५० वर्षको दीर्घकालीन सोंचसहितका बुटवलमा खानेपानी गुरुयोजना निर्माण प्रक्रिया थालिएको छ ।
लुम्बिनी संवाददाता
बुटवल
खानेपानीको समस्या झेलिरहेको बुटवलमा ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर गुरुयोजना निर्माण गरिएको छ । झुम्सा खानेपानीसहितका महत्वपूर्ण आयोजनाहरू निर्माणका चरणमा रहेका छन् । झुम्सा खानेपानीले मात्रै कम्तिमा २० वर्षको मागलाई धान्नेछ ।
बुटवलमा अहिले खानेपानीको अभाव छ । गुणस्तरीय खानेपानीमा बुटवल झन कमजोर छ । जनसंख्याको तीव्र वृद्धि तर योजनाहरू नथपिंदा हैरानी बेहोर्नुपर्ने बाध्यता नागरिकमा छ । खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रूपमा समाधान गर्ने प्रयास सुरु भएको छ ।
बुटवल उप–महानगरपालिकाले यहाँको खानेपानी संस्थानसंगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको छ । पूर्वाधार विकास र अन्तबाट बसाइँसराइँ गरेर आउने प्रमुख थलोका रूपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोंचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उप–महानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत कार्यान्वयन गर्नेगरी तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको प्रमुख सुवेदीको भनाइ छ । उनले संघीय सरकारका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको संकल्प अनुरूप नै तिनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृतिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ । यसलाई सुधार गर्न बुटवल उप–महानगरले मुलुकमै पहिलो पटक ‘एक वन बहुपोखरी’ कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरूमा बुटवलले पोखरी निर्माण ग¥यो । जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृतिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरूको भनाइ छ । बुटवललगायतका क्षेत्रको वातावरण, पानीका प्राकृतिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इञ्जिनियर डा. खेटराज दाहालले बुटवलबाट सुरु भएको ‘एक वन बहुपोखरी’ कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमूना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।
बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरूपका काम अगाडि बढाइएको उप–महानगरको भनाइ छ । अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृतिक हिसाबले माथिल्लो तटको प्राकृतिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धिकरण) गरेर वितरण गरिने छ ।
बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उप–महानगरको योजना छ ।
तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनसंख्याको चापको अनुमान गर्दै विज्ञहरूले काम गरिरहेको उप–महानगरका प्रमुख सुवेदीले बताए ।
वर्र्षाैंदेखिको अँधुरो सपना साकार पार्ने संकल्प
२०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा प¥यो । भने, हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो ।
यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए । बुटवलमा ल्याउने खानेपानीका लागि हालै संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास समेत गरिसकेका छन् ।
झुम्सामा व्यवस्थित ड्याम÷इन्ट्रयाक्ट
झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्रयाक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो ।
नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्नेगरी योजना बनिरहेको छ । उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।
यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ । बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि ०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।
खानेपानीको माग दिनहुँ बढ्दै
अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ ।