हिमाल, पहाड, तराई छिचोल्दै कालीगण्डकी कोरिडोर
बौद्ध र हिन्दु धर्मावलम्बीको पर्यटकीय रूट रहेको यो कोरिडोरबाट १५ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् भने हिमालको उत्पादन सहजै तराईमा आउनेछ ।
कृष्ण पोखरेल

पाल्पा
कालीगण्डकी कोरिडोरलाई धार्मिक, पर्यटकी र व्यापारिक सडक मानिन्छ । यो सडकको पहिलो चरणको ९९ प्रतिशत काम सकिएको छ । दोस्रो चरणका कैयौ काम समेत धमाधम भइरहेका छन् । यो निकै महत्वको सडक हो । चीन–नेपाल–भारत जोडिने महत्वपूर्ण कालीकगण्डकी कोरिडोरले लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशलाई जोड्नेछ । भारतको सुनौली नाकादेखि चीनको कोरला नाकासम्म जोडिने यो सडक त्रिदेशीय व्यापार र धार्मिक पर्यटकीय मार्ग हो । यो सडकले उत्तर–दक्षिणलाई जोडेर तीन प्रदेशका ९ जिल्लालाई गुल्जार गर्नेछ । अनकन्टार पहाडमा सडक निर्माण गरी गाउँलाई समेत शहरीकरण गरिंदैछ ।
कोरिडोर व्यापार, पर्यटनमात्रै नभई १५ लाख नागरिकको जीवनसंग प्रत्यक्ष जोडिएको छ । सडक नै नपुगेका कतिपय गाउँबाट स्वास्थ्य सेवा नजिकिएको छ भने हिमाली उत्पादनको व्यापारमा सहज भएको छ ।
नवलपरासीको गैडाकोटदेखि मुस्ताङको कोरलासम्मको ४३२ किलोमिटर उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको ९९ प्रतिशत ट्रयाक खुलिसकेको छ । करिडोरको पाल्पा खण्डमा ५ सय मिटरमा ट्रयाक खोल्ने काम भइरहेको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । ट्रयाक खुलेका सडकमा कालोपत्रे, पुल निर्माण, सडक चौडा, नाली विस्तार, ग्रावेलका काम भइरहेका छन् । यो करिव २५ अर्बको आयोजना हो ।
कालीगण्डकी करिडोरको नवलपरासी ८० किलोमिटर क्षेत्रमा ट्रयाक खुली साना सवारी साधन जीप ट््याक्टर, मोटरसाइकल सञ्चालन भइरहेको छ । पाल्पाभित्र पर्ने ८५ किलोमिटर क्षेत्रमध्ये ८४.५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको छ । कालीगण्डकी करिडोरको गुल्मी क्षेत्रको ४४ किलोमिटर रिडीदेखि पालुङखोलासम्म नियमित रूपमा यातायातका सवारी साधन सञ्चालन भइरहेका छन् । बाग्लुङ जिल्लामा ३६ किलोमिटर पालुङखोलादेखि मालढुङ्गासम्म ट्रयाक खोलिएको छ । पर्वतको कुश्मादेखि स्याङ्जाको मिर्मिसम्म ७८ किलोमिटर क्षेत्रमा ट्रयाक खोली सडक चौडा तथा पिचको तयारीको काम भइरहेको छ । मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम वेनीसम्मको ८ किलोमिटर क्षेत्रमा पिच भई नियमित रूपमा यातायात सञ्चालन भइरहेको छ । करिडोरको वेनीदेखि मुस्ताङ्गको सदरमुकाम जोमसोमसम्मको ८२ किलोमिटर क्षेत्रमा विगत १० वर्षदेखि यातायात सञ्चालनमा आएको छ । सदरमुकाम जोमसोमदेखि उपल्लो मुस्ताङ–लोमाङ्गथान–कोरलासम्मको १ सय १ किलोमिटर क्षेत्रमा यातायात सञ्चालनमा छ । अहिले विभिन्न स्थानमा कालोपत्रेको काम भइरहेको छ ।
विगत दुई वर्षदेखि नवलपरासीको गैंडाकोटदेखि पाल्पाको राम्दीसम्मको १ सय ३२ किलोमिटर क्षेत्रमा सडक पिचको काम भइरहेका छ । आगामी पाँच वर्षभित्र गैंडाकोटदेखि मालढुङ्गासम्मको २ सय ४५ सडक कालोपत्रे भइसक्ने कालीगण्डकी करिडोर कार्यालय पाल्पाका आयोजना प्रमुख सुवोधप्रसाद देवकोटाले बताए । आउँदो २०७९ साल असार मसान्तसम्म राम्दी गैडाकोटको १ सय ३२ किलोमिटर सडक कालोपत्रे सक्ने गरी भारत सरकारको पाँच अर्ब ऋण सहयोगमा काम भइरहेको छ । सो खण्डको रामपुर क्षेत्रमा १२ किलोमिटर पिच पूरा भएको आयोजना प्रमुख देवकोटाले बताए ।
करिडोरको मिर्मिदेखि पर्वतको अमरादीसम्मको ५२ किलोमिटर सडकमध्ये रानीपानीसम्मको १७ किलोमिटर सडक र गुल्मीको रिडीदेखि २१ किलोमिटर हर्मिचौरसम्मको कालोपत्रेको काम सुरु भएको इञ्जिनियर राजीव मानन्धरले बताए । नवलपरासीको गैडाकोटदेखि पाल्पाको राम्दीसम्म १ सय ३२ किलोमिटर एउटै ट्रयाक रहेको छ । राम्दीबाट करिडोर दुई भागमा विभाजित भएको छ । एउटा खण्ड राम्दी रिडी हर्मिचौर बलेवा हुँदै मालढुङ्गासम्म ११० किलोमिटर र राम्दी जिरो, मिर्मि, सेतीवेनी, रानीपानी, फलेवास हुँदै अर्मादी कुश्मासम्म ७८ किलोमिटर छ । कुश्मादेखि पोखरा बाग्लुङ्ग सडक हुँदै मालढुङ्गा जोडिने गरी काम भइरहेको मानन्धरले बताए । गुल्मी र बाग्लुङ्ग क्षेत्रको ६१ किलोमिटर नेपाली सेना ट्रयाक खोली करिडोर कार्यालयलाई जिम्मा लगाइसकेको छ । ०६७ सालमा सरकारले सडक विभाग अन्तरगत करिडोरको छुट्टै कार्यालय स्थापना गरी चार वर्षसम्म बाग्लुङ र ०७१ सालदेखि पाल्पामा कार्यालय राखी काम गर्दै आएको छ ।
०५८ सालमा पाल्पामा पश्चिमाञ्चल क्षेत्रका जनप्रतिनिधि भेला भएर कालीगण्डकीको किनारै किनार बाटो निर्माण गर्ने निर्णय गरेपछि करिडोरले मूर्तरूप लिएको तत्कालिन जिविस पाल्पाका सभापति झपेन्द्र जि.सी.ले बताए । कालीगण्डकी करिडोर देशका मुख्य ३ वटा राजमार्ग महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग र पुष्पलाल मध्य पहाडी लोकमार्गसंग जोडिने छ । गैडाकोटदेखि कोरलासम्मको ४ सय ३२ किलोमिटरमा ट्रयाक खोल्नेदेखि दुई लेनको सडक पिच निर्माण पूरा गर्नको लागि करीव २५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको आयोजना प्रमुख देवकोटाले बताए ।
ठूलो तीर्थमार्ग
तिव्बती रेशम मार्गको रूपमा परिचित कालीगण्डकी लोकमार्ग १२ महिना सञ्चालनमा आएपछि भारत नेपाल चीनबीचको व्यापारिक मार्गको मान्यता पाउने छ । कालीगण्डकी करिडोरले लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका मुस्ताङ्ग, म्याग्दी, पर्वत बाग्लुङ्ग, पर्वत गुल्मी, पाल्पा, स्याङ्जा, नवलपरासी समेट्छ । करिडोरबाट १५ लाख जनताले प्रत्यक्ष रूपमा फाइदा पाउने छन् ।
कालीगण्डकी करिडोर नेपालको मध्य भागमा रहेकोले पुष्पलाल लोकमार्ग सिद्धार्थ र महेन्द्र राजमार्गसंग जोडिएकोले पूर्व तथा पश्चिमका जनतालाई समेत व्यापारिक कारोबार तथा यातायातको लागि सहज हुने छ ।
हिन्दू धर्ममा कालीगण्डकी ठूलो महत्व रहेकोले किनारै किनार निर्माण भएको करिडोरले लाखौ धार्मिक पर्यटक भित्र्याउने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कालीगण्डकी करिडोरमा त्रिवेणीधामदेखि देवघाट, राम्दी, रानीमहल ऋषिकेश, सेतीवेनी शिला सालिग्राम, पर्वको शहर्षधारा, बाग्लुङ कालिका, म्याग्दीको बदे्रश्वर शिवालय, मुक्तिनाथ क्षेत्र, शिवको शिर दामोदर कुण्डलगायत सयौ हिन्दु तिर्थ स्थलहरू रहेको छन् ।
एउटै सडकबाट सयौ तिर्थस्थलको दर्शन तथा अवलोकन गर्न सकिने भएकोले दक्षिण छिमेकी भारतबाट कालीगण्डकी करिडोरमार्फत वर्षेनी लाखौ हिन्दू पर्यटकहरू यस क्षेत्रमा भित्रिने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही बताउँछन् ।
करोडौ बौद्धमागी भएको चीनका जनतालाई पनि कालीगण्डकी करिडोरमार्फत बुद्ध जन्मस्थल लुम्बिनी आउन सिधा राजमार्ग हुनेछ । तानसेनका बौद्ध अध्येता छत्रराज शाक्यले यो बौद्ध मार्गीको महत्वपूर्ण रूट हुने बताए ।
