लुम्बिनी संवाददाता
परासी
किसानको करोडौं रकम बक्यौता राखेका चिनी उद्योगीले रकम भुक्तानी गरेका छन् । पश्चिम नवलपरासीको एउटा उद्योगले करिव चार रकोड रुपैयाँ किसानको खातामा पठाएको छ । प्रशासनले उद्योगीलाई पक्राउ गरेपछि रकम भुक्तानी भएको हो ।
पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नुपर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो । हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् ।
उद्योगले किसानलाई दुई वर्षअघि देखिको सात करोड ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । पहिलो चरणमा उद्योगले खातामा तीन करोड ८० लाख रुपैयाँ जम्मा गरेर भुक्तानी सुरु गरेको थियो । खातामा जम्मा भएको रकममध्ये एक करोड १० लाख रुपैयाँ किसानको खातामा पठाइ सकिएको छ । भुक्तानीकै क्रममा सरकारले बैंक खाता बन्द गरेपछि बाँकी रकम किसानलाई पठाउन सकिएको थिएन ।
शुक्रबार बन्द भएको खाता सुचारू गरिएसँगै किसानलाई रकम पठाउन थालिएको छ । भुक्तानी दिनुपर्ने बाँकी चार करोड रुपैयाँ नेपाल राष्ट्र बैंक आदर्श नगर वीरगञ्ज शाखामा रहेको रकम मध्येबाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेण्ट बुझाएका छन् । ‘बैंक स्टेटमेण्टअनुसार अपुग चार करोड रुपैयाँ अग्रवालको खाताबाट होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरेका छौं । उद्योगको स्वामित्व मनोजका नाउमा आउने बित्तिकै बैंकमा होल्ड गरिएको रकम उद्योगको खातामा पठाएर वितरण सुरु गरिने छ ।’ –प्रजिअ पाठकले भने ।
तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नि सुशीला गोयलको नाममा गएको छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्तरण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।
यता किसानको पाँ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिर्न वास्ता गरेको छैन । पक्राउ पूर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउनेतर्फ पहल नगरिएको किसानहरूको गुनासो छ । अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।