आज राष्ट्रिय एकता दिवस, नेपाललाई एकीकरण गरेर राष्ट्र निर्माताको रूपमा मानिएका पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । गोरखाको सानो राज्य आफ्नो जिम्मामा आउने बित्तिकै २१ वर्षको उमेरमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेका थिए । राज्यलाई एकीकरण गर्दै विशाल नेपाल निर्माणको सुरुवात गरेका कारण नेपालको इतिहासमा पृथ्वीनारायण शाहको विशेष स्थान छ, जसलाई एकता दिवसले वर्षेनी स्मरण गराउँदछ ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा आउनु पूर्व पृथ्वी जयन्तीका रूपमा धेरै लामो समय राष्ट्रिय एकता दिवस ओझेलमा परेको जस्तो देखा परेको छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्झदा राजावादी नै भइने हो कि भन्ने सोंच कताकता हावी भएको देखिन्छ । तर पृथ्वीनारायण शाह राजाभन्दा बढी राष्ट्र निर्माता हुन भन्ने कुरामा कुनै आशंका छैन । उनको सम्मान गर्ने कुरालाई राजतन्त्रसँग जोडेर हेर्नु गल्ती हुन्छ ।
यतिबेला राष्ट्रिय एकता दिवसको महत्व झन खड्किदै गएको छ । कुनै न कुनै प्रकारले नेपालमा वैदेशिक हस्तक्षेप कायम छ । देशभित्र राजनीतिक दलहरूबीच एकता छैन । दलभित्र पनि अनेक गुट र खिचातानी छ । मेलमिलाप र सद्भाव छैन । कम्तीमा राष्ट्रिय एकता दिवसले दलहरूलाई एकताबद्ध हुन बल प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ । किनकि एकतामा जस्तोे विभाजनमा बल हुँदैन । टुट, फुट र विभाजनले राष्ट्रलाई कमजोर बनाउँछ । शासन व्यवस्था अस्थीर हुन जान्छ । जनतालाई कमजोर बनाउँछ ।
एउटा सत्य कुरा के हो भने नेपाल कहिल्यै भारत जस्तो अंग्रेजको गुलाम भएन । भारतमा पहिले मुसलमानले राज्य गरे । त्यसपछि अंग्रेजले राज्य गरे । अंग्रेजविरुद्ध विद्रोह गरेर महात्मा गान्धीहरूले अंग्रेजलाई लेखेट । तब मात्र भारत स्वतन्त्र भयो । तर नेपाल कसैको उपनिवेश हुुनु परेन । नेपाल उपनिवेश हुन नदिएको पृथ्वीनारायण शाहले हो । यो अभियानमा अन्य वीर वीरगंनाहरूको पनि महत्वपूर्ण योगदान छ । पृथ्वीनारायण शाहकै सन्तान बहादुर शाहले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिएर पश्चिममा सतजल र पूर्वमा टिष्टासम्म पु¥याएका थिए । तर केही भूमि सुगौली सन्धिका कारण नेपालले गुमाउनु प¥यो ।
राष्ट्रियता भनेको भावना मिल्नु हो, मन मिल्नु हो । राज्य भनेको भूमि हो । संसारमा नेपाली जहाँ जहाँ छन् नेपाली राष्ट्रियता छ । राष्ट्रिय एकताले नागरिकलाई एकताबद्ध बनाउँछ । त्यस्तो एकताबाट राष्ट्रले शक्ति प्राप्त गर्दछ । जुनसुकै लक्ष्य प्राप्तिका लागि एकता अनिवार्य शर्त बन्न जान्छ । देशका नागरिकमा एकताको भावना भएन भने राष्ट्र कमजोर बन्न जान्छ । त्यसैले अहिलेको अवस्थामा राष्ट्रिय एकताको महत्व झन बढेर गएको छ । विखण्डित राज्यहरूलाई एकीकरण गरी स्वतन्त्र राज्यका रूपमा यसको अस्तित्व जोगाई राख्न पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाकै कारण आज हामी नेपाली भएर चिनिन सकेका हौ भन्ने कुरामा दुईमत छैन ।