केही दिन यता तराईमा चिसो बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण प्रभावित भएका छन् । चिसोबाट जोगिन ठाउँ–ठाउँमा आगो ताप्न थालिएको छ । अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त हुन्छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखिएन भने विभिन्न रोग लाग्न सक्छ । चिसोले सबैभन्दा बढी वृद्धवृद्धा र बालबच्चालाई सताउने गर्दछ ।
चिसोकै कारण वर्षेनी नागरिकले अकालमा ज्यान गुमाउने गर्दछन् । प्रत्येक वर्ष ठण्डी मौसम आउँदछ भन्ने थाहा हुँदाहुँदै पनि चिसोबाट बँच्न न्याना कपडाको बन्दोबस्त नगर्दा धेरै व्यक्तिलाई अनेक रोगले आक्रमण गर्ने गर्दछ । कतिपय व्यक्ति आर्थिक अभावका कारण न्यानो कपडा किन्न नसकेर चिसोबाट प्रभावित हुने गरेका छन् भने कसैले लापरबाही गर्दा समस्या आउने गरेको छ । दैनिक व्यवहार र आनीबानीसम्बन्धी सामान्य कुरामा ध्यान दिन सक्ने हो भने चिसोबाट बँच्न सकिन्छ ।
जाडो महिनामै भाइरल प्रकोप सुरु हुने गरेका छन् । अहिले विश्वको ध्यान कोरोना भाइरसमा केन्द्रित छ । यसका कारण हजारांै मानिस अस्पताल भर्ना भएर बस्नु परेको छ । कैयौंको ज्यान गइसकेको छ । यस्ता भाइरस रूघाखोकीबाटै सर्ने हुन् । त्यसैले मौसम चिसो हुँदा मास्कको प्रयोग गर्ने, भीडभाडमा जान कम गर्ने र हात राम्रोसँग धोएर मात्र खाना खाने गरेमा रूघाखोकीबाट बँच्न सकिन्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताएका छन् । चिसो मौसममा रूघाखोकी, निमोनिया जस्ता समस्या देखा पर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नु पर्दछ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्न सघाउ पु¥याउँदछ । यस्तै चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रूघाखोकी नियन्त्रणमा सघाउँछ ।
चिसो मौसममा होसियारीपूर्वक जीवनशैली व्यवस्थापन गर्न सके धेरै रोगबाट बँच्न सकिन्छ । मानिसको उमेर बढेसँगै शरीरकोे रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले वृद्धवृद्धा चिसोबाट हरसम्भव बच्ने प्रयास गर्नुपर्दछ । बाक्लो लुगा लगाउनुको साथै न्यानो हुने ठाउँमा बस्नु पर्दछ । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्ने भएकाले हरसम्भव चिसोबाट बँच्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।
जेहोेस् चिसोको मौसममा हरेक नागरिक चिसोबाट बच्नु पर्दछ । तर कतिपय सर्वसाधारण आर्थिक अभावले चिसो भोगिरहन बाध्य छन् । त्यस्ता व्यक्तिहरूको पहिचान गरेर न्यानो कपडा वितरणमा स्थानीय सरकारहरू लाग्नु पर्दछ । किनकि सरकारको पहिलो जिम्मेवारी भनेको नागरिकको जीवन रक्षा गर्नु हो । ठाउ“–ठाउँमा दाउरा, मुढाको व्यवस्था गरेर पनि चिसोबाट जोगाउन सकिन्छ । चिसोका कारण बिरामी हुन नपरोस् भन्ने कुरामा सबै सचेत हुन जरूरी छ ।