टेकराज पन्थी
“खुर्सानी“ पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो । खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ । खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर भनेर चिनिन्छ । खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन् भने पूर्वतिरका राई,लिम्बू तथा मंगोलियन समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ । अलि साना खालका खुर्सानीमा झनि, चुच्चे, घोक्रे आदि पनि छन् । सानो जिरे खुर्सानी पिरो भन्ने उखानै छ । पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ । खुर्सानीलाई खानाको परिकार सजाउन र स्वादिष्ट बनाउन अधिक प्रयोग गरिएको पाईन्छ । सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ ।
खुर्सानीको इतिहास अध्ययन गर्दा खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेडेखुर्सानी, अकबरे खुर्सानी, जिरे, लाम्चे आदि थुप्रै प्रकारका पाईन्छन् । नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुुवासभा, भोजपुर र पश्चिमका गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ । तेह्रथुमबाट २०७५ सालमा ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रयोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकेजी ३०० देखि ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरू पनि यो नगदे बालीमा आकर्षित भएका छन् ।
त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन् भने आजभोलि नेपालको पश्चिमी क्षेत्र गुल्मी, पाल्पा, अर्घाखाँचीमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ । विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानी मध्ये आकार रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरूमा पाईन्छ ।
तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । नेपालको पश्चिमी क्षेत्र गुल्मी, पाल्पा, अर्घाखाँचीमा पनि अकबरे खुर्सानीको खेती गरी ब्यवसायिक बनाएको पाईन्छ । यसैगरी सुदुर पश्चिम क्षेत्रमा डडेल्धुरा जिल्लाको रूपाल क्षेत्रमा अकबरे खुर्सानीको खेती गरेको पाइन्छ । हाल तरकारी जर्मप्लाजम सम्बर्धन तथा तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरामा यसको जातीय अध्ययन सम्बर्धन गरी कृषकहरूमा प्रचार प्रसार गर्ने कार्य भईरहेको छ । यसरी पूर्वदेखि सुदुरपश्चिम क्षेत्रसम्म अकबरे खुर्सानी खेती फष्टाउँदै गएको छ ।
अकबरे खुर्सानी नेपालको धेरै भू–भागमा उत्पादन हुन्छ । कतिपय किसानले व्यवसायिक ढंगले अकबरे खुर्सानीको उत्पादन गरेका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, इलाम, पाँचथर जस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएको छ । अकबरे हाम्रो रैथाने उत्पादन हुन् । यसको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री से. र रातीको तापक्रम १५–२० डि.से. उपयुक्त हुन्छ । तथापी त्यसभन्दा घटी वा बढीमा पनि उतपादन गर्न सकिन्छ । एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति बिरूवा उम्रे पनि १२०० बिरूवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ । चिम्टाइलो माटोमा अकबरे खुर्सानी राम्ररी सप्रन्छ । भिरालो एवं पाखो बारी पनि अकबरेका लागि उपयुक्त मानिन्छ । आजभोलि कतिपयले घरको छतमा, बार्दलीमा, बगैंचामा समेत अकबरे खुर्सानी रोप्ने गर्छन् । अकबरे खुर्सानीलाई सकेसम्म अग्र्यानिक विधीबाट उत्पादन गर्नु राम्रो हुन्छ । गाउँघरमा गाईबस्तु, बाख्रा, परेवा तथा कुखुराको मल प्रयोग गरेर अकबरे खुर्सानी रोप्ने गर्छन् । यसमा किरा लागेमा गोमूत्र लगाइन्छ । यसरी अग्र्यानिक ढंगले उत्पादन गरिएको अकबरे खुर्सानीको असली स्वाद पाइन्छ । अकबरे खुर्सानी पिरो हुन्छ । पिरोको पनि आफ्नै स्वाद हुन्छ । यसमा एक किसिमको बास्ना पनि महसुस गर्न सकिन्छ । अबकरे खुर्सानीले कुनै हानी गर्दैन । अकबरे, डल्ल्, भिडे, जिरे, हरियो खुर्सानी धेरै थरी हुन्छन् । खुर्सानीका विभिन्न परिकार बनाएर आर्थिक लाभ लिन सकिन्छ भने खुर्सानीका धेरै स्वस्थ्यवर्धक हुने हुदा जीवनोपयोगी हुन्छ । यसरी खुर्सानीका फाईदै फाईदा छन् ।
अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बँच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाई कम गर्न सहयोग गर्छ । अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातिका मानिसहरूले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरूले पनि खाने गरेका छन् । अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरूले समेत औषधीको रूपमा प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ ।
अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रूची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरूबाट व्यक्त गरेको पाईन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई सुल तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट विर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरूले समेत अकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरू भएको छ । पिरो खानेकुराले तौल घटाउनेदेखि शरीरलाई न्यानो बनाउन र शरीर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ ।
नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ । आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो । अरू खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ । वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरूले अकबरे मगाएका हुन्छन् ।
प्रायः भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो । तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुँदैन । खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन्। सामान्यतयाः नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ। खुर्सानीका जात पनि दर्जनौं हुन्छन्। नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीं यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो),पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ । त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसियालगायतका देशहरूमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।
अकबरे खुर्सानीका फाइदाः खाना पचाउने काममा विशेष सहयोग पु¥याउछ, माइग्रेनको समस्या समाधानमा सहयोग गर्छ, नियमित सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ,
