भगवतीचरण वर्मा

अनुः जंगबहादुर शाह

(हिन्दी भाषाका आख्यानकार भगवतीचरण वर्मा (सन् १९०३–१९८१) सरल भाषामा गम्भीर विषय पस्किने आफ्नो खुबीका कारण प्रसिद्ध छन् । छायावादी कविता लेखनबाट लेखन यात्रा शुरु गरेका वर्मा पछि आख्यानमा प्रवेश गरे र एक पछि अर्को उत्तम कृति दिए । उनका ‘अपने खिलौने’, ‘पतन’, ‘तीन वर्ष’, ‘चित्रलेखा’ जस्ता उपन्यास प्रसिद्ध छन् ।)

बिरालो कति तोलाको बनाउन लगाउने ! अरे रामूकी आमा ! शास्त्रहरूमा त लेखिएको छ, बिरालोको वजन बराबरको बनाउनुपर्छ । तर अब कलियुग आयो ।


यदि टाटे बिरालोले घरभरिमा कसैस“ग प्रेम गथ्र्यो भने रामूको पत्नीसँग र यदि रामुकी पत्नीले घरभरिमा कसैसँग घृणा गर्दथी भने त्यो थियो टाटे बिरालो । रामूकी पत्नी दुई महीनापहिले माइतबाट पहिलोपटक सुसराल आएकी थिई, पतिकी प्यारी, सासुकी दुलारी चौध वर्षकी बालिका । भान्साघरको साँचो उसको करधनीमा झुण्डिन थाल्यो, नोकरहरूमाथि उसको हुकुम चल्न थाल्यो र रामूकी जोइ भई घरमा सर्वेसर्वा ।


सासुज्युले माला समातिन् र पूजापाठमा मन लगाइन् ।

तर थिई त ऊ चौध वर्षकी बालिका । कहिले भण्डारघर खुल्ला त कहिले भान्साघरमा बसी–बसी निदाउने । पाटे बिरालोले मौका पाउनासाथ घ्यू–दूध आफ्नो पेटमा पु¥याउने । रामूकी पत्नीलाई त्यो ज्यानको जञ्जाल भएको थियो भने बिरालोलाई मोज नै मोज । रामूकी बधू हा“डीमा घ्यू राख्दा–राख्दै उँघ्न थाली र बचेको घ्यू पुग्यो पाटेको पेटमा । रामूकी वधू दूधलाई ढाकेर मिसरानी– (मिश्रकी पत्नी) लाई सामान दिन गई र दूध न दारद ।

कुरा यहाँसम्म सिमित रहेको भए बेठीक थिएन । पाटे रामुकी पत्नीसँग यति नजिकियो, उसलाई खानपान गर्न पनि असहज हुनथाल्यो । रामूकी पत्नीको कोठामा कचौराभरि रबडी पुग्यो र जब रामू कोठामा आए तब कचौरा रित्तो । चाटचुट गरेर सफा गरिएको । बजारबाट मलाई भन्यो र जबसम्म रामूकी वधुले पान तयार पारी, मलाई गायब ।

रामूकी वधूले तय गरी, घरमा ऊ रहनेछे वा त्यो पाटे बिरालो नै । मोर्चाबन्दी भयो । दुर्व सर्तक । बिरालोलाई फसाउन खोर ल्याइयो । त्यसभित्र दूध–मलाई, मुसा र बिरालोलाई मनपर्ने विविध प्रकारका व्यञ्जन राखिए, तर बिरालोले त्यतातिर हेर्दै हेरेन । यता बिरालोले तत्परता देखायो । अहिलेसम्म त त्यो रामूकी बधूसँग डराउँथ्यो अब भने नजिकिन थाल्यो तर यति दूरीका साथ कि रामूकी वधूले त्यसलाई छुन नसकोस् ।

बिरालोको हौसल बढ्नाले रामूकी वधूलाई घरमा बस्न मुश्किल भयो । उसले सासुजीको मीठो हप्काइ खानुपर्यो र पतिदेवले पाउँथे रुखोसुखो भोजन ।

एकदिन रामूकी वधूले खीर पकाई रामूका लागि । पिस्ता, बदाम, मख्राना र भाँति–भाँतिका सुख्खा मेवा दूधमा पकाइए । सुनको वरफ (पत्र) टाँसिए र खीरले भरिएको कचौरा कोठाको यस्तो अग्लो ताखमा राखियो जहाँ बिरालो पुग्न नसकोस् । त्यसपछि रामूकी वधूले पान तयार पार्न थाली ।

उता बिरालो कोठामा गयो, ताखमुनि उभिएर त्यसले माथि कचौरातिर हेर्यो, सुँघेर थाहा पायो, माल स्वादिष्ट छ । ताखको उचाइ अनुमान लगायो । उता रामूकी वधूले पान लगाइरहेकी छ । पान बनाएर रामूकी भार्या सासुज्यूलाई पान दिन गई, त्यसैबखत पाटे बिरालोले छलांग मार्यो । त्यसको पञ्जा कचौरामा लाग्यो र झनझनाहटका साथ भुँइमा खस्यो ।

आवाज रामूकी सहधर्मिनीको कानमा पुग्यो । सासुको सामुन्ने त्यो पान हुत्याउर दगुरी र देखी, फूलको कचौरा टुक्रा–टुक्रा भएको । खीर भुँइमा । बिरालोले डटेर खाँदैछ । रामूकी दुलहीलाई देख्ने बित्तिकै बिरालो भाग्यो ।

रामूकी वधूलाई औधी रीस उठ्यो । उसले पाटेको हत्या गरिदिने अठोट गरी । न रहोस् बाँस, न बजोस् बाँसुरी । उसलाई रातभरी निद्रा लागेन । ‘कुन तरिकाले बिरालोउपर आक्रमण गर्ने ताकि त्यो बाँच्न नपाओस्’– पल्टिएर यस्तै कुरा सोचिरही । बिहान उठ्दा देखि, बिरालोले देहरीमा बसेर उसलाई प्रेमपूर्वक हेरिरहेको छ ।

रामूकी वधूले केही सोची, त्यसपछि मुस्कुराउँदै उठी । रामूकी वधू उठ्ने बित्तिकै बिरालो गायब भयो । रामूकी वधू एक कचौरा दूध ढोकाको देहरीमा राखेर गई । हातमा लौरो लिएर फर्किंदा देखी, बिरालो दुध चाट्नमा मस्त छ । मौका हात पर्याे । उसले सारा बल लगाएर लौरो बिरालोमाथि बजारीदिई । बिरालो न त छटपटायो, न करायो । बस एकदम गुल्टियो ।

आवाज भएपछि कहारनी झाडू छाडेर, मिसरानी भान्साकोठा छाडेर र सासु पूजा छाडेर घटनास्थलमा उपस्थित भए । रामूकी वधू अपराधिनीझैं मुण्टो निहुराएर कुरा सुनिरही ।

कहारनीले भनी–“हरे राम ! बिरालो त मरिगयो । आमा ! वधूबाट विरालोको हत्या भयो । यो त नराम्रो भयो ।”

मिसरानीले भनी– “माताजी ! बिरालोको हत्या र मान्छेको हत्या बराबर हो । म त खाना पकाउँदिनँ जबसम्म वधूले गरेको हत्याको प्रायश्चित गरिंदैन ।”

सासुजीले भनिन्– “हो त ! जबसम्म बुहारीको शिरबाट हत्याको पाप हट्दैन तबसम्म न कसैले पानी खान सक्छ र न भोजन नै गर्न सक्छ । बुहारी ! तिमीले यो के गर्यौ ?”

कहारनीले भनी– “अब के गर्ने ? आदेश भए पण्डितजीलाई बोलाएर ल्याऊँ ?”

कहारनीका कुरा सुनेर सासुजीको अत्यास कम भयो– “हो त ! जा, दगुरेर पण्डितजीलाई बोलाएर ल्या !”

बिरालोको हत्याको खबर विद्युतगतिले छिमेकमा फैलियो । छिमेकका महिलाहरूको लाम रामूको घरतिर लाग्यो । चारैतिरबाट प्रश्नको वर्षा रामूकी पत्नी मुण्टो निहुराएर बसेकी ।

यो सूचना पाउँदा पण्डित परमसुख पूजा गरिरहेका थिए । खबर पाउनासाथ जुरुक्क उठे र पण्डितनीसँग मुस्कुराउँदै भने– “भोजन नपाकाउनु ! लाला घासीरामको बुहारीले बिरालो मारिदिई, प्रयाश्चित होला, पकवान खान पाइएला ।”

पण्डित परमसुख होचा र मोटा व्यक्ति थिए । लम्बाई चार फुट दश इञ्च र भुँडीको घेरा अन्ठाउन्न इञ्च । चेहरा गोलमटोल, जुंगा ठूलाठूला, रंग गोरो, टुप्पी कम्मरसम्म पुगेको ।

भनिन्छ, मथुरामा जब पसेरी (पाँच सेर) खुराकवाला पण्डितहरूलाई खोजिन्थ्यो तब पण्डितजी त्यस सूचीमा प्रथम स्थानमा हुन्थे ।

पण्डितजी पुगेपछि कोरम पूरा भयो । पञ्चायत बस्यो – सासुज्यू, मिसरानी, किसनूकी महतारी, छन्नूकी बज्यै र पण्डित परमसुख । शेष महिलाहरू बुहारीसँग सहानुभूति प्रकट गरिरहेका थिए ।

किसनूकी आमाले भनिन्– “पण्डितजी ! बिरालोको हत्या गर कुन नरक पाइन्छ ?”