यो सडक आर्थिक उपार्जनका लागि महत्वपूर्ण हुनेछ । करिडोर सञ्चालनसंगै म्याग्दी मुस्ताङ्मा उत्पादित स्याउको खपत र उत्पादनमा दोब्बर हुनेछ । चीन र भारतसंग करिडोर क्षेत्रमा सयौ फाँट र १० भन्दा बढी उपत्यका भएकाले कृषि उत्पादनमा आधुनिकिकरण, वृद्धि, जुडीबुटीको व्यापारमा टेवा पुग्ने विश्वास छ । करिडोरमा हिमाली, पहाडी र तराईको भू–भाग अनि ताल, हिमनदी, झरना भएकाले विदेशी पर्यटकलाई आर्कषित गर्ने संस्कृतीविद तथा पाल्पाका पूर्व जिविस जि.सी.ले बताउँछन् । ‘करिडोरको परिकल्पना नभएको भए बाग्लुङ, पर्वत, गुल्मी, पाल्पा, नवलपरासी क्षेत्रका कयौ बस्तीहरूमा तत्काल पक्की सडकको संभावना थिएन,’ उनले भने–‘करिडोर सञ्चालनसंगै वर्षेनी हजारौ व्यक्तिहरूको समयमै अस्पताल पुगेर जीवन बचेको छ ।’
छोटियो दुरी, खुले व्यवसाय
करिडोर सञ्चालनसंगै बन्द अवस्थामा रहेको बाग्लुङ्गको वलेया एयरपोर्ट सञ्चालनमा आएको छ । यातायात सहज भएकै कारण पर्वतमा हालै साहसिक खेल बञ्जिजम्प सञ्चालनमा भएको छ ।
करिडोरकै कारण मुस्ताङ्गको कोरला नाका सञ्चालनको अन्तिम तयारी भइरहेको छ । मध्य पहाडी राजमार्गसंग कालीगण्डकी करिडोर जोडिने भएकोले मध्य पहाडी क्षेत्रको पूर्वदेखि पश्चिमसम्म ईन्धनलगायतका सरसमानहरू सहज रूपमा ओसार पसार गर्न सकिने छ ।
यो सडकले गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, स्याङ्जाका ग्रामीण क्षेत्रसमेत अन्तर्राष्ट्रिय नाकासंग नजिकिएका छन् । रूपन्देहीको बेलहिया नाका हुँदै जाने सिद्धार्थ राजमार्गमा कोरिडोर जोडिंदा यात्रा छोटिएको हो ।
कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि सुनौलीदेखि कोरलासम्म एक दिनमै पुगिने छ । अर्थमन्त्री एवं रूपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले यो त्रिदेशीय महत्वको सडक भएकाले सरकारको प्राथमिकतामा रहेको बताउँछन् ।
करिडोर कार्यालयले दुई वर्ष भित्र नवलपरासीको गैडाकोटदेखि बाग्लुङ्गको मालढुङ्गासम्मको २ सय ४५ किलोमिटरमा पिच र पुल निर्माण पूरा गरिसक्ने करिडोरका पाल्पा योजना प्रमुख देवकोटाले बताए ।
अझै बाँकी छ काम
पाल्पाको दरपुक र दैलातुङ क्षेत्रमा ५ सय मिटरमा अझै सडकको ट्रयाक खुलेको छैन । सो क्षेत्रमा कडा चट्टान भएकोले गृहमन्त्रालयबाट विष्फोटक पदार्थ ल्याई चट्टान फोर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।
दुई लेनको पक्की सडक निर्माणको सडकमा परम्परागत गाउँबस्ती चुनौती बनेका छन् । राम्दीदेखि गैडाकोट क्षेत्रमा २ सय २० वटा घर फाल्नु पर्ने भएकोले प्रक्रिया बढाएको कार्यालयले जनाएको छ । सडकमा ४० भन्दा बढी पुलहरू आवश्यक पर्नेमा १८ वटा निर्माणको चरणमा रहेका छन् । कालीगण्डकी क्षेत्रमा कडा चट्टानी भू–भाग भएको र करिडोरलाई विष्फोटक पदार्थ प्रयोग गर्ने अनुमति नभएको कारण चट्टान फुटाएर बाटो निर्माण गर्न निकै कठिन भएको करिडोरका ईञ्जिनियरहरूले बताएका छन् । सडकको ट्रयाक सञ्चालनसंगै सडकको केन्द्र भागदेखि दायाँ बायाँ १५ मिटर छोडर घर निर्माण गर्नुपर्ने भए पनि सडक क्षेत्र अतिक्रमण गरी घर निर्माण गर्नेको संख्या दिनहुँ बढ्दै गएको छ । सडक बनेसंगै उर्वरभूमि घडेरीको रूपमा प्लटिङ हुँदै गएको छ । कतिपय ठेकदारले काम नगर्दा चुनौति थपिएको आयोजनाले जनाएको छ ।