवातकर्ता योगमाया न्यौपाने लगायत समस्त अग्रणी अभियन्ताहरूप्रति समर्पित यस पुस्तक फाइनप्रिन्ट बुक्स बाट २०७६ माघ महिनामा प्रथमपटक प्रकाशित गरिएको हो । २४४ पृष्ठ मुख्य अंश रहेको यस पुस्तकमा सन्दर्भसामग्रीका साथै महिला आन्दोलन र त्यसका आधारहरू अनुसूचीकरण गरिएको छ । नौवटा मुख्य शीर्षकहरू रहेको यस पुस्तकको अन्तिमतिरको अनुसूचीमा उल्लेखित पात्र चिनारीले पाठक वर्गलाइ महिला आन्दोलनका अग्रणी अभियन्ताहरू र उहाँहरूको योगदान बारे प्रस्ट पर्ने नै छ ।

समानताका पाइलाहरू असमानताका डोबहरू मेटाउने अभियानको शंखृला नै हो भन्दा अत्युक्ति नहोला । ‘समानता’ शब्दमाथि टेकेर धेरै साहित्यकारहरू, दार्शनिकहरू, लेखकहरूले आ–आफ्नो विचारलाई समानताका पक्ष र विपक्ष प्रस्तुत गरेको पाहिन्छ । जस्तै, पश्चिममा पहिलो चरणको नारीवादी आन्दोलन हँुदा डि.एच. लरेन्सले ‘ककस्युर वुमेन’ र ‘हेनस्युर वुमेन’ नामक निबन्ध लेखेर प्राकृतिक रूपले नै छुट्टिएको पुरुष र महिलालाई समान बनाउन खोज्ने आन्दोलनप्रति व्यंग्यात्मक रूपले प्रहार गरेका थिए । तर यी तर्कहरू

पितृसत्तात्मक मानसिकताले जगडीएको समाजको एक प्रतिबिम्ब मात्र थियो । हो, महिला र पुरुष मात्र हैन, यस धर्तीमा रहने हरेक प्राणी प्रकृतिगत नै भिन्न हुन्छन र उनिहरूको आ–आफ्नो स्व–अस्तित्व रहन्छ । प्रकृतिगत भिन्नतालाई आधार बनाई सामाजिक व्यवहारमा गरिने विभेद विरुद्धको नारीवादी आन्दोलन व्यवहारिकरूपमा समानताका लागि, अधिकारको क्षेत्रमा समानताको लागि र आत्मासम्मानको हिसाबले समानताको लागि वर्षौवर्षदेखि गरिदै आइएको इतिहास सर्वविदित नै छ । विन्दाको पुस्तक त्यसैको एउटा स्वरूप हो ।

हाम्रा प्राचिन ग्रन्थहरूले हामीलाई अभिलेखीकरणको महत्त्वबारे बुझाइसकेका छन् । कुनै पनि घटना इतिहास बन्नका लागि दस्तावेजहरू चाहिन्छन । यदि महाभारत एकमुष्ट नलेखिएको भए वा छुट्टाछुट्टै छरिएर दस्तावेजीकरण गरिएको भए सायदै हामीले यस्तो महत्वका साथ अध्ययन गर्न पाइन्थ्यो । त्यसैले इतिहास समेटिएका, विश्लेषण गरिएका, अनुसन्धानबाट आएका विवरणहरूको अभिलेखिकरणले यो पुस्तालाई मात्र नभई अब आउने पुस्तौपुस्तासम्म महत्त्व पूर्ण अध्ययन सामग्रीको रूपमा रहने छ । समानताका पाइलाहरू यस्तै भविष्यसम्म दिशाबोध गर्ने इतिहासको पुस्तक हो ।

डा. बिन्दा पाण्डेको विद्यावारिधिको शोधपत्रमा आधारित यस पुस्तकमा विश्व र नेपालको महिला आन्दोलनका इतिहास, तुलनात्मक व्याख्या र यो समाजलाई र नयाँ राजनीतिक पद्धतिलाई यहाँसम्म पुर्याउन महिलाले खेलेको भूमिकाबारे अति मिहिन विश्लेषण गरिएको छ । यस पुस्तकमा राजनीति र साहित्यिक बाटोमा पाइला चाल्न थालेका नव सर्जकहरूका लागि पनि सहज रूपमा बुझिने तरिकाले सरल भाषा शैली र महत्त्वपुर्ण शब्दावलीहरूको प्रयोग गरिएको पाइन्छ । घटनाहरूलाई प्रष्ट पार्न किताबमा समेटिएका तालिकाहरूको पनि औधी महत्त्व रहेको छ ।

विश्वमा नारीवादी आन्दोलनका अनेकौं लहरहरू उठ्दा नेपाल पनि अछुतो रहन सकेन/सक्दैन । यो नारीवादी आन्दोलनसँगै विस्तारित महिला सशक्तिकरणका कारण नेपालका राजनीतिक पार्टीहरूमा महिलाको सहभागिता र भूमिकाबारे नीतिहरू परिवर्तन हुँदै आएका छन् । नेकपा (एमाले)लाई अध्ययनको दायरा बनाएर गरिएको बिन्दा पाण्डेको अनुसन्धानले कसरी नेपालका राजनीतिक पार्टीहरूले महिलालाई राजनीतिक आन्दोलनको मूलधारमा ल्याएँ र त्यसका लागि पार्टी भित्र र बाहिर कस्ता संघर्ष भए भन्ने उजागर गरेको छ ।

