हिंसा, शोषण, दुव्र्यहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । यद्यपि नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक सामाजिक पृष्ठभूमि, उमेर समूह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित छन् । अन्य लाखौं बालबालिका जोखिममा छन् । यस्तो जोखिम र पीडित समूहमा रहेका बालबालिकाको सुरक्षा, उद्धार र सहयोगमा विभिन्न प्रयास भए पनि उपेक्षित परिणाम अझै प्राप्त हुन सकेको छैन ।
बाल संरक्षणको क्षेत्रमा नेपालको प्रगति मिश्रित छ । बालिकाहरूको विवाह हुने क्रम घट्दो छ । बालबालिकामाथिको हिंसासम्बन्धी प्रहरीमा दर्ता भएका मुद्दाहरूमा उल्लेखनीय वृद्धि भएको छ । यसको अर्थ हिंसाका विरुद्धमा बालबालिकाले न्यायको ढोका घच्घच्याउन थालेका छ । सकारात्मक कुरा बालविवाहमा कमी आउन थालेको छ । र, पनि अहिले हरेक पाँच बालबालिकाहरूमध्ये दुई जनाको १८ वर्ष पुग्नु अगावै विवाह हुने गरेको युनिसेफको तथ्यांक छ । सामाजिक रितिरिवाज र बलियो पितृसत्तात्मक समाजका कारण बालविवाहको गिरावट दरलाई बढाउन र दिगो राख्न ठूलो चुनौती छ ।
युनिसेफकै तथ्यांकअनुसार १ देखि १४ वर्षसम्मका बालबालिकाले आफ्नो घरमै हिंसाको सामना गर्नुपर्दछ । हिंसात्मक अनुशासन विधिले ८२ प्रतिशत बालबालिकामाथि प्रभाव परेको छ । यसको अर्थ घरदेखि नै बालबालिकालाई हिंसाको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था छ । बालबालिकाका लागि घर भनेका हिंसारहित हुनुपर्ने हो । तर अभिभावकका चाहना पूरा गर्ने नाममा हिंसा छ । अनुशासनका सकारात्मक विधिबारे अभिभावकलाई ज्ञान छैन ।
बाल श्रम घटेको छैन । कतिपय पारिवारिक कारणले र कतिपयलाई जबर्जस्त श्रममा लगाइने गरिएको छ । आर्थिक विपन्नताका कारण अभिभावकले नै आम्दानी हुने ठाउँहरूमा श्रममा लगाउने गर्दछन् । उनीहरूको शिक्षा दीक्षामा बेवास्ता छ । अर्थात् उनीहरूको भविष्यको न काममा लगाउनेले वास्ता गर्दछ, न अभिभावकले । यसरी हेर्दा ठूलो जोखिममा बालश्रमिक छन् ।
बाल श्रममा कमी ल्याउन सरकारी तथा गैरसरकारी विभिन्न निकायले लामो समयदेखि प्रयास गर्दै आए पनि परिणाम सोचे जस्तो पाउन सकिएको छैन । न्यायमा बालबालिकाको पहुँच सीमित छ । कानूनी रूपमा समस्यामा परेका, पीडितहरू बालबालिकाहरूसँग सरोकार राख्ने सबै मुद्दाहरू नाबालिक बेञ्चले हेर्ने गरेको पाइदैन । यस्तो अवस्थामा हरेक नागरिकले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण र बेवास्ताबाट जोगाउन पहल लिनुपर्दछ ।
यसमा पनि बालबालिकाका परिवार तथा हेरचाहकर्ताहरू, शिक्षक, समुदायहरू तथा सरकारी निकायहरूले बालबालिकामाथि हुने हिंसा र शोषणको रोकथाम र सम्बोधन गर्ने ज्ञान, सीप र क्षमतामा वृद्धि गर्नै पर्दछ । बालबालिकामाथि हिंसा हुनुका पछाडि कतिपय कुप्रथा र सामाजिक मान्यताको पहिचान गरेर परिवर्तन ल्याउन जरूरी छ । बालबालिका भविष्यका कर्णधार हुन् भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ ।