लुम्बिनी संवाददाता
नवलपरासी
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा चार लाख बजेट खर्चेर बनाइएको सिँचाई योजना चार वर्षदेखि अलपत्र परेको छ । आजभन्दा चार वर्ष अघि पश्चिमाञ्चल सिँचाई डिभिजनले सिँचाईका लागि खर्चेको चार लाखको सिँचाई योजना (बोरिङ) अहिले अलपत्र बनेको हो ।
अहिले उक्त बोरिङका छेउछाउमा झार उमे्रका छन् भने त्यहाँ रहेका पाइपहरूमा खिया लागेको छ । देवचुली नगरपालिकाकाले पोल र ट्रान्समिटर मर्मतका लागि वडाबाट दिएको एक लाखले न त किजुली नै आयो न त ट्रान्समिटर मर्मत नै भयो । चार वर्षअघि समिति बनाइ बोरिङबाट पानी निकालेको भए पनि चार वर्षदेखि सञ्चालनविहीन भएर बसेको छ । बोरिङ सञ्चालन र निर्माणका लागि स्थानीय यमनाथ बस्ताकोटीको अध्यक्षतामा समिति गठन समेत गरिएको थियो । तर उक्त समितिले सिँचाईका लागि चासो र चिन्ता नदिँदा निर्माण भएको बोरिङबाट समेत सिँचाई गर्न नपाएको उक्त क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन् ।
“आज होइन, यो निर्माण भएको करिब चार वर्ष भयो । तर बोरिङबाट सिँचाई गर्नै पाएका छैनौँ ।”– स्थानीय टिकाराम पौडेलले बताए । उनकाअनुसार बोरिङ निर्माणपछि सबैलाई सिँचाईको व्यवस्था हुन्छ भने पनि आफुहरू कृषि गर्न पानी मिनेटको हिसाबले किन्नु परेको गुनासो गरे ।
“सिँचाईका लागि चार लाख बजेट खर्चेको छ, नगरपालिकाको एक लाख बजेट खर्च भएको छ तर हामीले यसको उपयोग गर्न पाएका छैनौँ ।”– स्थानीय पौडेलले भने । यता बोरिङ निर्माण समितिका अध्यक्ष यमनाथ बस्ताकोटीले भने स्थानीयले पानीका लागि चाँसो नदिँदा बोरिङ सञ्चालन नभएको बताए । “बुटवलबाट परेको योजना हो, निर्माण भयो तर यसको प्रयोग यहाँका स्थानीयहरूले गर्न चाहेनन् ।”– अध्यक्ष बस्ताकोटीले भने ।
यता वडाका वडा अध्यक्ष माधव केसीले बोरिङमा बिजुलीका लागि नगरपालिकाबाट एक लाख रुपैयाँ ल्याएको र त्यसले पोल व्यवस्थापन गरेको भए पनि हावाहुरीले पोल ढलाउँदा अहिले बिजुली पनि नभएको बताए । पहिले बोरिङ सञ्चालनका लागि थ्रिफेज र ट्रान्समिटर जडान गरेको तर हावा हुरीले पोल ढलाएको र ट्रान्समिटर बिग्रिएको बताए । बिग्रिएको ट्रान्समिटर मर्मतका लागि भरतपुर पठाएको र केही दिनमा जडान गरी सञ्चालन गरी दिने बताए । उनले निर्माण भएको चार वर्षसम्म पनि किसानले सिँचाई गर्न नपाएको स्वीकार गर्दै अब भने पुनः सञ्चालन गर्ने बताए । देवचुली नगरपालिकाको कार्यलयलाई भने यो विषयमा थाहै नभएको नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए ।
उनले भने–“यो विषयमा अहिलेसम्म लिखित निवेदन आएको छैन, यदि निवेदन आएको भए हामी अनुगमन र निरीक्षण गर्न जाने थियौँ ।”– नगर प्रमुख श्रेष्ठले बताए ।
अहिले सो बोरिङ सञ्चालन हुने हो भने ३० देखि ४० विगाहा क्षेत्रफलमा सिँचाई हुने र किसानहरूले यसबाट सजिलै सिँचाई गर्न सक्ने थिए । तर निर्माण भएको चार वर्ष पुग्नै लाग्दा पनि यसको सञ्चालनका लागि न त नगरपालिकाले नै ध्यान दिएको छ न त वडाले नै ।