राणाशासन विरुद्ध र महिला विरोधी सामाजिक मान्यताहरूका विरोधमा आफु सहित ४६ जनाको सामुहिक आहुति दिएकी योगमाया न्यौपाने देखि २०३७ मा आफ्नो छोरा छोरी पार्टीलाई जिम्मा लगाएर आन्दोलनका लागि भूमिगत भएकी गोमा देवकोटासम्मका घटनाक्रमहरूले महिलाहरू कसरी पितृसत्तात्मक समाजको साँघुरो लक्ष्मणरेखा तोडेर राजनीतिक मोर्चामा उत्रिए भन्ने प्रष्ट पार्दछ ।
यी विभिन्न घटनाक्रमहरू हेर्दा के बुझिन्छ भने नेपालका महिलाहरू आफ्नो अधिकारका लागि मात्र हैन कि सामाजिक रूपान्तरणमा लागिपरेको देखिन्छ । लैङ्गिक विभेद विरुद्धको संघर्षलाई वर्गीय विभेदको राजनीतिक मोर्चासँग जोडेर नेपाली महिलाहरू आन्दोलनमा समाहित भएको देखिन्छ । त्यसैले नेपालका राणाशासन विरुद्धको आन्दोलनदेखि बहुदल र गणतन्त्रको स्थापनाका आन्दोलनसम्म नेपाली महिलाको सहभागिता उल्लेखनीय रहेको छ । अझ नेकपा (एमाले) का आन्दोलनहरूले महिलाका अधिकारका लागि पनि समाज रूपान्तरणको क्रमलाईसँगसँगै लागेको पाइन्छ । शिक्षामा समान पहुँचले महिला सशक्तिकरणमा ठुलो टेवा पुगेको छ । सम्पतिमा समान अधिकार, प्रजनन स्वास्थ्यका अधिकार आदि विषयहरूले पनि राजनीतिमा महिलाको प्रत्यक्ष पहुँच र संघर्षलाई जोडेको छ ।

समग्रमा भन्नुपर्दा यस पुस्तकमा महिलाको इतिहास, वर्तमान र भविष्यका चुनौती साथै अथाह सम्भावनाहरूको दार्शनिक र तथ्यगत विश्लेषण गरिएको छ । तर पुस्तक पढ्दै गर्दा महिलाहरूको भूमिकाको यथासमयमा यथोचित कदर गर्न चुकेको प्रष्ट हुन्छ । जस्तो कि २०४३ सालको निर्वाचनमा कोही पनि महिला उम्मेदवार उठाइएन । तैपनि केही पुरुष उम्मेदवारहरूले महिलाको विषय भने गम्भिरतापूर्वक उठाउँथे । पुस्तकमा डा. पाण्डेको भाषा छ ‘जैविक रूपमा पुरुष भएता पनि भावना र शोचका आधारमा महिलावादी थिए र महिला आन्दोलनका विषयहरू पनि गम्भीरतापुर्वक उठाउने गर्थे’ । तर, महिलालाई कार्यकारी भूमिका नदिईकन पुरुषबाट नै महिलाका विषयहरू जति गम्भीरतापुर्वक उठाए पनि त्यो ‘तिम्रो सट्टामा म नै छु नि’ भन्नेखालको अभिनय हुँदैन र ? भूमिका नदिदाँसम्म न त अभ्यास हुन्छ । न त प्रशिक्षण हुन्छ । न त सशक्तिकरण नै हुन्छ । यो प्रक्रिया अहिले पनि उस्तै नै छ । पुरुषहरूले नारीवादी खोल ओडेर महिलालाई सीमान्तकृत गर्ने चेष्टा अझै हराएको छैन । अवस्था जस्तो होस् महिला स्वयं कार्यकारी भूमिकामा नभई तमाम पिछडिएका र उत्पीडनमा परेका महिलाहरूको सशक्तिकरण सम्भव छैन । उदाहरण नै हेरौ, स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एकजना महिला हुनुपर्ने नीतिगत व्यवस्थाले केहि पितृसत्तात्मक मानसिकताबाट माथि उठ्न नसकेका महिलाहरू बाहेक धेरैको क्षमतावृद्धि गरेको र आत्मबल बढेको पाइन्छ । उपप्रमुखको न्यायिक जिम्मेवारीले झन् महिलाहरूलाई न्याय अध्ययन गर्न प्रोत्साहन गरेको पाइन्छ । त्यसैले महिलालाई असक्षम वा परिवेशको कारण देखाएर पछाडी पार्न पाइदैन ।

गणतन्त्रात्मक मुलुकको व्यवस्था हुँदा पनि कुनै कार्यकारी अधिकारको प्रमुखमा न नेकपाले न राष्ट्रले महिलालाइ राख्न सकेको छ । यस्तो अवस्थाले महिला सहभागिताको विषयक कतै पितृसत्ता जोगाउने रणनीतिको रूपमा प्रयोग गर्न थालिएको त हैन भन्ने महसुस हुन्छ ।

डा. पाण्डेको पुस्तकले राजनीतिक आन्दाेलनमा महिलाको उल्लेखनीय भूमिकालाई उजागर गरेको छ । अबको यस्ता अध्ययन अनुसन्धान तथा लेखहरूमा महिलाबादी दृष्टिकोणहरूमा, समानताका कुराहरूमा महिला र पुरुषसँगै पारालैंगिकता अर्थात् एलजीबिटीक्युआई समावेस गरिनु पर्दछ । समानताको आवाज उत्पीडनमा परेकाहरूको लागि हो भन्ने कुरा कहिले बिर्सन हुन्न ।