पण्डित परमसुखले पात्रो हेर्दै भने– “बिरालोको हत्या भएकोले मात्र नरकको नाम बताउन सकिंदैन । त्यो मुहुर्त र समय पनि थाहा हुनुपर्छ जतिबेला त्यसको हत्या गरिएको थियो । तबमात्र नरकबारे थाहा हुनसक्छ ।”

“यही लगभग सात बजे बिहान”, मिसरानीले भनिन् ।

पण्डित परमसुखले पात्रोमा पाना पल्टाए, अक्षरहरूमाथि औला चलाए, निधारमा हात लगाए र केही सोचे । चेहरामा धमिलोपन देखियो । निधारमा गाँठा परे । नाक खुम्चियो र स्वर गम्भीर भयो– “हरे कृष्ण ! हरे कृष्ण ! बहुत नराम्रो भयो । प्रातः काल ब्रह्म मुहुर्तमा बिरालोको हत्या ! घोर कुम्भीपाक नरकको विधान छ । रामूकी आमा ! यो त बहुतै नराम्रो भयो ।”

रामूकी आमाका आँखामा आँस आए– “त्यसो भए पण्डितजी ! अब के होला ? तपाईं नै बताउनुहोस् ।”

पण्डित परमसुख मुस्कुराए– “रामूकी आमा ! चिन्ता गर्ने कुनै कारण छैन, हामी पुरोहितहरू कुन दिनका लागि हौं त ? शास्त्रहरूमा प्रायश्चितको विधान छ । प्रायश्चित गरे सब ठीक होला ।”

रामूकी आमाले भनिन्– “यसैकारण त तपाईंलाई बोलाइपठाएकी थिएँ पण्डितजी । अब बताउनुहोस् के गर्नुपर्ला ?”

“के गर्नुपर्ला ! जवाफ हो– सुनको एउटा बिरालो बनाउन लगाएर बुहारीका हातबाट दान गराउनुपर्ला । जबसम्म सुनको बिरालो दान गरिंदैन तबसम्म त घर अपवित्र रहनेछ । बिरालो दान गरिएपछि एकाउन्न दिनसम्म पाठ हुनुपर्छ ।”

छन्नूकी बज्यैले भनिन्– “हो त, पण्डितजीले ठीक भन्नुभयो । बिरालो पहिले दान गरियोस् र पछि पाठ पनि होओस् ।”

रामूकी आमाले भनिन्– “त्यसो भए पण्डितजी ! कति तोलाको बिरालो बनाउन लगाउनुपर्ला ?”

पण्डित परमसुख मुस्कुराए । आफ्नो भुँडी मुसार्दै उनले भने– “बिरालो कति तोलाको बनाउन लगाउने ! अरे रामूकी आमा ! शास्त्रहरूमा त लेखिएको छ, बिरालोको वजन बराबरको बनाउनुपर्छ । तर अब कलियुग आयो । धर्म–कर्म सब नष्ट भइसके, श्रद्धा रहेन । यसकारण रामूकी आमा ! बिरालोको तौल बराबरको नै बिरालो त अब बनाइने छैन किनभने बिरालो बीस–एक्काइस सेरभन्दा त के कम होला ! हो, कमसेकम एक्काईस तोलाको बनाउन लगाएर दान गराउनुहोस् । त्यो भन्दा धेरैको त आ–आफ्नो श्रद्धा ।”

रामूकी आमाले आँखा च्यातेर पण्डित परमसुखतिर हेरिन्– “अरे बाफ रे ! एक्काईस तोला सुनको ! पण्डितजी यो त धेरै भयो । तोलाभरको बिरालोले काम चल्दैन ?”


पण्डित परमसुखले हाँस्दै भने– “रामूकी आमा ! एक तोला सुनको बिरालो ! हो ! रुपैयाँको लोभ बुहारीभन्दा ठूलो भयो ? बुहारीले ठूलो पाप गरेकी छन् । यस्तो स्थितिमा लोभ गर्नु उचित होइन ।”

मोलतोल शुरु भयो र मामिला एघारतोलाको बिरालोमा सल्टियो ।

यसपछि पूजापाठको कुरा चल्यो । पण्डित परमसुखले भने– ”तब के कठिनाइ ? हामीहरू कुन दिनका लागि हौं ? रामूकी आमा ! मैले पाठ गरिदिनेछु । पूजा–सामग्री तपाईंले मेरो घर पठाइदिनुहोला ।”

“पूजा–सामग्री कति–कति ?”