कोल्ड फ्लुबाट बचाउन मद्दत पु¥याउँछ, हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि नियमित खान सकिन्छ, कार्डियोभास्कुलर र मुटुको समस्या हुनबाट जोगाउनमा पनि निकै फाइदाजनक मानिन्छ,
डाइबिटिज (चीनी रोग) हुनबाट जोगाउन विशेष भूमिका खेल्छ, शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पु¥याउँछ, रगतमा चिनीको मात्रा घटाउन मद्दत पु¥याउँछ, ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ, पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पु¥याउँछ, अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ, थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ, यसमा क्याप्सिसिन पाइन्छ जसका कारण पेटसम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पु¥याउँछ,एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।
यसैगरी हरियो खुर्सानीका फाइदाः हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । शरीरको ब्लड सुगर लेबल सन्तुलित गराउँछ । पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ । यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचनसम्बन्धी बिमारीहरूलाई राहत मिल्छ । हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छालासम्बन्धी रोग लाग्नबाट बचाउँछ । क्यान्सरबाट बच्न हरियो खुर्सानीले सहयोग गर्छ । हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरूषहरूलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ । प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक हुने र भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ । हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ ।
हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ । हरियो खुर्सानी एन्टी–अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारू राख्न सघाउँछ । भिटामिन ए समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ । हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ । विज्ञहरूका अनुसार हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ भनेका छन् । हरियो खुर्सानीमा एन्टि–ब्याक्टोरियल गुण हुन्छ । जसले शरीरलाई ब्याक्टोरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ । दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउछ । खुर्सानीको सेवन गर्ने ब्यक्तिमा नाकको रक्तसञ्चार, रूघा वा पिनासको समस्या कम हुन्छ भन्ने अनुसन्धानबाट पाइएको छ । हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउँछ र साथै दुखाई पनि कम गर्छ । हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फुर्त राख्दछ । इन्जाइम बढाउन, मानिसको स्वभाव परिवर्तनमा नियन्त्रण पाउन समेत खुर्सानी उपयोगी हुन्छ भन्ने विज्ञहरूले उल्लेख गरेको पाइन्छ । ब्लड सुगर नियन्त्रण गरी शरीरमा सुगरको मात्रा सन्तुलन राख्न हरियो खुर्सानी लाभदायक छ । शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परीपूर्ति गर्छ । आँखा कमजोर भएकाहरूले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ भन्ने भनाई छ । छालाको संक्रमण र बाहिरी रोगको प्रभाव रोक्न समेत हरियो खुर्सानीको सेवन उपयोगी मानिन्छ । चोट वा घाउ लाग्दा हुने रक्तश्राव रोक्न समेत हरियो खुर्सानीको सेवन लाभदायी हुन्छ । हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ । खुर्सानीमा यसमा फोलिक एसिड, पोटेसियम र फलाम पनि प्रशस्त मात्रामा हुन्छ ।
चिकित्सकहरूका भनाइअनुसार रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कोलेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ । यस बाहेको यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् । रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’ बाहेक रातो र पहेंलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । विभिन्न विशेषज्ञहरूका अनुसन्धान अनुसार भेडे खुर्सानी खानेहरूमा बुढेसकालमा आँखाको क्षति हुने घटना कम पाइएको विभिन्न सञ्चार माध्यममा उल्लेख गरेको पाइन्छ । यसैगरी डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । मोटोपन घटाउँछ । रगतमा चिनीको मात्रा घटाउँछ । पिसावको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नीलगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ पनि मेटाउँछ । खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरीरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ । खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधिमा केही मात्रामा खुर्सानी मिसाइन्छ । खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ ।
सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम वृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ । सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरविरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ ।
खुर्सानीको ब्यवसायिक खेती गरी मनग्गै आम्दानी गर्न सकिन्छ । खुर्सानीको धुलो, मसला, अचार, सुकुटी, चटनी, माडा आदि विभिन्न परिकार बनाई आर्थिकलाभ लिन सकिन्छ । खेतबारी, भीरपाखा, घरका बरण्डामा समेत खुर्सानीको खेती गरी नगदेबालीको रूपमा व्यवसायीकरण गर्न सकिन्छ । खुर्सानीका थुप्रै फाईदा हुँदा हँुदै पनि यसका बेफाइदाहरू पनि रहेका छनः जसमा आवश्यकताभन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रूपमा तनाब बढाउने र शौच गर्न गाह्रो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर (उच्च रक्तचाँप), कलेजोको रोग, डाबिटिज (चिनी रोग), किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा सावधानी अपनाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन ।
त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न । साथै चिकित्सकहरू पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् । खुर्सानीबाट आर्थिक र शारीरिक जस्ता धेरै फाइदा भएता पनि यसको मात्रा, शारीरिक अवस्था र समय अनुकुल प्रयोग हुन सकेन भने यसले ठूलो असर पुराउन सक्छ । सचेत भएर सही सदुपयोग हुन सकेमा यसबाट अधिकतम उपयोग गरी फाईदा लिन सकिन्छ । आजैदेखि खुर्सानी खेतीलाई आफ्नो खेतबारी,घरको बरण्डामा, छतमा, बार्दलीमा, बगैंचामा सुरु गरी यसबाट मनग्गै आम्दानी गरी आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट समृद्ध समाज बनाउन सहयोग हुनेमा विश्वास गर्न सकिन्छ ।
(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)