“अरे ! कमभन्दा कममा हामी पूजा गरिदिउँला । दानका लागि लगभग दस मन (एक मन बराबर ३७.३२४ किलो) गहुँ, एक मन चामल, एक मन दाल, एक मन तिल, पाँच मन जौं, पाँच मन चना, चार पसेरी (३० सेर । एक सेर बराबर ९३३.१० ग्राम) घ्यू र एक मन नून पनि लाग्नेछ । बस, यतिले काम चल्नेछ ।”

“अरे बाफ रे । यत्रा सामान ! पण्डितजी ! यसमा त सय डेढसय रुपैयाँ खचै हुनेछ”, रामूकी आमाले रुञ्चे स्वरमा भनिन् ।

“योभन्दा कममा त काम हुँदैन । बिरालोको हत्या कति ठूलो पाप हो ! रामूकी आमा ! खर्च हेर्दाखेरि बुहारीको पाप पनि हेर । यो त प्रायश्चित हो कुनै ख्याल–ठट्टा होइन नि ! अनि जसको जस्तो मर्यादा । प्रायश्चितमा उसले खर्च पनि गर्नुपर्दछ । तपाईंहरू झुसेमुसे त हुनुहुन्न । अरे ! सय–डेढसय रुपैयाँ त तपाईंहरूको हातको मैला हो ।”

पण्डित परमसुखका कुराले पञ्चहरू प्रभावित भए । किसुनकी आमाले भनिन्– “पण्डितजीले ठीकै त भन्नुभएको छ । बिरालोको हत्या त कुनै सानो पाप होइन । ठूलो पापको लागि खर्च पनि त ठूलै चाहिन्छ ।”

छन्नूकी बज्यैले भनिन्– “अनि के त ! दान–पुण्यले नै त पाप–कट्टी हुन्छ । दान–पुण्यमा किफायत ठीक होइन ।”

मिसरानीले भनिन्– “माता जी ! तपाईंहरू त ठूला मान्छे, यति खर्च गर्नुपर्दा तपाईंलाई केको चिन्ता !”

रामूकी आमाले आफ्नो चारैतिर हेरिन् । सबै पञ्च पण्डितजीको पक्षमा । पण्डितजी मुस्कुराइरहेका थिए । उनले भने– “रामूकी आमा ! एकातिर बुहारीका लागि कुम्भीपाक नरक छ र अर्कोतिर तपाईंको जिम्मामा अलिकति खर्च छ । यसकारण मुख नलुकाउनुहोला ।”

रामूकी आमाले लामो सास फेर्दै भनिन्– “अब त जसरी नाच नचाउनुहोला, त्यस्तै गरी नाच्नु नै पर्ला ।”

पण्डित परमसुखले अलि रिसाउँदै भने– “रामूकी आमा ! यो त मन लागे गर्ने कुरा हो । यदि तिमीलाई मन पर्दैन भने न गर । म हिंडे ।” त्यति भनेर पण्डितजीले पात्रो–पुस्तक बटुले ।

“अरे, पण्डितजी ! रामूकी आमालाई केही पनि गाह्रो हुनेछैन । बिचरीलाई कति दुःख छ । न रिसाउनुहोस् न !” मिसरानी, छन्नूकी बज्यै र किसनूकी आमाले समवेत स्वरमा भने ।

रामूकी आमाले पण्डितजीका पाउ समातिन् । तब पण्डितजीले जमेर आसन लगाए ।

“अरु के हुनुपर्छ ?”

“एक्काईस दिन पाठ गरेको एक्काईस रुपैयाँ र एक्काईस दिनसम्म दुवै बखत पाँच–पाँच ब्राह्मणहरूलाई भोजन–दान गर्नुपर्ला । यसबारे चिन्ता नगर । म एक्लैले दुवै समय भोजन गर्नेछु र म एक्लैले खाए पनि पाँच ब्राह्मणले भोजन गरेको फल प्राप्त हुनेछ ।”

“यो त पण्डितजीले ठीकै भन्नुभयो । पण्डितजीको ठूलो पेट त हेर !”, मिसरानीले मुस्कुराउँदै पण्डितजीउपर व्यंग्य गरिन् ।

“त्यसोभए प्रायश्चितको व्यवस्था गराउ । रामूकी आमा ! एघार तोला सुन देऊ ! म त्यसको बिरालो बनाउन ल्याएर ल्याउनेछु । म बिरालो बनाउन लगाएर दुई घण्टामा फर्कनेछु त्यतिञ्जेल पूजाको व्यवस्था गरीराख । अनि हेक्का रहोस्, पूजाका लागि ।”

पण्डितजीको कुरा नसकिंदै कहारनी हाँस्दै कोठाभित्र पसी । सबै छक्क परे ।

रामूकी आमाले आत्तिंदै सोधिन्– “अरे, के भयो ?”

कहारनीले लडखडाउँदो स्वरमा भनी— “माताजी ! बिरालो त उठेर भाग्यो ।”
……….